×

वीरगञ्ज । वीरगञ्जस्थित नेशनल इन्फोटेक कलेजका क्रिकेट टोलीका कप्तान तथा पर्सा जिल्ला क्रिकेट टोलीका उदीयमान खेलाडी सन्तोष कार्की नेपाल प्रिमियर लिग (एनपीएल) का लागि जनकपुर बोल्ट्ससँग अनुबन्धित भएका छन् ।

सोमबार काठमाडौँमा सम्पन्न एनपीएल अक्सनमा कार्कीलाई जनकपुर बोल्ट्सले तीन लाख रुपैयाँमा अनुबन्ध गरेको हो ।

ओपनर ब्याटरका रूपमा परिचित कार्की नेशनल इन्फोटेक कलेजका प्रमुख खेलाडी हुन् । कलेजस्तरीय तथा जिल्ला स्तरीय प्रतियोगितामा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएका कार्कीको अनुबन्धनलाई पर्सा जिल्लाकै लागि गौरवको विषयका रूपमा हेरिएको छ ।

नेशनल इन्फोटेक कलेजका संस्थापक निर्देशक मनिष सिंहले कार्कीको सफलतामा खुसी व्यक्त गर्दै यो उपलब्धि कलेज मात्र नभई समग्र पर्सा जिल्लाका लागि गर्वको क्षण भएको बताए ।

“सन्तोषको मेहनत, अनुशासन र लगनशीलताले आज यो स्थान दिलाएको हो । आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्दै जिल्लाको नाम उच्च राख्ने विश्वास लिएको छु,” उनले भने ।  

पर्सा क्रिकेट सङ्घका अध्यक्ष समेत रहेका सिंहले कार्कीलाई सफल कार्यकालका लागि शुभकामना समेत दिएका छन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा सञ्चालन हुने नेपाल प्रिमियर लिग देशकै प्रतिष्ठित फ्रेन्चाइज टी–२० प्रतियोगिता हो । यस लिगमार्फत देशभरका प्रतिभावान् खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्राप्त हुँदै आएको छ ।

जनकपुर बोल्ट्ससँगको अनुबन्धनसँगै कार्कीले अब देशका अनुभवी तथा राष्ट्रिय स्तरका खेलाडीसँग सहकार्य गर्दै प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन् । उनको सहभागिताले जनकपुर बोल्ट्सलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

Back to top