×

तस्बिर : सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्सा ।

वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साले प्रतिबन्धित लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ भने अवैध रूपमा भन्सार छली ल्याइएका औषधिजन्य सामग्रीसमेत बरामद गरेको जनाएको छ ।

गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन राज निरौलाका अनुसार सोमबार राति गण तथा सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको म.प्र.०३–००१ ह १९८१ नम्बरको ई–रिक्सा जाँच गर्ने क्रममा प्रतिबन्धित लागूऔषध फेला पारेको हो ।

जाँचका क्रममा ई–रिक्सामा सवार अन्दाजी २५ वर्षीय एक भारतीय महिलाले दुवै तिघ्रामा टेपले बाँधी लुकाईछिपाई राखेको लागूऔषध बरामद गरिएको थियो ।

बरामद लागूऔषधमा डाइजापाम इन्जेक्सन आईपी २०० एम्पुल, प्रोमेथाजिन हाइड्रोक्लोराइड इन्जेक्सन आईपी २०० एम्पुल तथा बुप्रेनोर्फिन इन्जेक्सन आईपी २०० एम्पुल रहेका छन् । उक्त लागूऔषधसहित महिला र अन्य दुई जना र ई–रिक्सा नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

यसैगरी, सोमबार नै वीरगञ्ज महानगरपालिका–१ स्थित छपकैया सीमा क्षेत्रमा बीओपी सिर्सियाबाट खटिएको गाडी मोबाइल टोलीलाई देख्नासाथ भारतबाट अवैध रूपमा भन्सार छली औषधिजन्य सामग्री नेपालतर्फ ल्याउँदै गरेका दुई जना व्यक्ति सामान छाडी फरार भएका थिए ।

घटनास्थलबाट करिब पाँच लाख रुपैयाँ बराबरको चार कार्टुन भिटामिनलगायतका औषधिजन्य सामग्री बरामद गरिएको छ । बरामद सामग्री आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

Back to top