×

वीरगञ्ज । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि खेलाडी अक्सन आज दिउँसो १ बजे हुँदै छ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने अक्सनमार्फत फ्रेन्चाइज टोलीहरूले आफ्नो अन्तिम संयोजन टुङ्गो लगाउनेछन् ।

क्यानका अनुसार अक्सनको अन्तिम सूचीमा परेका १५५ खेलाडीमध्ये ५२ जना विभिन्न आठ फ्रेन्चाइज टोलीमा अनुबन्ध हुनेछन् । प्रत्येक टोलीले अक्सनबाट थप दुई नेपाली खेलाडी राख्न पाउने व्यवस्था गरिएको छ ।

यस पटक अक्सनका लागि देशभरबाट ३४७ खेलाडीले नाम दर्ता गराएका थिए । छनोट प्रक्रियापछि १५५ जना खेलाडी अन्तिम सूचीमा परेका हुन् ।

खेलाडीलाई प्रदर्शन र अनुभवका आधारमा तीन श्रेणीमा वर्गीकरण गरिएको छ— श्रेणी ‘ए’ मा ५ जना, श्रेणी ‘बी’ मा २७ जना र श्रेणी ‘सी’ मा १२३ जना रहेका छन् ।

अक्सनअघि टोलीहरूको खर्च सीमामा पनि भिन्नता देखिएको छ । जनकपुर बोल्ट्ससँग सर्वाधिक ६६ लाख २५ हजार रुपैयाँ बाँकी रहेको छ भने काठमाडौँ गोर्खाजसँग सबैभन्दा कम ३४ लाख रुपैयाँ मात्र खर्च गर्न बाँकी छ ।

एनपीएलमा काठमाडौँ गोर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, विराटनगर किंग्स, जनकपुर बोल्ट्स, कर्णाली याक्स, चितवन राइनोज र सुदूरपश्चिम रोयल्स गरी आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको पहिलो संस्करणमा जनकपुर बोल्ट्स च्याम्पियन बनेको थियो भने दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको थियो । तेस्रो संस्करणमा नयाँ रणनीति र संयोजनसहित टोलीहरू उपाधि होडमा उत्रने तयारीमा छन् ।

Back to top