×

वीरगञ्ज ।  सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाली काँग्रेसका निवर्तमान सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर सिंह देउवालाई सात दिनभित्र बयानका लागि उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको छ ।

विभागले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका क्रममा केही विषयमा बुझ्नुपर्ने भएकाले सूचना जारी भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र कार्यालयमा हाजिर हुन आउन पुर्जी काटेको हो । तोकिएको म्यादभित्र उपस्थित नभए प्रचलित कानुनअनुसार कारबाही हुने सूचनामा उल्लेख छ ।

सोमबार विभागका प्रतिनिधि बुढानीलकण्ठस्थित देउवा निवास पुगेका थिए । भदौको आन्दोलनका क्रममा क्षतिग्रस्त भएको उक्त निवासमा नै बयानका लागि आउनू भनी पत्र टाँस गरिएको विभाग स्रोतले जनाएको छ ।

जयवीरमाथि नेपाल टेलिकमको बिलिङ ठेक्का र राहदानी (पासपोर्ट) छपाइ ठेक्का प्रक्रियामा अनियमितता भएको आरोप लाग्दै आएको छ । सोही विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेपछि अनुसन्धान अघि बढाइएको बताइएको छ ।

परिवार सत्तामा रहेका बेला व्यवसाय विस्तारका लागि शक्तिको दुरुपयोग र रकम व्यवस्थापनमा अनियमितता गरेको आरोपसमेत उनीमाथि लाग्दै आएको छ ।

यसअघि विभागले पूर्व प्रधानमन्त्री देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पनि अनुसन्धानका लागि पुर्जी काटिसकेको थियो । देउवा दम्पतीले आफूहरू उपचारका सिलसिलामा विदेशमा रहेको र साउन मसान्तसम्म नेपाल फर्किने जानकारी विभागलाई पत्रमार्फत गराएका छन् । जयवीर पनि हाल परिवारसँगै विदेशमा रहेको बताइएको छ ।

विभागले अनुसन्धान प्रक्रिया जारी रहेको जनाउँदै आवश्यक परे थप व्यक्तिलाई पनि बयानका लागि बोलाइने सङ्केत गरेको छ ।

Back to top