तस्बिर : सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्सा ।
वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साले विभिन्न स्थानबाट भन्सार छली गरी नेपाल भित्र्याइएका १२ लाख रुपैयाँभन्दा बढी मूल्यका सवारी साधन तथा सामान बरामद गरेको छ ।
सोमबार वीरगञ्ज महानगरपालिका–१६ स्थित भन्सार मेनगेट क्षेत्रबाट सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले चेकजाँचका क्रममा भारतबाट अवैध रूपमा ल्याइँदै गरेको १ लाख ७० हजार रुपैयाँ बराबरको किराना सामान बरामद गरेको हो ।
त्यसैगरी, वीरगञ्ज महानगरपालिका–२ इदगाँहा चोकबाट मधेस प्रदेश ३–००१ ह ३४५१ नम्बरको अटोमा लोड गरी ल्याइँदै गरेको ४ लाख ३५ हजार रुपैयाँ बराबरको अटो तथा कपडा नियन्त्रणमा लिइएको छ ।
यस्तै, वीरगञ्ज–२४ बहुअरी चोक क्षेत्रबाट बीआर०५एए २२७३ नम्बरको मोटरसाइकलमा ल्याइएको १ लाख ९५ हजार रुपैयाँ बराबरको मोटरसाइकल तथा मेडिकल सामग्री पनि प्रहरीले बरामद गरेको जनाएको छ ।
त्यसैगरी, भन्सार मेनगेट क्षेत्रबाट १ लाख १६ हजार ४ सय रुपैयाँ बराबरको टाँगा सहित घोडी तथा कस्मेटिक र रेनकोट बरामद गरिएको छ भने सीमा सुरक्षा गुल्म अलौबाट १ लाख ३९ हजार ६ सय रुपैयाँ बराबरको सामानसहित मोटरसाइकल नियन्त्रणमा लिइएको छ ।
बरामद गरिएका उक्त सामानहरू सोमबार वीरगञ्ज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन राज निरौलाले जानकारी दिए ।
यसैगरी, विभिन्न स्थानबाट भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइँदै गरेको २ लाख ८ हजार ४ सय ४० रुपैयाँ बराबरका विभिन्न सामान पनि बरामद गरी आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जनाइएको छ ।
सशस्त्र प्रहरीले सीमा क्षेत्रमा अवैध चोरी पैठारी नियन्त्रणका लागि निगरानी तथा चेकजाँचलाई थप कडाइका साथ अघि बढाएको जनाएको छ ।