×

वीरगञ्ज । इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट, शङ्कर ग्रुपका साहिल अग्रवाललगायत ८१ जनाविरुद्ध २३ अर्ब रुपैयाँभन्दा बढी बिगो दाबीसहित बिहीबार विभिन्न अदालतमा तीन प्रकृतिका मुद्दा दायर गरिएको छ । सम्पत्ति शुद्धीकरण, धितो पत्रसम्बन्धी कसुर तथा बैङ्किङ कसुरमा फरक–फरक अदालतमा अभियोग पत्र दर्ता गरिएको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको सिफारिसका आधारमा विशेष सरकारी वकिलको कार्यालयले विशेष अदालतमा इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्टसहित ३९ जनाविरुद्ध २२ अर्ब ३९ करोड रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ ।

अभियोगअनुसार बिमा ऐन, २०७९ अन्तर्गतका कसुरजन्य कार्यबाट आर्जित सम्पत्ति धितो पत्र बजार तथा अन्य क्षेत्रमा लगानी गरी स्रोत लुकाउने, स्वरूप परिवर्तन गर्ने र गैरकानुनी आयलाई वैध देखाउने काम गरिएको आरोप छ । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ३(१) (क), (ख) र (ग) विपरीत कार्य गरेको अभियोग पत्रमा उल्लेख छ ।

यस मुद्दामा भट्टसँगै जगदम्बा होल्डिङ्सका अध्यक्ष साहिल अग्रवाल, उनकी पत्नी सुभी अग्रवाल, सङ्करलाल अग्रवाल, सुलभ अग्रवाल, शेखर गोल्छा, राजबहादुर शाह, उपासना पौडेल, रोहित गुप्ता, ऋषिराज मोर, सन्दीप चाचानलगायतलाई प्रतिवादी बनाइएको छ ।

सेयर बजारमा सङ्गठित रूपमा ‘सर्कुलर ट्रेडिङ’ गरी कृत्रिम मूल्य वृद्धि गराएको आरोपमा ८१ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा धितो पत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गत मुद्दा दायर गरिएको छ । अभियोग पत्रमा करिब १ अर्ब १४ करोड ८ लाख रुपैयाँ बिगो दाबी गरिएको छ ।

सरकारी वकिलको कार्यालयले दफा ९४ (झुटो कारोबार), ९५ (मूल्यमा उतारचढाव), ९६ (बजार प्रभावित पार्ने) र ९८ (जालसाजीयुक्त कारोबार) अन्तर्गत सजाय माग गरेको छ । साथै दफा १०१ बमोजिम जरिवाना र कैद सजायको माग गरिएको छ ।

अभियोग पत्रअनुसार भृकुटी स्टक ब्रोकिङ (ब्रोकर नं. ५५) लाई केन्द्र बनाएर नेपाल पुनर्बिमा कम्पनी, एनएलजी इन्स्योरेन्स र गार्डियन माइक्रो लाइफलगायत कम्पनीको सेयर मूल्य कृत्रिम रूपमा बढाइएको थियो । ब्रोकर कम्पनीले पर्याप्त धरौटीबिनै अर्बौँ रुपैयाँ बराबरको सेयर खरिद सुविधा दिएको आरोप छ । अधिकांश प्रतिवादी फरार रहेको जनाइएको छ ।

बैङ्किङ कसुरमा ४२ करोड बढी बिगो

बैङ्किङ कसुरमा दीपक भट्टसहित चार जनाविरुद्ध उच्च अदालत पाटनमा ४२ करोड १४ लाख ८८ हजार रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ । मुद्दा बैङ्किङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत दायर गरिएको हो ।

अभियोगअनुसार जगदम्बा स्टिल्सले विभिन्न बैंकबाट लिएको चालु पुँजी कर्जामध्ये करिब ५४ करोड ५० लाख रुपैयाँ भट्टको व्यक्तिगत खातामा स्थानान्तरण गरिएको थियो। उक्त रकम जग्गा खरिदका लागि बैना स्वरूप दिइएको भनिए पनि अनुसन्धानले हिमालयन रिइन्स्योरेन्सको संस्थापक सेयर खरिद तथा अन्य प्रयोजनमा प्रयोग भएको देखाएको छ ।

अनुसन्धानमा रकम जगदम्बा स्टिल्सबाट भट्टको खातामा, त्यसपछि इन्फिनिटी होल्डिङ्स हुँदै सेयर लगानीमा प्रयोग गरिएको ‘लेयरिङ’ पाइएको उल्लेख छ । बैंक तथा नियामक निकायलाई झुक्क्याउन नक्कली बैना कागजात तयार गरिएको दाबी गरिएको छ ।

भट्टले भने बयानमा रकम जग्गा खरिदका लागि लिएको र पछि साँवा–ब्याजसहित फिर्ता गरेको बताएका छन् । तर सरकारी वकिलको कार्यालयले यसलाई कर्जा दुरुपयोग ठहर गर्दै मुद्दा चलाएको हो ।

पक्राउ पुर्जी माग

फरार रहेका साहिल अग्रवाल र सङ्करलाल अग्रवालविरुद्ध मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ५७(२) बमोजिम पक्राउ पुर्जी जारी गर्न अदालतसँग माग गरिएको छ । साथै अपराधपीडित संरक्षण ऐन, २०७५ अनुसार पीडित राहत कोषमा क्षतिपूर्ति भराउन पनि माग गरिएको छ ।

सरकारी पक्षले सक्कल मिसिलसहित अभियोग पत्र दर्ता गर्दै प्रतिवादीहरूलाई कानुनबमोजिम सजाय तथा बिगो असुलउपर गराउन अदालतसँग अनुरोध गरेको छ ।

Back to top