×

वीरगञ्ज ।  व्यवसायी दीपक भट्टविरुद्ध बैङ्किङ कसुरसम्बन्धी अभियोगमा कम्तीमा ६ वर्ष कैद सजाय र ४२ करोड १४ लाख ८८ हजार ८०७ रुपैयाँ बिगो असुल गर्न माग गर्दै सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता प्रक्रिया अघि बढाएको छ । बैङ्किङ कसुरसम्बन्धी अनुसन्धानबाट सङ्कलित प्रमाणका आधारमा अभियोग पत्र तयार गरी अदालतमा पेस गर्ने तयारी गरिएको हो ।

सरकारी वकिलको कार्यालयका अनुसार भट्टले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ऋण सुविधा लिँदा झुट्टा विवरण, नक्कली तथा भ्रामक कागजात पेस गरी वास्तविक आर्थिक अवस्था लुकाएर ठुलो रकम कर्जा लिएको आरोप छ । अनुसन्धानका क्रममा बैंकबाट प्राप्त ऋणसम्बन्धी कागजात, कम्पनीका वित्तीय विवरण, कारोबार अभिलेख, धितोसम्बन्धी कागजात तथा विद्युतीय प्रमाण सङ्कलन गरिएको जनाएको छ ।

यसैबिच, शेयर बजारलाई प्रभावित हुने गरी कृत्रिम र झुटा कारोबार गरेको आरोपमा भट्टसहित ८१ जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरिएको छ । हिमालयन रिइन्स्योरेन्स र शङ्कर ग्रुपसँग आबद्ध विभिन्न कम्पनीका सञ्चालक तथा उच्च पदाधिकारीहरू प्रतिवादी बनाइएका छन् । प्रतिवादीमध्ये व्यवसायी शेखर गोल्छा, राजबहादुर शाह, शाहिल अग्रवाल, सुलभ अग्रवाल र निकोलस पाण्डे लगायत रहेका छन् । धितोपत्र बोर्डको छानबिन प्रतिवेदन तथा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धान प्रतिवेदनका आधारमा मुद्दा दायर गरिएको हो ।

भट्टको समूहविरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरण तथा उच्च अदालत पाटनको वाणिज्य इजलासमा बैङ्किङ कसुरसम्बन्धी मुद्दा दर्ता भएको छ । बैङ्किङ कसुर प्रकरणमा भट्टसहित सुलभ अग्रवाल, शाहिल अग्रवाल र शंकरलाल अग्रवाललाई प्रतिवादी बनाइएको छ । दीपक भट्ट र सुलभ अग्रवाल हाल हिरासतमा रहेका छन् भने बाँकी दुई जना फरार रहेकाले पक्राउ पुर्जी जारी गर्न माग गरिएको छ ।

अनुसन्धान विवरणअनुसार जगदम्बा स्टिल्सको नाममा लिएको ४५ करोड रुपैयाँ चालु पुँजी कर्जा दुरुपयोग गरी हिमालयन रिइन्स्योरेन्सको सेयर खरिद गरिएको आरोप छ । उक्त रकम जगदम्बा स्टिल्सको खाताबाट भट्टको व्यक्तिगत खातामा रकमान्तर गरी त्यसपछि उनी स्वयं एकल सेयरधनी रहेको इन्फिनिटी होल्डिङ प्रालिको खातामा सारिएको र सोही रकमबाट सेयर खरिद गरिएको पाइएको छ ।

इन्फिनिटी होल्डिङको चुक्ता पुँजी आर्थिक वर्ष २०७७/७८ मा ३ करोड रुपैयाँबाट बढेर ४८ करोड रुपैयाँ पुगेको देखिए पनि पुँजी वृद्धिको स्पष्ट स्रोत नखुलेको अभियोगपत्रमा उल्लेख छ । रकमको स्रोत वैध देखाउन भट्ट र जगदम्बा स्टिल्सबीच जग्गा खरिद–बिक्रीको बैना सम्झौता गरिएको दाबी गरिए पनि सीआईबीले उक्त कारोबारलाई ‘कृत्रिम’ ठहर गरेको छ ।

अनुसन्धान प्रतिवेदनमा बैंक खाताको विवरण, वित्तीय कारोबार विश्लेषण तथा अन्य कागजातका आधारमा रकमको प्रवाह जगदम्बा स्टिल्सबाट भट्ट हुँदै इन्फिनिटी होल्डिङसम्म पुगेको उल्लेख गरिएको छ । सहवित्तीयकरणमार्फत नेपाल इन्भेस्टमेन्ट मेघा बैंकको अगुवाइमा प्राप्त चालु पुँजी तथा अल्पकालीन कर्जालाई योजनाबद्ध रूपमा दुरुपयोग गरिएको अभियोगमा भनिएको छ ।

सरकारी वकिलको कार्यालयले बैङ्किङ कसुरसँगै बिमा सम्बन्धी कसुर, सम्पत्ति शुद्धीकरण तथा धितोपत्रसम्बन्धी कसुरमा पनि थप मुद्दा दायर गर्ने तयारी गरेको जनाएको छ ।

Back to top