वीरगञ्ज । वीरगञ्जका केही स्थानीयवासी तथा शहरका ऐतिहासिक तथा सार्वजनिक सम्पत्तिको संरक्षणका लागि एकजुट हुन आम नागरिकलाई पर्सा १ बाट निर्वाचित सांसद हरिपन्तले आह्वान गरेका छन्।
सांसद पन्तले विशेष रूपमा टाउन हल, स्विमिङ पुल र घडीअर्वा पोखरीलाई वीरगञ्जको ऐतिहासिक पहिचान र साझा सम्पत्तिका रूपमा उल्लेख गर्दै तिनको संरक्षण र उचित व्यवस्थापन आवश्यक रहेको बताएका छन्।
अभियानमा आबद्ध पक्षका अनुसार यी संरचना केवल भौतिक सम्पत्ति मात्र नभई वीरगञ्जको इतिहास, संस्कृति र पहिचानसँग जोडिएका महत्वपूर्ण धरोहर हुन्। त्यसैले तिनको संरक्षण र पुनर्जीवनका लागि सम्पूर्ण वीरगञ्जवासीको साथ, सहयोग र सक्रिय सहभागिता आवश्यक रहेको उनीहरूको भनाइ छ।
अभियानकर्ताहरूले नागरिक एकता र सामूहिक प्रयासबाट वीरगञ्जको सार्वजनिक सम्पत्तिलाई जनहितअनुकूल संरक्षण र व्यवस्थापन गर्न सकिने विश्वास व्यक्त गरेका छन्। साथै, ऐतिहासिक सम्पदाको संरक्षण भावी पुस्ताप्रतिको जिम्मेवारी पनि भएको भन्दै सबै सरोकारवालालाई यस अभियानमा साथ दिन आग्रह गरेका छन्।