×

वीरगञ्ज । आइसिसी महिला टी–२० विश्वकप आजदेखि इंग्ल्याण्डमा सुरु हुँदै छ । सन् २००९ देखि सुरु भएको यस प्रतियोगितामा पहिलो पटक १२ राष्ट्रले सहभागिता जनाउँदै इतिहास रचिएको छ । उद्घाटन खेलमा घरेलु टोली इङ्ल्याण्ड र श्रीलङ्काबिच आज राति सवा ९ बजे प्रतिस्पर्धा हुनेछ ।

यसअघि सन् २०१० मा भएको दोस्रो संस्करण र त्यसपछिका सुरुआती तीन संस्करणसम्म ८ राष्ट्र मात्र सहभागी थिए । सन् २०१४ को चौथो संस्करणदेखि सन् २०२४ सम्मका संस्करणहरूमा १० टोलीले प्रतिस्पर्धा गरेका थिए । महिला क्रिकेटको बढ्दो लोकप्रियता र प्रतिस्पर्धात्मक स्तरलाई ध्यानमा राख्दै यस पटक टोली सङ्ख्या बढाएर १२ पुर्‍याइएको हो ।

यस संस्करणमा सहभागी १२ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा अस्ट्रेलिया, बङ्गलादेश, भारत, नेदरल्याण्ड्स, पाकिस्तान र दक्षिण अफ्रिका रहेका छन् ।
समूह ‘बी’ मा इङ्ल्याण्ड, आयरल्याण्ड, न्युजिल्याण्ड, स्कटल्याण्ड, श्रीलंका र वेस्ट इन्डिज रहेका छन् ।

प्रत्येक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनलका विजेताबिच असार २१ गते फाइनल खेलिनेछ ।

हालसम्म सम्पन्न ९ संस्करणमा ४ देशले मात्र उपाधि जितेका छन् । अस्ट्रेलिया सबैभन्दा सफल टोली रहँदै ६ पटक च्याम्पियन बनेको छ । न्युजिल्याण्ड साबिक विजेता हो । वेस्ट इन्डिज र इङ्ल्याण्डले समान एक–एक पटक उपाधि जितेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले महिला क्रिकेटको विस्तार र विश्वव्यापी प्रतिस्पर्धा बढाउने उद्देश्यले प्रतियोगिताको दायरा फराकिलो बनाएको जनाएको छ । यस संस्करणमा नयाँ टोलीहरूको सहभागिताले प्रतिस्पर्धालाई अझ रोचक बनाउने अपेक्षा गरिएको छ ।

घरेलु समर्थकको साथ पाएको इङ्ल्याण्ड बलियो दाबेदारका रूपमा उत्रिँदा, अस्ट्रेलिया र भारतलाई पनि उपाधि दाबेदारका रूपमा हेरिएको छ । साबिक विजेता न्युजिल्याण्ड आफ्नो उपाधि जोगाउने लक्ष्यमा रहनेछ ।

महिला क्रिकेटको विश्वव्यापी विकाससँगै यस विश्वकपले नयाँ कीर्तिमान र रोमाञ्चक प्रतिस्पर्धा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।

Back to top