×

वीरगञ्ज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्य र आणविक विवाद समाधानका लागि ‘शानदार’ शान्ति सम्झौता अन्तिम चरणमा पुगेको दाबी गरेका छन् ।

ट्रम्पले यसै साता युरोपमा औपचारिक हस्ताक्षर हुन सक्ने सङ्केत दिएका छन् । तर तेहरानले भने ट्रम्पको दाबीलाई ‘अड्कलबाजी’ भन्दै कुनै पनि सम्झौता अझै अन्तिम नभएको स्पष्ट पारेको छ ।

बिहीबार ओभल अफिसमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले भने, “हामीले भर्खरै इरानसँगको युद्ध समाधानका लागि ठुलो सहमति गरेका छौँ ।” उनका अनुसार सम्झौताको मुख्य उद्देश्य इरानलाई सधैँका लागि आणविक हतियार विकास गर्नबाट रोक्नु हो । उनले कागजातहरू अन्तिम चरणमा रहेको र सम्भवतः युरोपमा एक समारोहबिच हस्ताक्षर गरिने बताए । साथै, सम्झौतापछि रणनीतिक रूपमा महत्त्वपूर्ण ‘हर्मुज जलसन्धि’ पुनः खुल्ने दाबी पनि गरे ।

तर ट्रम्पको वक्तव्य आएको केही घण्टामै इरानको विदेश मन्त्रालयले त्यसको खण्डन गरेको छ । इरानी आधिकारिक समाचार एजेन्सी ‘इर्ना’ का अनुसार प्रवक्ता इस्माइल बगाइले भने, “इस्लामिक रिपब्लिक अफ इरानले अहिलेसम्म कुनै पनि सम्झौतालाई अन्तिम रूप दिएको छैन । उच्च अधिकारीहरूले मस्यौदाका बुँदाहरूमा पूर्ण सहमति जनाएपछि मात्र औपचारिक घोषणा हुन्छ ।”

बगाइले इरानले सधैँ कूटनीतिको ढोका खुला राखेको उल्लेख गर्दै देशको सार्वभौमिकता, शान्तिपूर्ण आणविक कार्यक्रमको अधिकार र आर्थिक प्रतिबन्धहरूको पूर्ण फुकुवालाई आफ्ना ‘रेड लाइन्स’ भएको स्पष्ट पारे । उनले सम्मानजनक र बराबरीको हैसियतमा मात्र कुनै पनि सम्झौता स्वीकार्य हुने बताए ।

ट्रम्पको दाबी आउनु केही घण्टा अघि मात्र उनले इरानको तेल निर्यातको प्रमुख केन्द्र ‘खार्ग टापु’ कब्जा गर्ने र कडा सैन्य कारबाही गर्ने चेतावनी दिएका थिए । पछिल्लो साता दुवै देशबिच तनाव तीव्र बनेको थियो । खाडी क्षेत्रमा अमेरिकी अपाचे हेलिकप्टर दुर्घटनापछि सुरु भएको झडपमा अमेरिकाले इरानका सैन्य र राडार केन्द्रहरूमा आक्रमण गरेको दाबी गरेको थियो । जवाफमा इरानले बहराइन, कुवेत र जोर्डनस्थित अमेरिकी आधारहरूमा मिसाइल प्रहार गरेको बताइएको छ ।

आक्रमणका क्रममा बहराइनमा ११ वर्षीय बालिका घाइते भएकी थिइन् । यस्तै, ओमानको खाडीमा अमेरिकी आक्रमणमा तीन भारतीय नाविकको मृत्यु भएपछि भारतले अमेरिकी कूटनीतिज्ञलाई बोलाएर स्पष्टीकरण मागेको छ ।

ट्रम्पको सकारात्मक सङ्केतपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ४.४ प्रतिशतले घटेको छ । ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल ८९ डलरमा झरेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ट्रम्पको कदमको प्रशंसा गरेका छन् ।

यद्यपि वासिङ्टन र तेहरानबीच अझै पनि मुख्य बुँदाहरूमा गम्भीर मतभेद कायम देखिएकाले सम्भावित सम्झौताको भविष्य अनिश्चित नै रहेको विश्लेषकहरूले बताएका छन् ।

Back to top