वीरगञ्ज । हाल देशमा उपल्लो वायुमण्डलमा सक्रिय पश्चिमी न्यूनचापीय रेखा (वेस्टर्न ट्रफ) तथा स्थानीय वायुको प्रभावका कारण मधेस प्रदेशमा मौसम बदली भई वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रवार मधेस प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहनेछ । प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षा हुने सम्भावना रहेको छ । विशेषगरी दिउँसो र साँझपख मौसम सक्रिय भई वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
हाल प्रदेशका अधिकांश जिल्लामा तापक्रम घटेको महसुस गरिएको छ । केही दिनअघि ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको तापक्रम वर्षापछि घटेर ३२–३४ डिग्री सेल्सियसको आसपासमा झरेपछि अत्यधिक गर्मीबाट केही राहत मिलेको छ । आर्द्रता बढेकाले मौसम शीतल भए पनि केही स्थानमा उमस कायमै रहने सम्भावना छ ।
आज राति पनि मधेस प्रदेशमा आंशिक बदली रहनेछ भने एक–दुई स्थानमा मेघगर्जनसहित वर्षा हुन सक्ने जनाइएको छ । साथै हावाहुरी र चट्याङको जोखिमसमेत रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।
वर्षा र चट्याङका कारण दैनिक जनजीवन, कृषि कार्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले सुझाव दिएको छ। किसानहरूलाई बाली जोगाउन तथा सर्वसाधारणलाई खुला ठाउँमा बस्दा वा रुखमुनि ओत लाग्दा विशेष सतर्क रहन अनुरोध गरिएको छ ।
पश्चिमी न्यूनचापीय प्रणाली अझ केही दिन सक्रिय रहने सङ्केत देखिएकाले मधेस प्रदेशमा बिच–बिचमा वर्षा हुने क्रम जारी रहन सक्ने मौसमविद्ले बताएका छन् ।