×

वीरगञ्ज । पर्साको पकहाँमैनपुर गाउँपालिकाका अध्यक्ष सुरेश प्रसाद महेताले इन्धन खर्चमा ठूलो अनियमितता गरेको पाइएको छ ।

महालेखापरीक्षक कार्यालयले सार्वजनिक गरेको पकहाँमैनपुर गाउँपालिकाको आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले इन्धन खर्चमा मितव्ययिता र पारदर्शिता कायम गर्न नसकेको भन्दै अध्यक्ष महेताको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको छ ।

प्रतिवेदनका अनुसार, अर्थ मन्त्रालयको कार्य सञ्चालन निर्देशिकामा ३० जनासम्म कर्मचारी दरबन्दी भएको कार्यालयका लागि मासिक १२५ लिटर डिजेल, ७५ लिटर पेट्रोल र प्रति मोटरसाइकल १० लिटर पेट्रोल खर्च लेख्ने व्यवस्था भए पनि पकहाँमैनपुर गाउँपालिकाले कार्यालय प्रयोजनका लागि ३६ लाख रुपैयाँ र पदाधिकारीका लागि ८ लाख रुपैयाँ गरी कुल ४४ लाख रुपैयाँ इन्धन खरिद गर्न खर्च गरेको छ । खर्च गरिएको रकम मापदण्डभन्दा निकै बढी रहेको प्रतिवेदनले औँल्याएको छ ।

गाउँपालिकाले सवारी साधनको लगबुक नराख्दा कुन सवारी साधनमा कति इन्धन खर्च भएको यकिन विवरण समेत पेस गरेको छैन । प्रतिवेदनमा गाउँपालिकाले पालिकाका पदाधिकारी र कर्मचारीबाहेक अन्य व्यक्तिहरूलाई समेत इन्धन रकम भुक्तानी गरेको उल्लेख छ ।

इन्धन खरिदका सबै बिलमा आपूर्तिकर्ताको हस्ताक्षर र छाप नरहेको कारण खर्चको वैधानिकता र पारदर्शितामाथि समेत प्रश्न उठेको छ ।

प्रतिवेदन अनुसार गाउँपालिकाले इन्धन खरिदमा एक वर्षको अवधिमा बढीमा ८ लाख ८० हजार ५ सय रुपैयाँ खर्च गर्नुपर्नेमा ४४ लाख रुपैयाँ खर्च गरेको छ । गाउँपालिकाले इन्धनमा मात्रै तोकिएको मापदण्ड भन्दा ३५ लाख १९ हजार ५ सय रुपैयाँ बढी खर्च गरेको पाइएको हो ।  

गाउँपालिकासँग १ थान ब्याकहो लोडर, १ थान ट्रिपर, २ थान एम्बुलेन्स, २ थान ट्र्याक्टर, १ थान भाडाको गाडी र १ थान जेनरेटर रहेको छ । तर, सवारी साधन र उपकरणको प्रयोग र इन्धन खर्चबिच तादात्म्य नमिलेको प्रतिवेदनले जनाएको छ । गाउँपालिका अध्यक्ष सुरेश प्रसाद महेताले मापदण्ड विपरीत आफैले इन्धनको कुपन जारी गरेको समेत पाइएको छ ।

महालेखापरीक्षकले गाउँपालिकालाई इन्धन खर्चमा मितव्ययिता अपनाउन, लगबुक व्यवस्थित गर्न, कुपन जारी गर्ने प्रक्रियामा सुधार गर्न र खर्चको यकिन विवरण पेस गर्न निर्देशन दिएको छ ।

यो पनि पढ्नुहोस् : पकहाँमैनपुरका जनप्रतिनिधिले गरेर छात्राहरूको स्यानिटरी प्याड खरिद र वितरणमा समेत अनियमितता

यो पनि पढ्नुहोस् : पकाहा मैनपुरमा व्यापक अनियमितता : नामावली समेत नभएको कर्मचारीको नाममा लाखौँ तलब भुक्तानी

यो पनि पढ्नुहोस् : पकहाँमैनपुरका अध्यक्ष, उपाध्यक्षसहित अन्य जनप्रतिनिधिले जनताको पैसाबाट किने १० लाखको मोबाइल

यो पनि पढ्नुहोस् : पकहाँनमैनपुरकी उपाध्यक्षले लिइन् दोहोरो सुविधा, गाउँपालिकाको पैसाबाट किनिन् मोटरसाइकल र भराइन् इन्धन

यो पनि पढ्नुहोस् : पकाहामैनपुरको शिक्षा क्षेत्रमा भ्रष्टाचार : दिवा खाजामा ५२ लाखको अनियमितता, पाठ्यपुस्तक खरिद नै नगरी भुक्तानी

अनियमितताले गाउँपालिकाको वित्तीय अनुशासन र पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको छ । स्थानीय बासिन्दाले अध्यक्ष महेताको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै इन्धन खर्चमा भएको यो अनियमितताको छानबिन र कारबाहीको माग गरेका छन् । “यो रकम जनताको करबाट उठेको हो, तर अध्यक्षज्यूले व्यक्तिगत स्वार्थमा दुरुपयोग गरेको देखिन्छ,” स्थानीय राजनीतिज्ञ अकलेख साहले भने ।

इन्धन खर्चको विषयमा अध्यक्ष महेतासँग सम्पर्क गर्दा उनको फोन नउठ्दा प्रतिक्रिया लिन सकिएन । महालेखापरीक्षकको प्रतिवेदनले औंल्याएका कमजोरीहरू सुधार नगरे गाउँपालिकाको प्रशासनिक विश्वसनीयतामाथि थप प्रश्न उठ्ने निश्चित छ ।

Back to top