वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–९ स्थित जिल्ला प्रशासन कार्यालय नजिक रहेको गढिमाई लजमा पार्किङ गरिएको एक ई–स्कुटरको ब्याट्री पड्किँदा आगलागी भएको छ। बिहीबार बिहान करिब ७ बजे भएको आगलागीबाट स्कुटर पूर्ण रूपमा जलेर नष्ट हुनुका साथै लजका विभिन्न सामग्रीमा समेत क्षति पुगेको छ।
मधेश प्रदेश ०३–०३९ प १४४३ नम्बरको ई–स्कुटर लज अगाडि पार्किङ गरिएको अवस्थामा अचानक ब्याट्री पड्किएर आगलागी भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। आगो तीव्र रूपमा फैलिँदा स्कुटरसँगै लजभित्र रहेका चौकी, लत्ताकपडा, इन्टरनेट उपकरण, एसी, पंखा तथा होर्डिङ बोर्डलगायतका सामग्री जलेर नष्ट भएका छन्।
लज तथा स्कुटरका धनी किशन साह कानुका अनुसार कुनै पूर्व संकेतबिना पार्किङ गरिएको स्कुटरबाट एक्कासि धुवाँ निस्किएको थियो। त्यसपछि विस्फोटजस्तो आवाज आएर आगो सल्किएको र केहीबेरमै आगो आसपासका संरचनामा फैलिएको उनले बताए।
आगलागीको सूचना प्राप्त भएपछि सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाली सेना तथा वीरगञ्ज महानगरपालिकाको दमकल घटनास्थलमा पुगेका थिए। सुरक्षाकर्मी र स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा लिइए पनि स्कुटर र लजका सामग्रीमा उल्लेखनीय क्षति पुगेको जनाइएको छ।
घटनापछि ई–स्कुटरको ब्याट्री सुरक्षाबारे पुनः प्रश्न उठेको छ। पीडित पक्षले आगलागीको वास्तविक कारण पत्ता लगाउन सम्बन्धित निकायबाट प्राविधिक अनुसन्धान गर्नुपर्ने माग गरेको छ।
पछिल्लो समय देशका विभिन्न स्थानमा विद्युतीय सवारीसाधनका ब्याट्रीसँग सम्बन्धित समस्या देखिएका घटनाहरू सार्वजनिक भइरहेका बेला वीरगञ्जको यो घटनाले पनि ई–स्कुटरको गुणस्तर र सुरक्षा मापदण्डबारे गम्भीर अध्ययन आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।