×

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसका नेता राजेश्वर प्रसाद साह तेलीले प्रतिनिधिसभा सदस्य पदका लागि स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । पार्टीबाट टिकेट नपाएपछि उनले स्वतन्त्र रूपमा निर्वाचनमा जाने निर्णय गरेका हुन् ।

तेली पूर्व मधेस प्रदेशसभा सदस्यसमेत हुन् । उनले प्रदेशसभा सदस्य निर्वाचन २०७४ मा नेपाली काँग्रेसबाट पर्सा निर्वाचन क्षेत्र नम्बर २ (१) बाट उम्मेदवारी दिँदै १० हजारभन्दा बढी मत ल्याएर विजयी भएका थिए । तर, प्रदेशसभा सदस्य निर्वाचन २०७९ मा पार्टीको निर्णयलाई सम्मान गर्दै उनले उम्मेदवारी नदिई पार्टीका उम्मेदवारलाई सघाएर निर्वाचित गराएका थिए ।

यस पटकको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पर्सा–२ बाट उम्मेदवार बन्ने आकाङ्क्षा राखेका तेलीलाई पार्टीले टिकेट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेको बुझिएको छ । स्रोतका अनुसार नेपाली काँग्रेसले पूर्व मन्त्री अजय चौरसियालाई टिकेट दिने लगभग निर्णय गरिसकेको छ ।

तेली भर्खरै सम्पन्न नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशनमा गगन थापा र विश्वप्रकाश शर्मा समूहको समर्थनमा सक्रिय देखिएका थिए । तर पनि पार्टी नेतृत्वले देउवा निकट मानिने अजय चौरसियालाई अघि सार्ने सङ्केत गरेपछि उनले स्वतन्त्र लड्ने निर्णय गरेका हुन् ।

व्यावसायिक पृष्ठभूमिका तेलीले प्रदेशसभा सदस्यको पाँच वर्षे कार्यकालमा सडक, पुल, स्वागत द्वार, मन्दिर, मस्जिद निर्माणलगायतका विकास निर्माणका कामलाई प्राथमिकता दिएको स्थानीयको भनाइ छ । आफ्ना क्षेत्रमा राम्रो पकड बनाएका तेलीले विगतका निर्वाचनहरूमा काँग्रेसको पक्षमा नतिजा ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको बताइन्छ ।

उता, काँग्रेसले टिकेट दिन लागेको बताइएका अजय चौरसिया यसअघि सोही क्षेत्रबाट निर्वाचित भई कानुन मन्त्रीसमेत बनेका थिए । यद्यपि, कानुन मन्त्री रहँदा आफताब आलमको रिहाइमा भूमिका खेलेको आरोप लाग्दै आएको कारण उनको छवि विवादित मानिन्छ ।

पर्सा–२ मा काँग्रेसभित्रको असन्तुष्टि र स्वतन्त्र उम्मेदवारीको घोषणाले आगामी निर्वाचनलाई थप रोचक बनाउने देखिएको छ ।

Back to top