सांकेतिक तस्बिर ।
बारा । बाराको पचरौता नगरपालिका–४ बेल्दारीमा सर्पले डस्दा १९ महिनाका एक बालकको मृत्यु भएको छ।
बुधबार बालककी आमा ज्यालादारी कामका लागि मकै खेतमा जाँदा छोरालाई पनि सँगै लिएर गएकी थिइन्। खेतमा खेलिरहेका बेला बालकलाई खुट्टामा सर्पले डसेको थियो।
सर्पदंशपछि गम्भीर घाइते भएका बालकलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिँदै गर्दा बाटोमै मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा बारासहित देशका विभिन्न जिल्लामा सर्पदंशका घटनामा तीन जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
वर्षायाम सुरु भएसँगै सर्पदंशका घटनाहरू बढ्न थालेकाले सतर्कता अपनाउन तथा सर्पले डसेको अवस्थामा तत्काल स्वास्थ्य संस्थामा पुगेर उपचार गराउन सम्बन्धित निकायले आग्रह गरेका छन्।