×

वीरगञ्ज । पर्साको पकहाँनमैनपुरकी उपाध्यक्ष सरफुन नेशाले आर्थिक वर्ष २०८०/८१ मा दोहोरो सुविधा लिएको भन्दै महालेखापरीक्षकको कार्यालयले गम्भीर प्रश्न उठाएको छ । 

महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको लेखापरीक्षण प्रतिवेदनअनुसार, उपाध्यक्ष नेशाले मधेस प्रदेश सरकारले जारी गरेको स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधा सम्बन्धी ऐन, २०७७ को प्रावधान विपरीत दोहोरो सुविधा लिएको पाइएको छ ।

प्रतिवेदनअनुसार, मधेस प्रदेश सरकारको उक्त ऐनको दफा ३ मा स्थानीय तहका पदाधिकारी तथा सदस्यले दोहोरो सुविधा नपाउने स्पष्ट व्यवस्था छ । साथै, दफा ४ को उपदफा ४ मा सवारीसाधन उपलब्ध गराइएका पदाधिकारीले इन्धन वा यातायात खर्चमध्ये कुनै एक मात्र सुविधा लिन पाउने उल्लेख छ ।

तर, पकहाँनमैनपुर गाउँपालिकाले उपाध्यक्ष नेशाका लागि यामाहा १४९ सीसी एफजेड-एफआइभी३ मोटरसाइकल खरिद गरी ४ लाख ४९ हजार रुपैयाँ भुक्तानी गरेको छ । साथै, उनलाई कार्तिकदेखि असारसम्म मासिक १४ हजार ५ सय रुपैयाँका दरले ९ महिनाको यातायात खर्चबापत १ लाख ३० हजार ५०० रुपैयाँ समेत भुक्तानी गरिएको छ ।

लेखापरीक्षण प्रतिवेदनले दोहोरो भुक्तानी गैरकानुनी भएको ठहर गर्दै उपाध्यक्ष नेशाबाट १ लाख ३० हजार ५०० रुपैयाँ असुल गर्नुपर्ने उल्लेख गरेको छ । रकम मोटरसाइकल खरिदको अवधिदेखि नै दोहोरो सुविधाको रूपमा भुक्तानी भएको प्रतिवेदनमा उल्लेख छ ।

घटनाले धोबिनी गाउँपालिकाका जनप्रतिनिधिहरूको पारदर्शिता र जबाफदेहितामाथि समेत प्रश्न उठाएको छ । स्थानीय बासिन्दाहरूले उपाध्यक्ष नेशाको कदमलाई गैरजिम्मेवार र कानुन विपरीत भन्दै आलोचना गरेका छन् । एक स्थानीय बासिन्दाले भने, “हामीले चुनेका जनप्रतिनिधिबाट यस्तो कार्य हुनु दुखद छ । यो जनताको करको दुरुपयोग हो ।”

दोहोरो सुविधा लिएको विषयमा उपाध्यक्ष नेशासँग सम्पर्क गर्न खोज्दा उनको प्रतिक्रिया प्राप्त हुन सकेन । गाउँपालिकाका अन्य जनप्रतिनिधिहरूले पनि यो विषयमा मौनता अपनाएको कारण स्थानीय स्तरमा थप आक्रोश बढिरहेको छ ।

महालेखापरीक्षकको कार्यालयले दोहोरो सुविधा लिएको रकम तत्काल असुल गर्न र आगामी दिनमा यस्ता गतिविधि रोक्न गाउँपालिकालाई निर्देशन दिएको छ । घटनाले स्थानीय तहमा आर्थिक अनुशासन र पारदर्शिताको अभावलाई उजागर गरेको छ ।

स्थानीय तहका सुविधा सम्बन्धी ऐनको पालना नगर्ने र दोहोरो सुविधा लिने प्रवृत्तिविरुद्ध कडा कदम चाल्नुपर्ने माग स्थानीय बासिन्दाहरूले उठाएका छन् ।

Back to top