×

वीरगञ्ज । “हात खुट्टा छ भने मेहनत गरेर खान सकिन्छ, कमाउन सकिन्छ, गर्न सकिन्छ ।” यही सोचको उपज हो वीरगञ्जको लोहारपट्टी रोडस्थित ‘जानुस् क्याफे’ ।

वीरगञ्जको भिस्वा निवासी २६ वर्षीय जानकीले सानै उमेरमा ठूला दुःख झेलेकी छिन् । हेर्दा हँसिली देखिने जानकीले जीवनमा धेरै पटक रुनु परेको छ । पाँच वर्षकै उमेरमा बुबाको निधन भएपछि उनले बुबाको मायालाई राम्रोसँग बुझ्ने मौका पनि पाइनन् । यद्यपी आमा ५५ वर्षीय पुर्णा देवीको काखको भने उनलाई कहिलै कमी भएन । अहिले क्याफेमा पनि आमाले नै उनलाई सघाइरहेकी हुन्छिन् । 

प्लस टु सम्मको अध्ययन सकाएपछि उनी विवाह बन्धनमा बाँधिइन् । तर, वैवाहिक जीवन सन्तोषजनक रहेन । सम्बन्धविच्छेदपछि जिम्मेवारी थपियो— सात वर्षको छोरा रुगेन गिरीको पालनपोषण र उचित शिक्षादीक्षा, परिवारको भविष्य, अनि आत्मनिर्भर बन्ने सपना ।

चार वर्षसम्म गगन बचत तथा ऋण सहकारी संस्थामा मार्केटिङ हेडको रूपमा काम गरिन् । तर, सम्बन्ध बिच्छेदपछि स्थिर भविष्य सुनिश्चित गर्नुपर्ने जिम्मेवारीले उनलाई थप चिन्तित बनायो । “यदि अहिले केही गर्न सकेन भने भोलि–पर्सी पनि केही गर्न सकिँदैन,” उनले आफैंलाई सम्झाइन् । यही सोचले उनलाई उद्यमशीलताको बाटोतर्फ डो-यायो ।

अहिले धेरै युवा विदेशिन बाध्य छन् । आर्थिक मन्दी, रोजगारीको अभाव, व्यवसायको अस्थिरताले गर्दा नेपाली युवा वैदेशिक रोजगारीलाई प्रमुख रोजाइ बनाइरहेका छन् । तर, जानकीले आफ्नै देशमा केही गर्ने अठोट मात्रै गरिनन्, त्यो अठोटलाई साकार पनि पारिन् । वैदेशिक रोजगारीको विकल्प खोज्दै उनले आत्मनिर्भर बन्ने बाटो रोजिन् । “विदेश गएर अरूकै लागि पसिना बगाउनु भन्दा आफ्नै ठाउँमा केही गरौं भन्ने सोच आयो,” उनले यात्रा डेलीसँग भनिन् ।

बाल्यकालदेखि नै पकाउने, खुवाउने रहर थियो । औपचारिक तालिम नलिए पनि उनलाई विभिन्न परिकार बनाउन आउँछ । यही रुचिलाई व्यवसायमा बदल्ने सोचले उनले ‘जानुस् क्याफे’ सञ्चालनमा ल्याइन् ।

शुरुवाती दिनहरू संघर्षपूर्ण बितिरहेका छन् । कहिलेकाहीं बिक्री नै हुँदैन । “केवल दुई कप चिया मात्रै बेचेर कति दिन टिक्न सकिएला ?” भन्ने प्रश्नले सतायो । समाजले पनि एकल महिलाको संघर्षलाई सजिलै स्वीकार्दैन । “एकल महिलाले राम्रो काम गर्दा पनि औंला उठाउनेहरू हुन्छन्,” उनी भन्छिन् । तर, उनी हिम्मत हार्ने मनसायमा कदापी छैनीन् ।

आर्थिक मन्दी र व्यवसाय चलीरहेका छैनन् भन्ने भाष्य पनि निर्माण भएको छ । यस्तो अवस्थामा आफै व्यवसाय शुरु गर्नु चुनौती भएपनि त्यो चुनौतीलाई उनले अवसरको रुपमा लिएकी छिन् । आफूसँग भएको थोरै बचत र आफ्ना गरगहना धितो राखेर सुरु गरेको व्यवसायबाट न त उनलाई धेरै कमाउँछु भन्ने लोभ छ, न त डुब्ला भन्ने डर नै । उनी भन्छिन्, ‘आफ्नै ठाउँमा बसेर छोरालाई पढाउन र हुर्काउन पाए पुग्छ ।’

“विदेश जानुभन्दा यहीँ केही गर्न सकिन्छ भन्ने प्रमाण दिन चाहन्छु । यदि मैले यो व्यवसाय गर्न सकें भने, अरू एकल महिलाले पनि गर्न सक्छन् ।” 

‘जानुस् क्याफे’ मा ६० भन्दा बढी शाकाहारी तथा मांसहारी खाजाका परिकार उपलब्ध छन् । नेपाली खाजा सेटदेखि सेलरोटी, आलु पराठा, अण्डा पराठा र विभिन्न प्रकारका घरकै स्वादमा पाइने नेपाली खाजाका परिकारहरु यहाँका विशेष छन् । यहाँ आउने ग्राहकले पनि सस्तो मूल्यमा मीठो स्वादको खाजा खान पाएकोमा सन्तोष व्यक्त गरेका छन् । 

क्याफेमा ग्राहकको संख्या बढ्दै गएको छ । बचत गरेर, परिवारको साथ लिएर, उनी यो व्यवसायलाई अझ मजबुत बनाउने योजनामा छिन् । जानकीले ‘जानुस् क्याफे’ सञ्चालन गरेर व्यवसाय मात्रै शुरु गरेकी छैनिन्, उनले संघर्ष, हिम्मत, अनि आत्मनिर्भरताको पाठ पनि सिकाएकी छिन् ।
 

Back to top