वीरगञ्ज । वीरगञ्जस्थित ठाकुर राम बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को पहल तथा जिल्ला डिभिजन वन कार्यालय पर्साको सहयोगमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
क्याम्पस परिसरलाई हरियाली बनाउने, वातावरण संरक्षणप्रति विद्यार्थीहरूलाई सचेत गराउने तथा वृक्षारोपणको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको स्ववियुले जनाएको छ ।
कार्यक्रममा क्याम्पस प्रमुख डा. केशव कुमार यादव, सहायक क्याम्पस प्रमुखहरू, विभिन्न विभाग तथा शाखाका प्रमुखहरू, स्वतन्त्र विद्यार्थी युनियनका सभापति, जिल्ला डिभिजन वन कार्यालय पर्साका कर्मचारी तथा क्याम्पसका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
सहभागीहरूले क्याम्पस परिसरमा विभिन्न प्रजातिका बिरुवा रोप्दै वातावरण संरक्षणमा सबैको साझा जिम्मेवारी रहेको बताए । उनीहरूले वृक्षारोपण मात्र नभई रोपिएका बिरुवाको संरक्षण र नियमित हेरचाहमा समेत ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमका आयोजकले आगामी दिनमा पनि वातावरण संरक्षण तथा हरित अभियानलाई निरन्तरता दिँदै यस्ता जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने जानकारी दिएका छन् ।