वीरगञ्ज । शनिबार साँझ दुई प्रमुख गायन रियालिटी शो’हरू वीरगञ्जसहित तराई-मधेशका दर्शकका लागि विशेष बन्यो । हिमालयन टेलिभिजनबाट प्रसारित 'द भ्वाइस अफ नेपाल' सिजन ६ को १४ औं एपिसोडको अन्त्यमा वीरगञ्जका सिद्धान्त सहनीले आफ्नो दमदार प्रस्तुति दिए ।
सिद्धान्तको ब्याटल भारत सिक्किमकी अर्पणा आचार्यसँग भयो, जसले संगीतमै स्नातकोत्तर गरेकी छिन् । कोच उदय सोताङ्ले उनीहरूलाई उदितनारायण झा र दीपा झाको स्वर रहेको नेपाली चलचित्र 'सम्झना' को चर्चित गीत 'उकालीमा पछिपछि' दिएका थिए । दुवै प्रतिस्पर्धीको प्रस्तुति उत्कृष्ट रह्यो, तर कोच उदयले अर्पणालाई अर्को चरणमा प्रवेश गराए ।
यसपछि, सिद्धान्तले आफ्नो 'भ्वाइस अफ नेपाल' को यात्रा समाप्त भएको ठानेर सबैलाई धन्यवाद दिए । तर, दर्शक र समर्थकका लागि चाखलाग्दो मोड तब आयो जब कोच राजु लामाले उनलाई स्टिल गरे ।
'भ्वाइस अफ नेपाल' मा एक कोचले मात्र एकपटक प्रयोग गर्न पाउने स्टिलको अवसर राजुले सिद्धान्तलाई दिएपछि मञ्चमा खुशीको माहोल छायो । यसले सिद्धान्तको भ्वाइसको यात्रा पुनः जारी रहने सुनिश्चित गर्यो, जसले उनलाई र उनका समर्थकहरूलाई उत्साहित बनायो ।
त्यस्तै, शनिबार नै प्राइम टाइम्स टेलिभिजन एचडीबाट प्रसारित 'सिङ्गिङ स्टार नेपाल' को नवौं एपिसोडमा वीरगञ्जका अर्का प्रतिभावान गायक सुमित श्रीवास्तवले तारिफै तारिफ बटुले । उत्कृष्ट १५ भित्र स्थान बनाएका सुमितले भोजपुरी छठ गीत 'उगी हे दिनानाथ' प्रस्तुत गरे, जुन कल्पना पट्वारीको ओरिजिनल गीत हो ।
करिब ७ वर्ष अघि राखिएको यस गीतलाई १९ मिलियन भन्दा धेरैले हेरेका छन् । भोजपुरी प्रतिष्ठान वीरगञ्जकी अध्यक्ष अनिता साहका अनुसार सम्भवतः पहिलो पटक नेपाली गायन रियालिटी शोमा भोजपुरी छठ गीत गाइएको हो, जसले भोजपुरी भाषा र संस्कृतिको गरिमा अझ बढाएको छ ।
सुमितको सशक्त प्रस्तुतिले निर्णायकहरू अर्जुन पोखरेल, तृशला गुरुङ, सनुप पौडेल मात्र नभई अतिथि गायक राजेशपायल राईलाई समेत प्रभावित पार्न सफल भयो । निर्णायकहरूले तराई-मधेशले राम्रो सम्भावना बोकेको प्रतिभाशाली गायक पाएको भन्दै प्रशंसा गरे । साथै, सुमितले टेलिभिजनमार्फत नै निर्णायक तथा गायकहरूलाई छठ पर्वको अवसरमा वीरगञ्ज दर्शन गर्न निम्तोसमेत दिए ।
तर, प्रतियोगितामा अघि बढ्नका लागि सुमितको प्रस्तुति मात्र पर्याप्त हुने छैन । उनलाई दर्शक तथा समर्थकहरूको भरपूर भोटको खाँचो छ । भोटिङ् आइतबार राति १० बजेबाट सुरु भई बुधबार राति १२ बजेसम्म खुला रहनेछ । समर्थकहरूले उनलाई अत्यधिक भोट दिएर अगाडि बढ्न सहयोग गर्न आग्रह गरिएको छ ।