×

वीरगञ्ज । कार्यालयमै सेवाग्राहीमाथि हातपात गरेको भिडियो सार्वजनिक भएपछि यातायात व्यवस्था कार्यालय बाराका निमित्त प्रमुख चिन्तन आचार्यको जिम्मेवारी खोसिएको छ ।

मधेस प्रदेशको श्रम तथा यातायात मन्त्रालयले मन्त्री स्तरीय निर्णयमार्फत उनलाई जिम्मेवारीबाट हटाएर मन्त्रालयमा तानेको हो ।

मन्त्रालयका सूचना अधिकारी सुनिल साहका अनुसार सोमबार नै निर्णय गर्दै आचार्यलाई मन्त्रालयमा हाजिर गराइएको हो । उनको स्थानमा कार्यालयका अधिकृत रामस्वार्थ महतोलाई पठाइएको छ ।

घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । धनुषा प्रहरीमार्फत बारा प्रहरीले आचार्यलाई कार्यालयमा बोलाएर घटनाबारे सोधपुछ गरिरहेको बताइएको छ । हालसम्म उनलाई नियन्त्रणमा भने लिइएको छैन ।

घटना गत फागुनको तेस्रो सातातिर भएको बताइएको छ । सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा कार्यालय प्रमुख आचार्यले आफ्नै कार्यकक्षमा एक सेवाग्राहीमाथि आक्रामक व्यवहार गरेको देखिन्छ । भिडियोमा कार्यालयका चौकीदारसहित अन्य कर्मचारी पनि हातपातमा संलग्न देखिन्छन् । घटनास्थलमा ट्राफिक प्रहरीका सई भानुभक्त आचार्यसहित दुई जना प्रहरी उपस्थित रहेका थिए ।

प्रारम्भिक विवरणअनुसार लाइसेन्ससम्बन्धी कामका लागि कार्यालय पुगेका सेवाग्राही अरुण कुशवाहासँग वादविवाद भएपछि विवाद चर्किएको थियो । भिडियोमा सेवाग्राहीले मोबाइल निकालेर दृश्य खिच्न खोजेपछि कर्मचारी आक्रामक बनेको देखिन्छ । एक कर्मचारीले उनलाई धकेल्ने र प्रमुख आचार्यले घाँटी समात्ने दृश्य सार्वजनिक भएको छ । त्यसपछि अन्य कर्मचारीले पनि हातपात गरेका छन् । प्रहरीले छुट्याउने प्रयास गरेको र सेवाग्राहीको मोबाइल खोसिएको दृश्यसमेत भिडियोमा देखिन्छ ।

निमित्त प्रमुख आचार्यले भने भिडियो आंशिक मात्र सार्वजनिक गरिएको दाबी गरेका छन् । उनका अनुसार कुशवाहाले आफू पत्रकार भएको परिचय दिँदै कर्मचारीलाई धाकधम्की र गालीगलौज गरेपछि विवाद बढेको हो । घटनापछि दुवै पक्षबिच मिलापत्र भइसकेको उनले बताएका छन् ।

मधेस प्रदेशको श्रम तथा यातायात मन्त्रालयले घटनालाई गम्भीर रूपमा लिएको जनाएको छ । मन्त्रालयका निमित्त सचिव रञ्जित यादवले सामाजिक सञ्जालमा भिडियो देखेपछि मन्त्रालयमा छलफल भएको र आवश्यक निर्णय प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

घटनापछि सार्वजनिक सेवा प्रवाहमा कर्मचारीको आचरण, सेवाग्राहीको सुरक्षा तथा कार्यालयभित्रको जबाफदेहितामाथि प्रश्न उठेको छ । मन्त्रालय र प्रहरीको अनुसन्धान निष्कर्षपछि थप कारबाही हुने जनाइएको छ ।

Back to top