×

रौतहट । रौतहटको गरुडा नगरपालिकामा अवैध हतियारसहित पक्राउ परेका एक व्यक्तिको बयानका आधारमा प्रहरीले थप गोली, नगद रकम तथा लागुऔषध बरामद गरेको छ।

विशेष सूचनाका आधारमा असार २२ गते राति करिब १० बजे गरुडा नगरपालिका–५ झाँझपुलस्थित गौतम सहनीले सञ्चालन गरेको मदिरा पसलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले छापा मारेको थियो। टोलीमा इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक शंकर प्रसाद आचार्यको कमाण्डमा ५ जना, नेपाल सुरक्षा बेस दुधियाभारबाट सशस्त्र प्रहरी निरीक्षक विश्वजीत खवासको कमाण्डमा ५ जना तथा इलाका प्रहरी कार्यालय शिवनगरबाट प्रहरी वरिष्ठ नायब निरीक्षक लतिफ अन्सारीको कमाण्डमा ३ जना गरी संयुक्त सुरक्षा टोली परिचालन गरिएको थियो।

छापाका क्रममा मदिरा सेवन गरिरहेका गरुडा नगरपालिका–९ बिर्ताका करिब ४२ वर्षीय सदरे आलमको शरीर खानतलासी गर्दा कम्मरमा लुकाएर राखिएको एक राउण्ड गोली लोड भएको कटुवा पेस्तोल फेला परेको प्रहरीले जनाएको छ। त्यसपछि उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय गरुडामा ल्याई थप अनुसन्धान गरिएको थियो।

अनुसन्धानका क्रममा सदरे आलमले मदिरा पसल पछाडिको खेतमा रहेको झ्याङमा थप गोली, नगद रकम तथा अन्य सामग्री लुकाएर राखेको स्वीकार गरेपछि असार २३ गते बिहान ६ बजे पुनः प्रहरी टोली घटनास्थल पुगेको थियो।

खानतलासीका क्रममा उक्त स्थानबाट ४ थान लाइभ राउण्ड, १ थान ब्ल्याङ्क राउण्ड, कालो पर्सभित्र रहेको भारतीय रुपैयाँ २४ हजार ५००, नेपाली रुपैयाँ ३२ हजार ५०० तथा लागुऔषध नाइट्राभेटका २ वटा ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद भएका हतियार, गोली, नगद र लागुऔषधसहित पक्राउ परेका सदरे आलमलाई इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा राखी हतियार तथा खरखजाना, लागुऔषध र अन्य सम्बन्धित कसुरअन्तर्गत थप अनुसन्धान तथा कानुनी कारबाही अघि बढाइएको छ।

सीमा सुरक्षा बल गौर भन्सारका सशस्त्र प्रहरी निरीक्षक दिपक भट्टका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

Back to top