जानकी मन्दिरभन्दा ५९ वर्ष अघि निर्माण भएको पूर्वी धनुषास्थित जनकनन्दनी गाउँपालिकाको खजुरीमा निर्माण भएको लक्ष्मीनारायण मन्दिर ओझेलमा परेको छ ।
भारत, मध्यप्रदेशको प्रसिद्ध खजुराहो शैलीका मूर्तिहरु भएको उक्त खजुराहो मन्दिरको संरक्षण तथा प्रचार प्रसार गरेर विश्वभरिकै पर्यटकलाई आकर्षित गर्न सक्ने सम्भावना छ । जनकनन्दी गाउँपालिकाको खजुरीमा अवस्थित उक्त मन्दिरकै कारण गाउँको नाम खजुरी पर्न गएको संस्कृतिविद्हरुको दाबी छ । खजुरी पूर्वी धनुषाको ऐतिहासिक गाउँ हो । यस गाउँको ख्याती प्याजी र फुटबलको लागि छ । यहाँको सुस्वादु तथा फरक स्वादको प्याजी देश विदेशमा लोकप्रिय छ ।
यस गाउँका अनेकौँ खेलाडी राष्ट्रिय फुटवल टिमबाट खेलिसकेका छन् । तर यस गाउँको विशेष पहिचान हो– लक्ष्मीनारायण मन्दिर । मध्य प्रदेशको खजुराहो मन्दिरमा निर्मित मूर्तिको शैली र लक्ष्मीनारायण मन्दिरमा स्थापित मूर्तिहरुको शैली उस्ता उस्तै छन् । मूर्तिहरुको समानताको कारण साहित्यकार डा. राजेन्द्रप्रसाद विमलले यस मन्दिरलाई ‘नेपालको खजुराहो’को संज्ञा दिएका थिए ।
मध्य प्रदेशस्थित खजुराहो मन्दिरमा वात्सायण लिखित कामशास्त्रमा वर्णित सम्भोग कलाका विभिन्न आशनहरुको चित्र छन् । खजुरीको लक्ष्मीनारायण मन्दिरको चारै प्रखालमा पनि काठमाथि सम्भोग कलाका विभिन्न आशनका कलात्मक चित्रहरु कुँदिएका छन् । लक्ष्मीनाराण मन्दिरको निर्माण काजी स्वरुपसिंह कार्की तथा उनका भाई कीर्तिसिंह कार्कीले विसं १९०८ मा गराएका थिए । निर्माणको हिसाबले यो मन्दिर जनकपुरको जानकी मन्दिरभन्दा ५९ वर्ष पुरानो हो ।
जानकी मन्दिरको निर्माण ११ फरवरी १९११ तद् अनुसार विसं १९६७ साल माघ २८ गते भएको थियो । भारत मध्य प्रदेश टिकमगढ स्थित ओरछा नरेश महाराज प्रतापनारायण सिंह र रानी वृषभानु कुंवरीले सन् १८९४ (विसं १९५२ माघ २८ गते) जानकी मन्दिरको शिलान्यास गरेका थिए । जानकी मन्दिरका १२ औं महन्त रामकृष्ण दासको पालामा विसं १९६७ साल माघ २८ गते उद्घाटन गरिएको थियो ।
मन्दिर निर्माता स्वरुप सिंह कार्की राजा प्रतापसिंह शाहको सेनामा काजी थिए । नेपाल एकीकरण अभियानमा खटिएको बेला नुवाकोटमा उनी वीरगति प्राप्त गरेका थिए । उनको वीरताको उच्चमूल्यांकनगर्दै राजाप्रतापसिंह शाहले उनलाई ९ सय ८१ विघा जग्गाविर्ता दिएकाथिए । हाल कार्की बन्धुका एघारौँ पुस्ता खजुरीमा छन् । लक्ष्मीनारायण मन्दिरमा नरेश्वर, भीमेश्वर र क्षीरेश्वर महादेवका प्रतीमाहरु स्थापित छन् । कालो ढुंगाबाट बनेको दुर्गा र लक्ष्मीनारायणको प्रतीमा पुरातात्विक महत्वका छन् ।
मन्दिर बाहिर धर्मशाला पनि छ । मन्दिरको मुख्य आकर्षण भने लक्ष्मीनारायण मन्दिर पर्खालको चारैतिर निर्मित काम कलाकमूर्तिहरु हुन् । जसमा काठमा सम्भोग कलाका विभिन्न आशनहरु कुँदिएका छन् । आजभन्दा १ सय ७२ वर्ष अघि सुदूर गाउँको मन्दिरमा सम्भोग कलाकामूर्तिहरु निर्माण गरिनु जिज्ञासा र अध्ययनको विषय हो । स्वरुपसिंह कार्कीका वंशज विदुरबहादुर कार्की भन्नुहुन्छ– ‘काम कलाका प्रतीमा बनाउनुको उद्देश्य आमजनतालाई काम कलाको विषयमा जानकारी दिनु तथा सन्तान जन्माउन प्रोत्साहन गर्नु थियो ।’ जनकपुरको राम मन्दिर पछि, पैगोडा शैलीमा निर्माण भएको यस भेगको यो दोश्रो पुरानो मन्दिर हो ।
लक्ष्मीनारायण मन्दिर निर्माण, सदावर्त सञ्चालन एवं कुल देवताको पूजा अर्चनाको लागि कार्कीबन्धुले करिब १०० विघा जग्गा दान दिएर लक्ष्मीनारायण गुठी स्थापना गरेका थिए । गाउँको विद्यालय निर्माणमा पनि यस गुठीले ७ विघा जग्गा, १ सय मन धान तथा १० हजार नगद दिएको थियो । काजी स्वरुपसिंह हजारी साह बौएलाल उच्च माध्यमिक विद्यालय अहिले पनि खजुरीमा सञ्चालित छ । मन्दिरमा स्थापित काठमा कुँदिएका काम कलाका मूर्तिहरु अवैज्ञानिक रंगरोगन तथा रखरखावका कारण मौलिकता गुमाउँदै छन् ।
मठमन्दिर तथा पोखरीहरुको संरक्षण तथा सौन्दर्यीकरणको नाममा मधेश प्रदेश सरकारले विगत एक दशकमा करोडौँ रमक खर्च पनि पुरातात्विक महत्वका यी मन्दिर तथा मूर्तिहरुको संरक्षण हुन सकेको छैन । जनकनन्दनी गाउँपालिकाले मन्दिर सौन्दर्यीकरणको नाममा पटक पटक बजेट विनियोजन गर्दै आए पनि विश्व सम्पदा सूचीमा सूचीकृत हुने हैसियतका १५० वर्ष पुरानो लक्ष्मीनारायण मन्दिर अझै ओझेलमै छ ।