×

वीरगञ्ज । वीरगञ्जस्थित गौतम माद्यामिक विद्यालयका प्रबन्ध निर्देशक सोनम लामा सोध्दै थिए, ‘यहाँ कस–कसलाई खाना पकाउन आउँछ ?’ उनको प्रश्नको जवाफमा कक्षा ८ को सेक्सन ‘बि’ मा सहभागि सबै विद्यार्थीले हात उठाएका थिए । उनीहरुले हात मात्रै उठाएका थिएनन्, पकाएका खानाका विभिन्न स्वादहरुले पनि उनीहरुले आफुलाई प्रमाणित गरेका थिए । 

सोमवार विद्यालयमा कक्षा ८ को बि र डी सेक्सनले आयोजना गरेको सांस्कृतिक खाना महोत्सवमा सहभागीहरु खानाको स्वादको तारिफ गरेर थाकेका थिएनन् । त्यही तारिफ सुनेरै विद्यालयका प्रबन्ध निर्देशक सोनम लामाले भने, ‘खाना पकाउने सीप जो कोहीसँग हुँदैन । तपाईहरुले मीठो पकाउनुभएको छ । खाना पकाउने पेशा पनि अत्यन्तै सम्मानित पेशा हो । तपाईहरु चाहनुहुन्छ भने मजाले यसैमा लाग्न सक्नुहुन्छ । कुकिङ्गलाई नै करियर बनाउन पनि सक्नुहुन्छ ।’ 

कक्षा ८ को ‘बी’ र ‘डी’ समूहले सांस्कृतिक खाना महोत्सवको आयोजना गरेका थिए । जसमा विद्यार्थीहरुले आफै पकाएका विभिन्न परिकारहरु राखेका थिए । फरक फरक समुदायको खानाका परिकार, भेषभुषा र सांस्कृतिक प्रस्तुती उनीहरुले प्रस्तुत गरेका थिए । पहाडी समूदायले बनाएको कोदाको ढिडो खाँदै प्रेस सेन्टर मधेश प्रदेशका नवनिर्वाचित अध्यक्ष निरज पिठाकोटेले धेरैपछि ढिडो खाने मौका मिलेको बताए । पहाडी समूदायका संयोजक रिजन चापागाइँकाअनुसार सेलरोटी, मासु, ढिडोसँगै गुन्द्रुकको र आलुको अचार बनाइएको थियो । 

यस्तै मधेशी र मार्बाडी समुदायमा खाइने मालपुवा, पुरी तरकारी, तरुवा, रसबरी, ठेकुवा, दालबारा, पानीपुरी लगायतका खानेकुरा राखिएको थियो । आफ्नो खानाको परम्परालाई प्रबद्र्धन गर्नका लागि यस कार्यक्रमले सघाउ पुगेको यस समुदायका संयोजक आयुषा झाको बुझाई छ । 

घोङ्गीको स्वादले पेट भरिएपनि मन भने नभरिएको सञ्चारकर्मी अर्जुन चौधरीले प्रतिक्रिया दिए । कक्षा ८ कै ‘डी’ का प्रिन्स चौधरी नेतृत्वको थारु समुदायले बनाएको जस्तो स्वादिष्ट घोङ्गी आफुले यसअघि नखाएको अर्जुनले बताए । घोङ्गीसँगै माछा, हाँसको मासु, थारुको आदिबासी शैलीमै केराको पातमा राखिएको भात र पिठी साँच्चिकै हेर्दा मात्रै सुुन्दर थिएन, खाँदा पनि स्वादिष्ट थियो । 

सोही कक्षाकी आलिया शेख उपस्थित अतिथीहरुलाई बिर्यानीको स्वाद चखाइरहेकी थिइन् । उनकाअनुसार सांस्कृतिक खाना महोत्सवमा ईस्लाम समुदायको बिर्यानीसँगै सेबई, कबाब, सेकुवा लगायतका परिकार राखिएको थियो । 

नेवार समुदायको प्रसिद्ध परिकार हो योमरी । वीरगञ्जमा योमरी खाने दिन भनेको यःमरी पूर्णिमाको दिन मात्रै हो । तर सोमवार गौतम स्कुलमै यमरी खान पाउँदा पत्रकार सन्तोष रन्जितकारलाई काठमाण्डौमा पुगेको आभाष भयो । उनी सुनाउँदै थिए, ‘आज वीरगञ्जमै यमरी खान पाउँदा आफुलाई काठमाण्डौमो पुगेको जस्तै लागिराछ । योमरी साँच्चिकै मीठो छ ।’

नेवारी समुदायकी संयोजक अंशिका सर्राफकाअनुसार योमरी, समयभाजी, बारा, छोइला, सादेको आलु, भटमास, तामाको तरकारी, चिउरा फ्राई लगायतका परिकार बनाइएको थियो । 

कल्चरल फेस्टकी संस्थापक प्रियान्शी सर्राफकाअनुसार सबै किसिमका जातजाती र समुदायका परिकारका बारेमा सचेत बनाउने अभिप्रायले सांस्कृतिक खाना महोत्सवको आयोजना गरिएको हो । यसले विद्यार्थीलाई खाना पकाउने सीपको विकाससँगै विभिन्न समुदायका खाने परिकारका बारेमा पनि ज्ञान हुने उनको भनाई छ । 

समूह ‘बी’ की विद्यार्थी अदिती पिठाकोटेले महोत्सवमा विविध जातजाती र समुदायका खानाका परिकार प्रदर्शन गरिएको बताइन्। विद्यार्थीको रचनात्मकता, सांस्कृतिक विविधता, र पाककला सीपलाई उजागर गर्ने यस महोत्सवले वीरगञ्जका विभिन्न समुदायलाई एकै ठाउँमा ल्याएको छ। स्वाद, परम्परा र सिकाइको अद्भुत संगम झल्किएको यस कार्यक्रम आगामी दिनमा झन् व्यापक हुने अपेक्षा गरिएको छ।

कक्षा ८ को सामाजिक विषयमा भएको अभ्यासलाई व्यवहारिक रुपमा सिकाउनका लागि खाना महोत्सवको आयोजना गरिएको गौतम माद्यामिक विद्यालयका सामाजिक शिक्षा प्रमुख दिनेश क्षेत्रीले बताए । यसअघि कक्षा ८ कै (ए) र (सी) का विद्यार्थीहरूले यो महोत्सव आयोजना गरीसकेका छन् । 

 


 

Back to top