×

नेपाल २०४७ सालपछि घनीभूत रूपमा विदेशीहरूको चलखेलको केन्द्रबिन्दु हुन गयो । गणतन्त्रको आगमनसँगै देश कतै अफगानिस्तानको बाटोतिर लाग्ने त हैन भन्ने त्रास आम बुद्धिजीविमा देखिएकै बेला अहिलेको चुनावी परिणामले र ठगबन्धनको हालिमुहालीले आगोमा घ्यू थपिदिएको छ । यही प्रवृतीले देशलाई कुन दिशामा लिएर जान्छ भनेर यकिन साथ भन्न नसकिएपनि संसद्मा  उल्लेख्य रूपमा युवाहरूको आगमनले पलाएको आशा भने जिवितै छ । 

नेपाली राजनीतिमा बाह्य एजेन्टहरूकै चलखेल तथा प्रभाव छ भन्ने कुरामा कुनै आशंका छैन । मुख्य रूपमा भारतीय एजेन्ट, अमेरिकी एजेन्ट र चिनियाँ एजेन्टको दबाब र प्रभाव नेपालमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा पर्दै आएको छ । तीनैको खिचातानीमा नेपाली राजनीति केन्द्रित छ । उहिले पृथ्वीनारायण शाहले नेपाललाई दुई ढुङ्गाबीचको तरूल भन्थे, तर अहिले यो तीन ढुङ्गाबीचको तरूलझैं भएको छ । 

भारतीय एजेन्टहरू नेपालका उद्योगधन्दा सखाप पारेर भारतलाई खुशी पार्न खोज्छन् । खुशी पार्दा सत्ता हात पर्छ भन्ने मोह छ । अमेरिकन एजेन्टहरू विभिन्न किसिमका द्वन्द्व मच्चाएर अमेरिकी स्वार्थ पूरा गराउन खोज्छन् । नेपालमा क्रिश्चियन धर्म फैलाउन सकियो भने हाम्रो दबदबा रहन्छ भन्ने उनीहरूको ध्येय छ । त्यसै अनुसार नेपाली एजेन्टहरू काम गरिरहेका छन् । चिनियाँ एजेन्टहरू चीनको व्यापार फैलाएर चीनलाई नै धनी बनाउने सुर गर्दैछन् । कुनैको समर्थनमा लाग्दा नेपालको भलो हुने स्थिति देखिन्न । त्यसैले कतैतिर नलाग्ने असंलग्न परराष्ट्र नीति नेपालका निम्ति अनुकूल र हितकर नीति हो । यसैलाई पुर्खाहरूले पनि महत्व दिएका हुन्, तर त्यो अहिले व्यवहारमा चरितार्थ हुन सकिरहेको छैन । देउवा सरकारले रूस–युक्रेन सम्बन्धमा अनायस अमेरिकी प्रभावमा आएर दिएको वक्तव्यले देशको असंलग्न राष्ट्रको छविमा ज्यादै ठूलो क्षति पुग्यो । 

नेपालमा नेता हुने र पार्टी खोल्नेहरुको होडबाजी चलेपनि जननेता बन्न र सशक्त रुपमा पार्टीलाई चलायमान बनाउन भने मरुभूमिमा बगैंचा सजाउनुजत्तिकै कठिन छ । मौलिक नेता कोही हुन खोज्यो भने सिन्कौली (दालचिनी)को बोटझैं त्यसको जरै उखेलेर खाइदिन्छन् । होइन, भारतकै पक्षधर पार्टी खोलियो भने त्यो नचाहने अमेरिका र चीन छन् । चीनकै पक्षधर भएर खोल्दा अमेरिकाले सुइँको पायो भने त्यसको सर्वस्व हरण गरिदिन्छ । यता अमेरिकाको पक्षधर भएर खोले भारत छ । भारतको पक्षधर भएर खोले अमेरिका छ । तिनैका तानातान र हानाहानमा पर्दा नेता र पार्टी कुनै पक्षको कल्याण छैन । 

देशको कल्याण हुने कुरा झन परको कुरा । सही कुरा न भारत, न चीन, न अमेरिका कसैको पक्षधर हुनुमा छैन । सत्ता प्राप्तिको मेसो त बन्ला तर नेपालको हित पटक्कै हुँदैन । नेपालको प्रमुख हित सोचेर पार्टी खोल्नु बेस हो । त्यस्तो पार्टीलाई कसले सहयोग गर्छ ? प्रश्न निकै गम्भीर छ र चुनौतीपूर्ण छ । नेपालमा नेता र पार्टी खोल्नुमा सबभन्दा बढी चासो र चिन्ता भारतलाई छ । किनकि नेपाल तीनतिरबाट भारतसँग सिमाना जोडिएको सानो भौगोलिक आकारको देश हो । नेपालमा जे हुन्छ त्यो तुरून्त भारतलाई थाहा भैहाल्छ । नेपालमा हुने सबै साना–ठूला योजना मलाई सोधेरै गर्नुपर्छ भन्ने भारतीय अडान हेपाहा प्रवृत्तिकै एक नमूना हो । नसोधीकन कुनै काम गरे परिणाम नराम्रो होला भन्ने धम्की हमेशा भइराखेको हुन्छ । नेपालका लागि नेपालीले नै संविधान बनाउनु खुशी र गौरवको कुरा हो । तर मलाई नसोधी संविधान जारी गर्ने भइस् भनेर आक्रोशित हुँदै विगतमा नाकाबन्दी नै गरेको इतिहास साक्षी छ ।

राष्ट्रियता, मौलिकता र आत्मनिर्भरता यी तीन तत्व भारतले नेपालमा देखिसहँदैन । यसको विश्लेषण गर्नतिर नलागौं । त्यसको रेखदेख र परीक्षण गर्न तलबी एजेन्टहरू नै खटिएका हुन्छन् भन्ने सुनिन्छ । अब भन्नुहोस्, यस्तो डरलाग्दो जाली परिस्थितिमा के नेता बन्न र पार्टी खोल्न सम्भव छ ?

शत्रुको पनि शत्रु भएकोले अमेरिका भारतको मित्र हो, किनभने चीन र अमेरिकाबीच वैरभाव छ । यसै पनि विश्वकै महाशक्तिशाली राष्ट्र भएकोले भारत पनि अमेरिकासँग डराउने गर्छ । हाम्रा सामु बाघझैं देखा परे पनि अमेरिकासामु बिरालोझैं देखा पर्छ । चीनको बढ्दो र उर्लंदो शक्ति कमजोर पार्न नेपालमा आफ्नो समर्थक पार्टी चलाउन परेको छ भन्दा त्यसलाई भारतले रोक्ने कुरा आउँदैन । किनभने, भारत र चीनबीच ठूलो शत्रुता छ । भारतको ससाना देश कसैसित राम्रो सम्बन्ध छैन । यस दृष्टिले नेपालमा भारत र अमेरिकाकै समर्थकहरूकै चलखेल बढ्नु स्वाभाविक पनि छ ।

अमेरिका समर्थक रहेको खण्डमा नेपालमा केही भौतिक विकासको सम्भावना छ, किनभने नेपाल विकसित हुनुमा अमेरिकालाई कुनै हानि छैन, अझै लाभ छ । किनभने, अतिशय धनी हुने स्थितिमा कालान्तरमा अमेरिकामैं आएर बसोवास गर्दछन्, तर भारत नेपाललाई गरीबी र अभावमैं धकेलिरहेर परनिर्भरतामैं राखिरहे जे भन्यो त्यही भन्ने स्थिति हुन्छ । यो स्वाभाविक पनि हो । नोकर धनी भयो भने मालिकको सेवा कहाँ गर्छ ? भारतले नेपाललाई भाइको संज्ञा दिएर नोकरझैं व्यवहार गर्न खोजिरहन्छ । यसको विरोधमा जो उत्रिन्छ उसलाई भित्रभित्रै सिध्याइदिन्छ । यस्ता रहस्यमय कुरा सर्वसाधारण नेपाली कसले बुझ्ने ? जीवनभर प्राध्यापन गरी तालु खुइलिएर दाँत फुक्लिसकेको अवस्थामा आएर बल्ल गौतमलाई बुद्धत्व प्राप्त भएझैं ज्ञान प्राप्त भएको छ । सबैलाई ब्युँझाउन र जागृत गर्न धर्म र कर्तव्य नै भएको छ । आफू र आफ्ना सन्तानले अमेरिका, अस्ट्रेलिया, क्यानडा कतै जानु, बुझ्नु छैन । यहीं आफ्नो सर्वस्व भएकोले यसैका निम्ति सङ्घर्ष गर्नु अनिवार्य छ ।

लोकतन्त्रको कति भ्रम र भूलभुलैयामा परेका छौं हामी । भारतीय र अमेरिकन एजेन्टहरूले चलाएको परिपाटीलाई पनि हामी विश्वास गरिरहेका छौं । नगरौं पनि किन, नारा–भाषणमा हाम्रै उत्थानका योजनाहरू फलाकिरहेका छन् । यी सबै हात्तीका देखाउने दाँत हुन् भनेर मान्न किन सकिरहेका छैनौं ? यिनका मनमा पनि हरि होला । आफ्नो धर्म र विश्वास कसरी तोड्लान् र ?  तर होइन आफ्नो दुनो सोझिने, निहित स्वार्थ सिद्ध हुने देखेपछि आफ्नै भाइ घातक बन्दो रहेछ । लेन्डुपजस्ताहरूबाट इतिहासले नै त्यो पाठ सिकाइसकेको छ ।

कसैले दमाहा, कसैले शहनाई त कसैले घण्टी बजाएर हामी देशको नेतृत्व गर्छौं । बाँच्न उनीहरूलाई पनि परेको छ, उपचार उनलाई पनि चाहिएको छ । उनका पनि बालबच्चा छन्, जहान छन्, उनीहरूलाई पनि सुरक्षित रहनुपरेको छ । आफ्नै जीवन र बालबच्चाप्रति कसको मोह र माया हुँदैन । सही मार्गमा चले शत्रुले सिध्याउला भन्ने डर । अर्कैलाई हानि नोक्सानी हुने गरेर कल्ले कल्याणको राजनीति गर्छ ? राजनीतिमा लागिहाले, गणिका–वृत्ति अपनाइहाले तब सती सावित्री बन्न को तयार रहन्छ ? राजनीतिमा लागेर तिनले सुखभोगको कल्पना गर्नु स्वाभाविकै पनि हो । सत्य खोले, रहस्य बुझाउँदै गए, नेपथ्यसँग नाता तोडे आफ्नै भोट घट्छ, आफ्नै सत्ताको सिंढी भत्किन्छ । तसर्थ, आफ्नो प्रतिकूल हुने काम कल्ले गर्छ ? हामी नै बुद्धु रहेछौं, नेता र पार्टीको बाध्यता र विवशता नबुझ्ने । सहीलाई सही भन्न नसक्ने उनीहरूको स्थिति छ भने सही बुझेर पनि हामी किन प्रपञ्चमा फसिरहेका छौं ?

सङ्घीयता र समानुपातिकको यति ठूलो भीडभाडको व्यवस्था हामीलाई चाहिएको हो र ? यसबाट हुने ठूलो खर्च जोगिए यसैको खर्चले कलकारखाना खोल्न सकिंदैनथ्यो र ? पार्टीका कार्यकर्तालाई ठूलै जागीर दिएजस्तो यो हुँदा के, नहुँदा के ? सही विश्लेषण गरेर चल्ने प्रवृत्ति नै नभएपछि नेता र पार्टीको औचित्य नै के रह्यो ? कमाउनसम्म कमाऊ, सकेजति घूस र कमिशन खाऊ, ऐश गर भनेर नै त अरूले थोपरिदिएको व्यवस्था हो यो । हामीले लौ चाहियो भनेर मागेको हो र ? देशहितका निम्ति सच्चा नेता र पार्टी भए यसको प्रतिकार गर्दैनथे त ? यसका अतिरिक्त शिक्षामा पनि व्यापार, स्वास्थ्यमा पनि व्यवसाय, आधारभूत आवश्यकतामाथि पनि यसरी रजाइँ चलिरहेको छ । व्यवस्था नै नबदलिए अवस्था कसरी परिवर्तन हुन्छ ? बेरोजगारीको भीड व्यवस्थापन नगरी विदेशतिरै धकेल्ने, नेपाली भूमि बाँझो राखेर रेमिट्यान्सबाट देश चलाउने नीति कति घातक छ ? भावी पुस्ताले यसको दुष्परिणाम अवश्य बेहोर्नुपर्नेछ ।

हरेक कुरामा अरूकै हस्तक्षेप बेहोर्नु परिरहेको यस मुलुकमा कहीं कसैको प्रभावमा नपरी नेपालकै हित सोचेर पार्टी खोल्छौं, मौलिकरूपमा जन्माउँछौं, हुर्काउँछौं र अघि बढाउँछौं । यसो भनेर चल्नका निम्ति पहिलो र प्रमुख शर्त हो आत्मनिर्भरता । यसको व्यावहारिक दर्शन कुन नेता र पार्टीले बुझाउन खोजिरहेका छन् ? जसले उद्योगधन्दा मास्छन् तिनैलाई महान् मानेर ताली पिटिरहेछौं । युवाहरूसँग ऊर्जा नभएको होइन, ती स्वावलम्बी पनि छन् तर स्वदेशमा होइन विदेशमा । बिचरा स्वदेशमा वातावरण नै नरहेपछि के गरून् ? ती सबै कुराको मेलोमेसो मिलाउँछौं भनेर कुन नेता र पार्टी उठी हामीभित्र विश्वास जगाइरहेका छन् ? बुझ्दै जाँदा कति दिक्क र उराँठलाग्दो स्थिति छ, देशको परिस्थिति !

नेता, चुनाव, पार्टी यी सबै वाहियात भन्न मन मान्दैन, किनकि लोकतन्त्रको मेरुदण्ड आवधिक चुनाव हो । स्वतन्त्रता यसैमा आधारित छ । मनैदेखि मानेर यिनका पछि लागू भने यिनले हामीलाई प्रयोग गर्छन् । आशा गरौं कति, तुषारापात बेहोरियो, नगरौं, भो भनौं अरू विकल्प छैन । आफैं राम्ररी नबुझेको मूढमतिजस्तो लाग्छ ।

ठूला भनाउँदा दलहरूमा न कुनै निष्ठा छ, न कुनै  सिद्धान्त, न कुनै इमानदारिता नै । एउटाले अर्कोलाई कसरी खुइल्याउन सकिन्छ भन्नेबाहेक जनजीविका, प्रगति, देशको गौरव ब्युँताउन कसैलाई चासो र चिन्ता छैन । राजा वीरेन्द्रले त्यसै भनेका रहेन छन्, ‘नेपालका नेताहरूमा देशप्रति कुनै निष्ठा छैन ।’

लेखक वीरगञ्जस्थित ज्ञानदा एकेडमी स्कूलका प्रमुख कार्यकारी अधिकृत एवम् शिक्षाविद् हुन्  प्रकाशित लेख उनको आग्रह पश्चात प्रतीक दैनिक प्रतिकाबाट साभार गरिएको छ ।

Back to top