×

अरुन्धती रोय ।

रतीय सरकारले नागरिकलाई आश्वस्त बनाउन खोजिरहेको छ– मुलुक दुई वैदेशिक शक्तिको निशानामा छ । पहिलो बेलायत र दोस्रो अमेरिका। भारतको आर्थिक समुन्नति पाच्य नभएकाले पूर्व साम्राज्यवादी शक्ति र नवीन विस्तारवादी राष्ट्रले भारतमाथि आक्रमण गरिरहेको भाष्य सरकारले निर्माण गरिरहेछ।

बीबीसीले ‘इन्डिया: द मोदी क्वेइसन’ प्रसारण गरेपछि र अमेरिकाको अनुसन्धान संस्था हिडनवर्गले भारतीय शेयर बजारमा हुने चलखेल बारेको अनुसन्धान सार्वजनिक गरेपछि सरकारले मिडिया प्रयोग गरेर यस्ता भाष्य निर्माण गरिरहेको हो। बीबीसीको वृत्तचित्र र हिडनवर्गको अनुसन्धानले एकसाथ भारतका सर्वोच्च दुई व्यक्तिमाथि प्रहार गरेको छ— पहिलो प्रधानमन्त्री नरेन्द्र मोदी अनि दोस्रो विश्वकै तेस्रो धनीमा सूचीकृत अर्बपति व्यापारी गौतम अडानी।

उनीहरूमाथि असामान्य आरोप लागेको छ। बीबीसीको वृत्तचित्रले मोदीले गुजरातमा सामूहिक हत्याको लागि उक्साएको आरोप लगाउँछ। यता हिडनवर्गको प्रतिवेदनले अडानीले कर्पोरेट इतिहासकै सबैभन्दा ठूलो ठगी गरेको आरोप लगाउँछ।

मोदी र अडानी एक-अर्कालाई दशकदेखि नै चिन्छन्। यी दुई व्यक्ति सन् २००२ मा गुजरातमा भड्किएको दंगापछि नजिकिएका हुन्। गुजरातमा रेलको पटरीमा आगजनी हुँदा ५९ जना हिन्दु धर्मावलम्बी जलेका थिए। यो घटनाको केही महिना अघि मात्रै मोदी गुजरातको मुख्यमन्त्री बनेका थिए। बदला लिनका लागि हिन्दुहरूले मुस्लिम माथि गरेको अत्याचारले भारत नै आतंकित बनेको थियो। भारतीय उद्योग परिसंघका केही सदस्यले मोदीको सार्वजनिक रूपमै आलोचना गरे। यही मौका छोपेर गुजरात पुनरूत्थान समूहका नाममा केही उद्योगी जम्मा गरेर गौतम अडानी गुजरात छिरे। मोदी विरुद्धका आलोचना खण्डन गर्दै उनीहरूले मोदीलाई हिन्दु हृदय सम्राटका रूपमा प्रचार गर्न थाले।

सन् २००३ मा त्यही समूहले गुजरातमा भाइब्रेन्ट गुजरात नामक सम्मेलन गर्यो। गुजरात विकास मोडल त्यहींबाट जन्मिएको थियो। खासमा त्यो सम्मेलनमा कर्पोरेट सौजन्यमा एक हिंस्रक हिन्दु राष्ट्रवादको प्रचार भएको थियो।

गुजरातमा तीनपटक मुख्यमन्त्री भएपछि सन् २०१४ मा मोदी मुलुककै प्रधानमन्त्री बने। आफ्नो शपथ ग्रहणका लागि उनी अडानीको प्राइभेट जेटमा गएका थिए। मोदीको नौ वर्षको अवधिमा अडानीको सम्पत्ति  ८ अर्बबाट बढेर १३७ अर्ब अमेरिकी डलर पुग्यो। सन् २०२२ मा मात्रै उनको सम्पत्ति ७२ अर्ब डलरले थपियो। यो रकम विश्वका नौ धनाढ्यको एक वर्षको आर्जन भन्दा बढी हो।

अडानी ग्रुपले अहिले अधिकांश बन्दरगाह आफ्नो बनाएको छ। भारतको ३० प्रतिशत ढुवानी उसैले लिएको बन्दरगाहबाट हुन्छ भने अडानी ग्रुपको व्यवस्थापन रहेको भारतीय सात विमानस्थलले २३ प्रतिशत यात्रु ओसार्छ। यस्तै भारतको ३० प्रतिशत अनाज अडानीकै कम्पनीले भण्डारण गर्छ। यस्तै भारतमा ठूला उर्जा कम्पनी अडानीकै छन्। विकासको गुजरात मोडललाई राष्ट्रियस्तरमा पनि दोहोर्‍याइएको छ।

पहिले मोदीले अडानीको जहाजमा शयर गरे। अहिले अडानी मोदीको जहाजमा शयर गर्दैछन्। अहिले दुवैको विमानको इन्जिनमा समस्या छ। के उनीहरू भारतीय तिरंगा बेरेर त्यहाँबाट बाहिरिएलान् त भन्ने आजको प्रश्न हो।

बीबीसीको वृत्तचित्रले गुजरात नरसंहारलाई मात्रै होइन त्यसका पीडितहरूको दुई दशकको कष्टकर यात्रालाई समेटेको छ। उनीहरूले अझै पनि राजनीतिक उत्तरदायित्व र न्यायमा आशा कायमै राखेको देखाइएको छ। गुजरात दंगाका प्रत्यक्षदर्शी इमतियाज पठानलाई त्यहाँ देखाइएको छ। इमतियाजले त्यस दंगामा परिवारका १० सदस्य गुमाएका थिए।

पठानले दंगा हुँदा आफूहरू कंग्रेसका सांसद एहसान जाफरीको घरमा लुकेको बताएका छन्। सांसद जाफ्रीले सहयोगका लागि मोदीलाई समेत फोन गरेको उनले सुनाए। तर सहयोग प्राप्त नहुने देखेपछि जाफ्री स्वयं भीडलाई मनाउने उद्देश्यसहित सडकमा निस्किएका थिए। त्यस भीडले जाफ्रीको क्रूरतापूर्वक हत्या गर्‍यो। उनको शरीर टुक्रा-टुक्रा पारिदियो र त्यो नरसंहारलाई घण्टौंसम्म जारी राख्यो।

यो मुद्दा अदालतमा समेत पुगेको थियो। प्रत्यक्षदर्शीहरूले सहयोगको लागि फोन गरेको बयान दिए पनि अदालतले त्यस तथ्यलाई स्वीकार गरेन। यो मुद्दा थाती रह्यो। यो वृत्तचित्रले भारतीय जनता पार्टी नेतृत्वको सरकारको अपमान भए पनि घटनाबारे उसको दृष्टिकोण बताएको छ। यस्तै, जाफ्री हत्यामा षडयन्त्र रहेको भन्दै उनकी श्रीमतीले भारतको सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्। तर त्यसलाई सर्वोच्च अदालतले प्रक्रियाको अपमान भन्दै खारेज मात्रै गरेन यसमा सजाय हुनसक्ने फैसला सुनायो। यसलाई पनि बीबीसीले समेटेको छ। मोदीका समर्थकले यस फैसलालाई उनी निर्दोष रहेको रूपमा बुझ्दै उत्सव मनाए।

वृत्तचित्रमा अहिलेका गृहमन्त्री अमित शाहलाई पनि समेटेको छ। अमित शाह यस्ता पात्र हुन् जसले मोदीलाई भगवान शिवसँग तुलना गर्छन्। गुजरात दंगाको विषलाई मोदीले १९ वर्षसम्म आफ्नो घाँटीमा राखेको उनको भनाइ थियो। सर्वोच्च अदालतको फैसलापछि उनले भनेका थिए- ‘सत्यता सुनझैं चमकदार बनेर आएको छ।’

बीबीसीको वृत्तचित्रमा मोदी सरकारले आपत्ति जनाएको एउटा मात्रै विषय छ। त्यो विषय हो, बेलायतको विदेश मन्त्रालयको आन्तरिक प्रतिवेदन। त्यस प्रतिवेदनमा गुजरात दंगामा कम्तीमा दुई हजार जनाको हत्या भएको उल्लेख छ। यति मात्रै होइन, गुजरात नरसंहारलाई जातीय सफायाको संज्ञा दिइएको छ। वृत्तचित्रका अनुसार भरपर्दो सूचना स्रोतले नरसंहारमा सुरक्षा संयन्त्रलाई निष्क्रिय बनाइएको थियो। त्यसको सम्पूर्ण दोष मोदीमाथि थोपरिएको छ। वृत्तचित्रको दाबीलाई पुष्टि गर्नका निम्ति एक पूर्व कूटनीतिज्ञलाई उभ्याइएको छ। क्यामेरा अघि पिठ्युँ फर्काएर बेनामे तरिकाले उभिएकाले सन्देह भने राख्न सकिन्छ।

बीबीसीको वृत्तचित्रको दोस्रो भाग धेरै कमले हेरे पनि त्यो निकै डरलाग्दो छ। दोस्रो भाग मोदीको प्रधानमन्त्री कालमा भारतमा बढ्दै गएको विभाजन देखाइएको छ। भारतीयहरूका लागि तरबार बोकेको भीड, गेरुबस्त्रधारीले मच्चाउने आतंक र हिन्दुहरूले मुस्लिममाथि गर्ने दुर्व्यवहार दैनिक जीवनको अंग झैं बनेको छ। यस्ता घटनालाई प्रश्रय दिनेहरूलाई दण्डित गर्नुभन्दा उल्टो सम्मान नै गरिन्छ। जस्तो कि गुजरात नरसंहारका दोषी मोदीलाई मन्त्रिपरिषद्का सदस्यले सर्वोच्चको फैसलापछि माला लगाएर सम्मान गरे।

मोदीमाथि आधारित बीबीसीको वृत्तचित्र बेलायती दर्शकलाई  बेलायतमा मात्रै देखाउने अभिप्रायले बनाइएको थियो। तर यसको लिंक युट्युब र ट्वीटरमा पनि राखिएपछि हलचल मच्चियो। भारतमा विद्यार्थीलाई त्यो वृत्तचित्र हेर्न प्रतिबन्ध लगाइयो। केही विश्वविद्यालयले प्रदर्शनको तयारी गर्दा त्यहाँ बिजुली काटियो। कहीं प्रहरी परिचालन गरेर दंगा भड्काइयो। सरकारले युट्युब र र ट्वीटरलाई लिंक हटाउन निर्देशन दियो। आफूलाई अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्ने संस्था भनिएकाहरू पनि आदेश पालनाका निम्ति बाध्य भए। केही मेरा मुस्लिम साथीहरू भन्दै थिए- ‘मोदी आखिर किन तर्सिएका ? गुजरात नरसंहारले त उनलाई सधैं फाइदा नै पुगेको छ। र, यो वर्ष त अझ चुनाव पनि आउँदैछ।’

अब चर्चा गरौं दोस्रो व्यक्तिमाथिको आक्रमणबारे। हिडनवर्गको ४०० पृष्ठको प्रतिवेदन पनि बीबीसीको वृत्तचित्र सार्वजनिक भएकै दिन बाहिरिएको थियो। त्यस प्रतिवेदनले अडानीलाई पूँजीबजारमा व्यापक चलखेल गरेको आरोप लगाएको छ। कृत्रिम रूपमा कम्पनीको मूल्यांकन बढाउने काम गरेको आरोप उनीमाथि छ। हिडनवर्गको प्रतिवेदन अनुसार अडानीका सात कम्पनीको मूल्य ८५ प्रतिशतले अत्यधिक मूल्यांकन गरिएको छ। यही मूल्यांकनको आधारमा उनले वित्तीय संस्थासँग अर्बौं लिएका छन्। भारतीय जनताले जीवनभर आर्जेर जम्मा गरेको निक्षेप राख्ने स्टेट बैंक अफ इण्डिया र लाइफ इन्सुरेन्स कर्पोरेसन अफ इण्डियाबाट रकम लिएका छन्।

अडानी ग्रुपले हिडनवर्गको ४१३ पृष्ठ लामो प्रतिवेदनलाई  झूटो भनेको छ। आफूमाथि लागेका अभियोगमाथि भारतीय अदालतले समेत सफाइ दिएकाले हिडनवर्ग प्रतिवेदनका आरोप कपोलकल्पित र भ्रामक रहेको भन्दै अडानी समूहले आफ्नो बचाउ गरेको छ। प्रतिवेदन अडानी समूहमाथि मात्रै नभएर समग्र भारतमाथिको आक्रमण रहेको उसको भनाइ छ। अडानी समूहको स्पष्टीकरणलाई लगानीकर्ताहरूले पत्याएका छन्। हिडनवर्गको विश्लेषण अनुसार अडानी ग्रुपले ११० अर्ब डलरको लगानी गुमाएको छ। क्रेडिट स्वीस, स्ट्याण्डर्ड चार्टर्ड र सिटीग्रुपले अडानी समूहको धरौटी लिन अस्वीकार गरेका छन् यस्तै फ्रान्सेली टोटल इनर्जीले पनि अडानी समूहसँगको ४ अर्ब डलर लगानीको सम्झौतालाई स्थगित गरेको छ। बंगलादेश सरकारले पनि बारम्बार उर्जा खरिद सम्झौतामा पुनरावलोकनको माग अघि सारिरहेको छ। यता अडानी समूह संलग्न रहेको बेलायतको इलारा क्यापिटलबाट बेलायत सरकारका पूर्वप्रधानमन्त्री बोरिस जोन्सनका भाइ जो जोन्सनले राजीनामा दिएका छन्। जो बेलायतका पूर्व मन्त्री समेत हुन्।

हिडनवर्गको प्रतिवेदनमा आधारित रहेर अडानी समूहमाथि संसदीय छानबिन गर्नुपर्ने आवाज विपक्षी दलहरूले जोडदार रूपमा उठाइरहेका छन्। सरकारले त्यस आवाजलाई सुनिरहेको छैन। संसदको बजेट सत्रमा प्रतिपक्षी दुई दल भारतीय राष्ट्रिय कंग्रेसका राहुल गान्धी र त्रिणमूल कंग्रेसकी महुआ मोइत्राले यो विषय हिडनवर्गको प्रतिवेदनअघि नै उठाएका थिए। मोइत्राले संसदमा प्रश्न गरेकी थिइन्- गृह मन्त्रालयले अडानी ग्रुपलाई विमानस्थल तथा बन्दरगाह व्यवस्थापनको जिम्मेवारी कुन मापदण्ड पालना गरेर दियो ?

दोस्रो प्रश्न थियो- अडानीले कुन कानुन पालना गरेर ५ अर्ब डलर बराबरको रकम एउटै मुलुकबाट वैदेशिक लगानीका रूपमा भित्र्यायो ?

मोइत्राले संसदमा सरकारप्रति तेस्रो प्रश्न तेर्स्याइन्- कुन आधारमा सरकारले सार्वजनिक संस्थाको रकम अडानी समूहका लागि मात्रै उपलब्ध गरायो ?

त्यसपछि बोलेका राहुल गान्धीले मोदीलाई सोधे- इजरायल, अष्ट्रेलिया बंगलादेश कुन कुन मुलुकमा पुगेर अडानीलाई ठेक्का दिलाइयो?

राहुल गान्धीले संसदमा इजरायलबाट रक्षा सामग्री भित्र्याउने ठेक्का सरकारले अडानीलाई दिलाएको दाबी गरे। अष्ट्रेलियाको कोइलाखानीमा लगानीका लागि स्टेट बैंक अफ इण्डियाको रकम  दिलाएको जिकिर मात्रै गरेनन्, बंगलादेशमा १५ सय मेगावाट परियोजनाको जिम्मेवारी पनि उनलाई दिलाएको दाबी गरे। अन्तिममा राहुलले मोदीलाई सोधे- प्रधानमन्त्री मोदी यत्तिका ठेक्का अडानी समूहलाई दिएपछि चुनावी अभियानका लागि त्यस समूहसँग कति पैसा लिनुभयो ?

राहुलको प्रश्नको जग बलियो र जायज छ। सन् २०१६ मा भाजपाले राजनीतिक दललाई कर्पोरेट समूहले पहिचान नखुलाई सहयोग गर्न सक्ने कानुन ल्याएको थियो। गौतम अडानी विश्वकै धनी मान्छे हुन्। यो कुरा पनि हेक्का राख्नुपर्ने हुन्छ कि उनले समर्थन र सहयोग गर्ने भाजपा पनि विश्वकै धनी पार्टी हो। के अडानी र भाजपाको एउटै खाता हो वा उनीहरूको फरक खाता छ यक्षप्रश्न यो हो ?

संसदमा मोइत्राका प्रश्नको वास्ता गरिएन। राहुलका प्रश्न त संसदीय रेकर्डबाटै हटाइए। मोदीले त्यस दिन संसदमा डेढ घण्टा भाषण दिए। त्यस भाषणमा उनले आफू गौरवशाली भारतीय रहेको सुनाए। मोदीले यस्ता भारतीय जनसंख्याको यस्तो कवच लगाएका छन् कि उनलाई विपक्षीका यस्ता वाणले कुनै असर गर्दैन। संसदमा उनका प्रत्येक वाक्यमा पार्टीका सांसदहरूले गडगडाहड ताली पिट्थे। उनलाई अझै उत्तेजित बनाउनका निम्ति मोदी! मोदी!! मोदी!!! भन्दै हुटिङ गर्थे।

मोदीले संसदमा भनेका थिए कमलमा जति हिलो छ्यापे पनि कमल सुन्दर तरिकाले फक्रिनेछ। कमल भाजपाको चुनाव चिन्ह हो। आफ्नो सम्बोधनमा उनले अडानीबारे एक शब्द बोलेनन्। सायद उनले सोचे होलान् अडानीको मामिलाबारे उनका मतदाताले कुनै मतलब राख्दैनन्। अशिक्षित र बेरोजगार मतदाताले १०० अर्ब डलर अपचलनको कुरा बुझ्न सक्दैनन्।

अधिकांश भारतीय मिडियाले मोदीको भाषणलाई वाहवाही रूपमा प्रस्तुत गरे। संयोग नै भन्नुपर्छ त्यसै दिन राष्ट्रिय तथा क्षेत्रीय अखबारहरूमा मोदीको पूर्ण कदको तस्विरको ज्याकेट विज्ञापन थियो। त्यसमा लेखिएको थियो– मोदीले लगानी सम्मेलन गर्दैछन् के मोदीको अर्को थलो उत्तरप्रदेश त हुँदै छैन?

फेब्रुअरी १४ मा गृहमन्त्री शाह अडानीको विषयमा बोले। उनले अडानीका विषयलाई लिएर भाजपामाथि लागेको आरोपबाट आफूहरू नडराउने बताए। तर उनले संसदीय छानबिन समिति गठनबारे केही बोलेनन्। प्रतिपक्षी दललाई बरू अदालत गएर मुद्दा हाल्न सुझाए। उनले यसो भनिरहँदा दिल्लीमा कर कार्यालयले कर्पोरेट संस्थाहरूमाथि अनुगमन गरिरहेको थियो। तर अडानीको कार्यालयमा भने कोही  पनि पुगेनन्।

फेब्रुअरी १५ मा समाचार चक्र नै बदलियो। पुरातन साम्राज्यवादी र नवीन विस्तारवादी मुलुकको आक्रमणका भाष्य निर्माण गरिरहेका मिडिया एकाएक परिवर्तन भए। उनीहरूले मोदीले अमेरिकी राष्ट्रपति जो बाइडेन, फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रोनसँग फलदायी वार्ता गरेको समाचार बनाए।  संवादपछि भारतले फो सेभेन्टी बोइङ खरिद गर्न सहमति जनाएको समाचार आए। बाइडेनले यो सम्झौताले लाखौँ अमेरिकीको जागिरलाई सहयोग पुग्ने बताए। बोइङको इन्जिन रोल्स रोयस इन्जिनमा सञ्चालित हुने घोषणा गरे। हवाई इलाकामा सफलता हासिल गरिरहेको बेलायती प्रधानमन्त्री ऋषि सुनकले भने- आकाश नै अधिकतम सीमा हो।

कमल अहिले रगतको आहाल र पैसामा फक्रिरहेछ। र, निसन्देह सत्य एक दिन सुनझैँ चमकदार बनेर छाउनेछ।

द गार्डियनबाट

Back to top