×

वीरगञ्ज । वर्तमान परिवेशमा हामी स्वतन्त्रता र स्वावलम्बनको कुरा गर्छाैँ । स्वतन्त्रता र स्वावलम्बन बिना लोकतन्त्रको पनि परिकल्पना गर्न सकिदैन । अहिले हामी कृत्रिम बौद्धिकता (जेमिनाई) को युगबाट गुज्रिरहेका छौँ । तर विश्वका केही देशहरु आज पनि अभाव, भोकमरी, गरिबी, युद्धको त्रासदी जस्ता समस्याहरुसँग जुधिरहेका छन् । हुन त हाम्रो देश पनि यि समस्याबाट अछुत हुन भने सकेको छैन ।

रसिया – युक्रेन र इजराएल – हमासको युद्धले संसारका धेरै मुलुकहरुलाई  आर्थिक रुपले जर्जर बनाएको कुरालाई हामीले नकार्न सक्दैनौ । पुरै देश नै आर्थिक रुपमा कमजोर भएको अवस्थामा पितृसत्ता र पुरुषप्रधान दृष्टिकोणले जकडिएको हाम्रो समाजमा महिला अझै पछाडी पर्नु स्वभाविक हो । तर महिलाको आर्थिक अवस्था र त्यसलाई सबल बनाउनुपर्ने विषयमा यो लेख सम्बन्धीत छ । 

महिलाहरूको आर्थिक स्वतन्त्रता  समाजमा महत्वपूर्ण हुन्छ । यसले महिलाहरूलाई समृद्धि, स्वावलम्बन र समाजको उन्नती र उन्नयनमा महत्वपूर्ण भूमिका खेल्छ । आर्थिक स्वतन्त्रताको अभावले महिलाहरूलाई नियन्त्रणति अवस्थामा राख्छ र उनीहरूको समृद्धि र अधिकारमा अवरोध सृजना गर्दछ । आर्थिक स्वतन्त्रताको अभावमा उनीहरुको मनोबल सधैं कमजोर हुन्छ । आफ्नो भावना, इच्छा र अभिलाषाहरुलाई मनमै दबाएर राख्न उनीहरु बाध्य हुन्छन् । हाम्रो देशमा एकाध बाहेक अधिकांश महिलाले आर्थिक स्वतन्त्रा प्राप्त गर्न सकेका छैनन् । 

आर्थिक स्वतन्त्रताले महिलाहरूलाई स्वतन्त्रता र आत्मविश्वास प्रदान गर्दछ जसले उनीहरूलाई अन्याय, अत्याचार,  शोषणको विरुद्धमा आवाज उठाउन ठुलो टेवा दिन्छ । माहिलाले आफ्नो आवाज दमित पार्नु पर्ने एउटै कारण वित्तिय रुपले उनीहरु कमजोर हुनु हो । आर्थिक स्वतन्त्रताले मनोबल उच्च बनाउनुका साथै आत्मनिर्भर र आत्मविश्वासी बनाउँछ । पुरा परिवारको आर्थिक– सामाजिक पाटोलाई प्रोत्साहन नगर्ने त कुरै भएन । 

महिलाहरूको आर्थिक स्वतन्त्रताले पारिवारिक राजनीतिक तथा सामाजिक भूमिकामा पनि सकारात्मक परिणाम प्रदान गर्दछ । यसले समाजमा समानताको स्थापनामा पनि सघाउ पुग्छ । 

परिवारिक आर्थिक सहायताः 
महिलाहरू परिवारको एक महत्वपूर्ण सदस्य हुन् । उनीहरूको आर्थिक स्वतन्त्रताले  परिवारमा आवश्यक सहायता प्रदान गर्न सक्छ, जो परिवारको आर्थिक सुरक्षा र समृद्धिको लागि महत्वपूर्ण हुन्छ । 

स्वास्थ्य र शिक्षा : महिलाहरूले आर्थिक स्वतन्त्रता प्राप्त गरेमा आफ्नो परिवारको स्वास्थ्य र शिक्षामा आफ्नो योगदान दिन सक्छन् जसले परिवारको उन्नती र प्रगतीमा ठुलो टेवा पुग्छ । जब अभिभावक आर्थिक रुपले सम्पन्न हुन्छन् तब बालबच्चाको पालनपोषणमा कुनै समस्या आइपर्दैन । 

विकास र समृद्धि : महिलाहरूले आर्थिक स्वतन्त्रता प्राप्त गर्दा, उनीहरूले आफ्नो व्यक्तिगत र पेशागत  विकास गर्न सक्छन् । यसले समाजमा नयाँ विचार र समृद्धिको प्रस्फोटन हुन्छ । 

आर्थिक  असमानताको  कमी : महिलाहरूको आर्थिक स्वतन्त्रताले समाजमा व्याप्त  आर्थिक असमानतालाई कम गर्दछ । पछिल्लो केही समयदेखी  नेपाली समाजमा रूपान्तरण र प्रविधिको  प्रगतीले  अहिले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । महिलाहरूको आर्थिक स्वतन्त्रता र प्रविधिको  प्रगतीले नेपाली समाजमा निम्नलिखित ढाँचा बदलिरहेका छन् । 

डिजिटल वित्तीय सेवाहरूको पहुँच : प्रविधिले मारेको फड्कोले महिलाहरूलाई बैंकिङ, खुला लेनदेन र अन्य आर्थिक सेवाहरूमा आवश्यक पहुँच प्रदान गरेको छ । यसले महिलाहरूलाई  आफ्नो कमाइको व्यवस्थापन  र व्यय गर्न सक्ने आवश्यकता पूरा गर्न सहायक हुन्छ ।

अनलाइन व्यवसाय र रोजगार : प्रविधिको  प्रगतीले महिलाहरूलाई अनलाइन व्यवसाय र रोजगारका नयाँ अवसरहरूमा पहुँच प्रदान गर्न थालेको छ ।  यसले उनीहरूलाई आफ्नो समय र स्थानको निर्दिष्टीकरण गर्न सक्ने मार्गचित्र  प्रदान गर्दछ ।

अनलाइन शिक्षा : प्रविधिको विकासले अनलाइन शिक्षामा महिलाहरूको पहुँचलाई बढाएको छ । यसले उनीहरूलाई आफ्नो पढाइको समय र स्थानमा निर्दिष्ट गर्न सक्ने सुविधा प्रदान गरेको छ ।

सोशल मिडिया र नेटवर्किङ : सोशल मिडिया र नेटवर्किङले महिलाहरूलाई व्यापारिक, सामाजिक, र आर्थिक जगतमा अधिक सक्रिय बनाउन थालेको छ । यसले उनीहरूलाई आफ्नो पेशा विकास र नेटवर्किङको सहज पहँुच  प्राप्त गर्न सक्ने सुविधा प्रदान गर्दछ । तर प्रश्न के रह्यो भने शहरका केही एकाध परिवारका महिलाहरु मात्रको शशक्तिकरणले आर्थीक स्वतन्त्रताको सवाललाई पक्कै पनि सम्बोधन गर्न सक्दैन ।  दुरदराजका महिलाहरुको अवस्था आज पनी जस्ताको तस्तै छ (केही अपवाद छाडेर) ।

यसको महत्वलाई बढावा दिँदै शिक्षित र विवेकशिल महिलाहरुको जनघनत्वलाई प्रश्रय दिदै मुलुकमा महिलाको आर्थिक स्वतन्त्राको भाष्य निर्माण गर्नु अहिलेको डिजिटलाईज्ड विश्वको अपरिहार्यता हो ।
 

Back to top