×

१ 
एउटा इतिहास केर्ने सपना हाम्रो पनि छ 
देशको मुहार फेर्ने सपना हाम्रो पनि छ । 
सुखी नेपाली, समृद्ध नेपालको नारा साकार पारी
सुन्दर नेपाल हेर्ने सपना हाम्रो पनि छ ।।


जब सरकारको नेतृत्वकर्ता अशक्त लाग्छ
मलाई देशको अवस्था देखेर विरक्त लाग्छ ।
भोलिका भविष्य भनिने युवाहरूको जमात
उनै नेताहरूको चाकडी गर्ने अन्धभक्त लाग्छ ।।


खोज्दा रहेछन् सबैले धन कलियुगमा
कति कठोर मान्छेका मन कलियुगमा ।
सोझासिधा मान्छेको जमानै रहेन अब
जति सह्यो उति धेरै हेप्छन् कलियुगमा ।।


आत्मबल बढाऊ नडराऊ बलवान् बनेर
नजिकिएकाहरू टाढिँदै छन् अन्जान बनेर ।
आफन्त नै नजिकिन डराइरहेका बेला
अन्जान व्यक्ति बचाउन आउँछन् भगवान् बनेर ।।


झर्दा मेरा आँखाका आँसु पुछ्न छाडेकी छ्यौ
अनि आँसुका धारासँगै रुझ्न छाडेकी छ्यौ ।
मेरो अवस्था र भावना बुझ्ने तिमी छ्यौ जस्तो लाग्थ्यो
तर अचेल तिमीले पनि मलाई बुझ्न छाडेकी छ्यौ ।।


किन अचेल टाढा-टाढा बन्न थालेकी छ
आफ्नै रूखको जरा आफैँ खन्न थालेकी छ ।
जो आफैँ परिवर्तन र परिस्कृत भाकी छ उसैले
तपाईँ पहिलाजस्तो रहनुभएन भन्न थालेकी छ ।।


सम्झनाले शरीरमा बल हुँदैन कुनै
याद आउने समस्याको हल हुँदैन कुनै ।
बरु आफुले आफैँलाई बिर्सिदिन सक्छु
तर तिमीलाई नसम्झेको पल हुँदैन कुनै ।।


विगाहा जमिन करोडौँ धन हुनुपर्ने रहेछ
बलिया जन ठुल्ठुला भवन हुनुपर्ने रहेछ ।
यहाँ प्रतिभा र इमानदारिताको कदर गरिँदैन
परिस्थितिअनुसार परिवर्तन हुनुपर्ने रहेछ ।।


अन्याय अनि अत्याचार किन गर्छाै
जातियताकै नाममा काटमार किन गर्छाै ।
कुकुर चुलोकै छेउमा अनि मान्छे ढोकाबाहिर
पशुभन्दा पनि तल्लो व्यवहार किन गर्छाै ।।

१०
मातृभूमि र मातापितालाई रुवाउन बाध्य छन्
विदेशीहरूको शृङ्गार बनेर सुहाउन बाध्य छन् ।
स्वदेशमै युवाहरूलाई रोजगार दिन नसक्दा
पराई भूमिमा पसिना चुहाउन बाध्य छन् ।।

बाँफीकोट ३ रुकुम पश्चिम
हाल वीरगन्ज

Back to top