×

वीरगञ्ज । बङ्गलादेशमा चिकित्सा शास्त्र अध्ययन गरिरहेका एक जना नेपाली पुरुषसँग ६ वर्षसँगै बसेकी एक जना बङ्गलादेशी महिला अहिले ती पुरुषलाई पति भन्दै वीरगञ्जमा खोज्न आइपुगेकी छन् ।

बारा जिल्ला कलैया उपमहानगरपालिका–२० हाल वीरगञ्ज महानगरपालिका–३ छपकैया निवासी नारायणी अस्पतालको बिमा शाखामा दैनिक ज्यालादारीमा कार्यरत डा. जफर इमामलाई बङ्गलादेशी महिलाले पति दाबी गरेकी हुन् । महिला वीरगञ्ज आएको थाहा पाएर डा. इमाम सम्पर्कविहीन भएका छन् ।

डा. इमाम बङ्गलादेशमा चिकित्सा शास्त्र पढ्दा आफूसँग एक वर्ष प्रेममा रही सन् २०१८ मा बिहे गरीसँगै बसेको महिलाको दाबी छ । डा. इमामकी पत्नी भएको दाबी गर्ने फतेमा तुजेहरले आफूले डा. इमामसँग मुस्लिम धर्म अनुसार बिहे गरेको र सोको प्रमाण जिल्ला प्रहरी कार्यालय, पर्सामा दिएको बताएकी छन् ।

इमाम इनम मेडिकल कलेज एन्ड हस्पिटल, बङ्गलादेशमा अध्ययनरत थिए भने फतेमा अज्जाज निजानु रहमान कृषि कलेजमा बिएससीएजी अध्ययन गरिरहेकी थिइन् ।

फतेमाका अनुसार सन् २०१७ मा इमामसँग त्यहाँको एक सार्वजनिक बसमा भेटघाट भएको थियो । यात्रा गर्ने क्रममा इमामले आफ्नो मोबाइल बन्द भएको भन्दै फतेमाको मोबाइल प्रयोग गरी आफ्नो साथीसँग कुरा गरेका थिए । त्यसपछि इमाम र फतेमा निरन्तर सम्पर्कमा रहेपछि ती दुई जनाबिच प्रेम सम्बन्ध बढेको थियो । इमामले अध्ययन पूरा गरी सोही कलेजमा अध्यापन गर्ने क्रममा फतेमासँगै बसेका थिए ।

इमाम कोरोना कालमा लकडाउन भएपछि नेपाल घर फर्केका थिए । त्यसपछि पनि उनीहरूबिच संवाद चलिरहेको थियो । यसबिच इमामको नेपालमा अर्को केटीसँग बिहे भयो र त्यसको सुइँको फतेमाले पाएपछि उनी इमामको खोजी गर्न नेपाल आएकी हुन् ।

अप्रिलमा नेपाल आएकी फतेमालाई इमामले घरमा नराखेर बसपार्कको वेलकम होटेलमा एक साता राखेर बङ्गलादेश घर फिर्ता पठाएका थिए । अहिले दोस्रो पटक तीन दिनअघि मात्र नेपाल आएकी फतेमा प्रहरीमार्फत इमामको खोजीमा लागेकी छन् ।

इमाम कार्यरत नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चित्तरञ्जन साहले डा. इमाम दैनिक ज्यालादारीमा कार्यरत रहेका र हाल उनी सम्पर्कमा नभएको बताए । अहिले फतेमालाई भने माइती नेपालले आफ्नो संरक्षणमा राखेको छ ।

Back to top