×

वीरगञ्ज । नेपालको संविधानको भाग ३ को धारा २४ मा छुवाछुत तथा भेदभाव विरुद्धको हक सम्बन्धी प्रावधान छ । जसको उपधारा १ मा भनिएको छ, ‘कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जात, जाती, समुदाय, पेशा, व्यवसाय वा शारीरिक अवस्थाको आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवातुछ वा भेदभाव गरिने छैन ।’ 

यस धाराको प्रतिकूल हुने गरी भएका सबै प्रकारका छुवाछूत तथा भेदभावजन्य कार्य गम्भीर सामाजिक अपराधका रुपमा कानून बमोजिम दणडनीय हुनेछन् र त्यस्तो कार्य बाट पीडित व्यक्तिलाई कानून बमोजिम क्षतिपूर्ति पाउने प्रावधान पनि कानुनमा भनिएको छ । संविधानका पानामा समावेश भएका यी प्रावधान समाजले भने अझै पनि अङ्गीकार गर्न सकेको छैन । 

पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर १ मिर्जापुरमा हुने एक धार्मिक कार्यक्रममा दलित समुदायलाई वञ्चित गर्ने गैरदलितको अडान छ । यही बैशाख १२ गतेदेखि मिर्जापुरमा श्री श्री १०८ लक्ष्मीनारायण महायज्ञ तथा राधेकृष्णको प्राण प्रतिष्ठा आयोजना गरिएको छ । 
यही बैशाख ८ गते जलयात्रा छ भने प्राण प्रतिष्ठा बैशाख १२ गते र पुर्णाहुती बैशाख १६ गते राखिएको छ । अहिले त्यसको तयारीदेखि चन्दा संकलन लगायतका कार्यमा दलित समुदायको सहभागीता भएपनि यज्ञको बेला पूजापाठ गर्न नदिने मिर्जापुरका स्थानीय बिन्दा रामले गुनासो गरे । उनले भने, ‘तयारीमा हामी जुटीरहेका छौँ, चन्दा पनि दिएका छौँ । तर हामीलाई बेदीमा बस्न नदिने उहाँहरुको अडान छ ।’ 

मिर्जापुरकै ५५ वर्षीय भागरित राम ३ महिनादेखि उत्साहित थिए । उनी बाँस ल्याउनेदेखि महायज्ञ व्यवस्थापनका अन्य काममा सरिक रहे । मिर्जापुरका ८५ घर दलितको नेतृत्व गर्दै उनैले चन्दा संकलनमा पनि सहयोग गरे । भागरित भन्छन्, ‘मैले ३ महिनादेखि महायज्ञको तयारीमा सहयोग गरे । तर अहिले आएर हामीलाई यज्ञमा पूजा गर्न नदिने कुरा सुन्दा एकदम दुःख लागेको छ ।’ उनले थपे, ‘पूजा गर्न नपाउने भएपछि त्याहाँ गएर मारपिट गर्नुभन्दा बरु अब यज्ञमै नगएर घरमै बस्छु । बरु घरैबाट ढोग्छु ।’ उनले धार्मिक कार्यमा दलितलाई प्रतिबन्ध लगाउनमा वडाअध्यक्ष कामेश्वर यादवको षड्यन्त्र भएको आरोप लगाए । 

वडाअध्यक्ष कामेश्वर यादव उर्फ भुलटुन । 

स्थानीय धनराज रामले महायज्ञकै लागि भनेर ११ सय रुपैयाँ चन्दा दिए । तर पूजापाठमा सहभागी नगराउने गैरदलितको अडानपछि उनले यात्रा डेलीसँग भने, ‘पैँसा नछोइने, तर शरिर छोइने ? के हामी हिन्दु हैनौ र ? हामीलाई किन पूजा गर्न रोक ?’ उनकाअनुसार कम्तीमा ११ सय रुपैयाँदेखि दलित समुदायले पनि २१ सय रुपैयाँसम्म चन्दा दिएका छन् । जलयात्रामा पनि दलित समुदायका किशोरीहरुलाई सहभागी नगराउने र पूजामा पनि बस्न नदिने अडान कदापी सह्य नहुने उनको भनाई छ । 

छिपहरमाई गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष कामेश्वर यादव उर्फ भुलटुन नै महायज्ञ समितिका अध्यक्ष हुन् । उनले महायज्ञको पूजामा दलितलाई बस्न नदिने यात्रा डेलीसँगको संवादमा स्विकार गरे । उनले भने, ‘मैले मात्रै चाहेर हुँदैन, गाउँलेले नमानेपछि मैले भनेर केही हुँदैन ।’ दलितबाट एक जनालाई बेदीमा बसालेमा अरु गैरदलित कोही पनि नबस्ने हुँदा एक जनाका कारण २० जनालाई बहिस्कार गर्न नमिल्ने उनले बताए । आफु जनप्रतिनीधि भएको हुँदा दलितको घरमा जाने, उनीहरुले दिएको खाने भएपनि गाउँका गैरदलितले नखाने उनको भनाई छ । 

जातकै आधारमा विभेद नभएर सबैलाई बेदीमा बस्ने व्यवस्था गर्न नसकिने अवस्था रहेको छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोजकुमार गुप्ताले बताए । उनले भने, ‘बेदी २०÷२२ वटा मात्रै छ, त्यसमा सबैलाई बस्न व्यवस्था नभएको हो । तर पनि सकेसम्म दलित समुदायबाट १ जनालाई बेदीमा बसाउनका लागि मैले पहल गरिरहेको छु ।’ उनकाअनुसार पूजापाठमा कसैलाई रोकटोक छैन । महायज्ञमा बस्न नदिएको खबर सुन्ने बित्तिकै आफुले कार्यालयमै बोलाएर यस विषयमा बुझेको अध्यक्ष गुप्ताको भनाई छ । 

जनप्रतिनीधि भएर पनि वडाअध्यक्ष यादवले दिएको जवाफ गैरजिम्मेवार भएको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए । उनले भने, ‘अहिले बस्न दिँदैनो भनेको आधारमा भन्दा पनि घटना भइसकेपछि प्रमाण लिएर आएपछि कानुनअनुसार कारवाही हुन्छ ।’ उनकाअनुसार यस विषयमा प्रक्रिया अघि बढाउन पहिला घटना हुन जरुरी छ । उनले घटना भइसकेपछि प्रमाण लिएर प्रहरीमा उजुरी दिन पनि आग्रह गरे ।  

जातकै आधारमा कुनै पनि सामाजिक तथा धार्मिक कार्यमा प्रतिबन्ध लगाउनु संविधानको उल्लङ्घन भएको अधिवक्ता त्रिलोकचन्द विश्वास वि.क.को भनाई छ । उनकाअनुसार कानुन विपरितका कार्यमा जनप्रतिनीधि नै संलग्न हुनु झनै खेदजनक विषय हो । आयोजकसहित यसमा संलग्न सबैको विरुद्ध प्रहरीमा उजुरी दिन आग्रह गर्दै उनले आवश्यक परेमा आफुले निशुल्क रुपमा परामर्शदेखि वकालत गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । 

दलितलाई धार्मिक कार्यमा बञ्चित गरिएको घटना यो एउटा मात्रै हैन, यसअघि २०७९ साल चैत ८ गतेदेखि वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ अलौमा भएको शतचण्डी महायज्ञमा पनि दलितलाई पूजापाठ गर्न प्रतिबन्ध गरिएको थियो । त्यसमा पनि वडाअध्यक्ष सञ्जिव बहादुर क्षेत्रीकै संलग्नता रहेको त्याहाँका स्थानीयले आरोप लगाएका थिए । 

वीरगञ्ज महानगरपालिका वडा नम्बर १८ सुखचैनामा २०८० साल वैशाख १२ गतेदेखि भएको विष्णु महायज्ञमा पनि दलितले पूजा गर्न पाएनन् । बाराको सुवर्ण गाउँपालिकामा २०७९ चैत २६ गतेदेखि भएको विष्णु महायज्ञमा पनि दलित समुदायलाई पूजापाठ र प्रवेश गर्नबाट रोक लगाइएको थियो । 

जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन, २०६८ ले सार्वजनिक तथा निजी दुवै स्थलमा जातीय भेदभाव वा छुवाछूतजन्य कार्य गरेको अवस्थामा ऐनअन्तर्गत फौजदारी दण्डको भागीदार बन्नुपर्ने व्यवस्था गरेको छ । ऐनको दफा ४ को उपदफा २ (ख) मा व्यक्तिगत वा सामूहिक रूपमा सार्वजनिक स्थान वा समारोहमा कुनै प्रकारको भेदभाव गर्न नहुने उल्लेख छ । भेदभाव गरेमा ३ महिनादेखि ३ वर्षसम्म कैद र ५० हजारदेखि २ लाख रुपैयाँसम्म जरिमाना हुने व्यवस्था छ । 


 

Back to top