×

वीरगञ्ज । वीरगञ्जका एक विद्यार्थीले मधेस प्रदेश मै पहिलो पटक एयर क्राफ्ट बनाएका छन् । वीरगञ्ज इन्स्टिच्युट अफ टेक्नोलोजी (बीआइटी) इन्जिनियरिङ कलेजबाट डिप्लोमा इन मेकानिकल इन्जिनियरिङको अन्तिम वर्षको परीक्षा दिएका २० वर्षीय कृष्ण कुमार मण्डलले एयर क्राफ्ट निर्माण गरेका हुन् । 

बाराको कलैया उपमहानगरपालिका – ३ बैजनाथपुर निवासी कृष्णले ४ वर्षमा एयर क्राफ्ट निर्माण गर्ने सपनालाई साकार पारेका छन् । उनले यात्रा डेलीसँग भने, ‘सुरुमा आमाले मान्नु भएको थिएन, उहाँलाई फकाउनमै मैले ६ महिना बिताए । पछि छोराको रहर र सपनाको अघि आमाको केही लागेन ।’ सुरुमा मन खिन्न बनाएकी आमा कुन्ती देवी अहिले छोराको रहर पूरा भएपछि खुसीले मक्ख छिन् । 

कृष्णले यसलाई अल्ट्रा लाइट एयर क्राफ्ट नामकरण गरेका छन् । २२ कार्तिक २०६० सालमा जन्मिएका कृष्णले कलैयाकै मदरसा स्कुलबाट कक्षा १० उत्तीर्ण गरे । उनले कक्षा १० मै पढ्दा एयर क्राफ्ट बनाउन सुरु गरेका हुन् । १० कक्षा पछि डिप्लोमा इन मेकानिकल इन्जिनियरिङ पढ्न थालेसँगै उनले त्यसलाई अन्तिम वर्ष कलेजमा प्रस्तुत गर्नुपर्ने परियोजनाको रूपमा निर्माण गर्ने लक्ष्य लिएर काम गरे । 

कृष्णका एक जना दाइ र एक बहिनी छिन् । दाइ बलराम मण्डल पनि कृष्णसँगै अध्ययनरत छन् । दाजुभाइ एउटै कक्षामा एउटै विषय पढ्ने भएपछि झनै सहज भएको कृष्ण बताउँछन् । बुबा मनोज महतो मेकानिक हुनुको लाभ पनि कृष्णले मजाले उठाए । बुबाकै ‘वर्कसप’ बाट उनले एयर क्राफ्ट बनाउनका लागि आवश्यक सहयोग पनि लिए । यो परियोजना बनाउन एक लाख रुपैयाँ खर्च भएको कृष्णले बताए । 

उनी भन्छन्, ‘मैले एयर क्राफ्ट सम्बन्धी केही पढेको छैन । मैले कल्पना गरेर आफ्नै मनले बनाएको हुँ । यसमा मेरो परिवार, कलेज र साथीहरूको सहयोग पनि महत्त्वपूर्ण रह्यो ।’  उनले बनाएको परियोजना १८ फागुन २०८० मा कलेजमा प्रदर्शन गरिएको थियो । सो अवसरमा गुडाएर परीक्षण पनि गरिएको थियो । 

प्रशासनसँग अनुमति नलिएर उडाउन नमिल्ने बीआइटी इन्जिनियरिङ कलेजका प्रिन्सिपल नीरज श्रीवास्तवले बताए । उनकाअनुसार कलेजमा विद्यार्थीहरूले बनाएको अहिलेसम्मकै ठूलो परियोजना हो कृष्णको अल्ट्रा लाइट एयर क्राफ्ट । उनले यात्रा डेलीसँग भने, ‘एयर क्राफ्ट यो ब्याचको ड्रिम प्रोजेक्ट हो । उनीहरूले सुरुदेखि नै धेरै मेहनत गरेका छन् । परियोजनाका लागि इन्जिन मात्रै खरिद गरिएको हो, बाँकी सबै आफै निर्माण गरिएको छ । वीरगञ्जबाटै यस्तो परियोजना बनेको मलाई लाग्दैन ।’

उनले थपे, ‘परियोजना बनाउँदा विद्यार्थी आफैले खर्च गर्छन् । तर यो ठूलो परियोजना भएको हुँदा कलेजले पनि सहयोग गरेको छ । साथै हामीले उनीहरूलाई अझै मेहनत गरेर राम्रो बनाउनका लागि प्रोत्साहन पनि गरेका छौँ ।’

प्रिन्सिपल श्रीवास्तवका अनुसार प्रोजेक्ट हेड कृष्णलाई अल्ट्रा लाइट सम्बन्धी प्रशिक्षणका लागि एक साता पोखराको अल्ट्रा लाइट क्लबमा पठाउने तयारी भइरहेको छ । कलेजले नै कृष्णलाई थप ज्ञानका लागि पोखरा पठाउन लागेको प्रिन्सिपल श्रीवास्तवले बताए । यो परियोजनामा अझै निरन्तर अपडेट गर्ने र विस्तार गर्दै लैजाने योजना रहेको पनि उनले सुनाए ।

दुई दशक भन्दा लामो इतिहास बोकेको वीरगञ्ज इन्स्टिच्युट अफ टेक्नोलोजी (बीआइटी) कलेजमा नेपाल सरकारको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभीटी) बाट सम्बन्धन तथा मान्यता प्राप्त तीन वर्षीय इलेकट्रिकल इन्जिनियरिङ, मेकानिकल डिप्लोमा, कम्प्युटर इन्जिनियरिङ, सिभिल, इलेकट्रोनिक्स, र इलेकट्रोनिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा अध्यापन गराइन्छ । कलेजले भविष्यमा थप सङ्कायहरू थप्दै जाने योजना रहेको प्रिन्सिपल श्रीवास्तवले बताए ।

स्थापना कालदेखि नै उत्कृष्ट नतिजा ल्याउँदै देशकै अब्बल प्राविधिक शैक्षिक संस्था बन्न सफल बीआइटीले हाल एसइई परीक्षा दिएका विद्यार्थीहरूका लागि नि:शुल्क ब्रिज कोर्स कक्षा समेत सञ्चालन गरिरहेको छ ।

Back to top