×

वीरगञ्ज ।  दलित समुदायको सीपको संरक्षण र कलाको प्रबद्र्धन गर्नुपर्ने रुपन्देहीको तिलोत्तमामा सम्पन्न तीन दिवसिय प्रथम दलित ज्ञान उत्सवले निचोड निकालेको छ । दलित रिडर र तिलोत्तमा नगरपालिकाद्वारा संयुक्त रुपमा आयोजित दलित ज्ञान उत्सवमा भएका विविध विषयको बहसले दलितको श्रम र पेसालाई सम्मानीत बनाउनुपर्ने विषय प्राथमिकताका साथ उठाएको छ । 

‘दलित श्रम, सीप र उद्यम ः सामाजिक न्याय र समृद्धिको माध्यम’ भन्ने नारालाई उत्सवमा उठाइएका विषय र वक्ताहरुको विचारले सार्थकता प्रदान गरेको दलित रिडरकी कार्यकारी अध्यक्ष रुकमणी नेपालीको बुझाई छ । उनले भनीन्, ‘हामीले दलित ज्ञान उत्सवलाई ऐतिहासिक बनाउने योजना बनाएका थियौँ । जात व्यवस्थाको जरो उखेल्न केही ईट्टा थप्ने हाम्रो प्रयास हो ।’ 

तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँडले सामाजिक न्याय र दलित समुदायको सशक्तीकरणका लागि हातेमालो गर्नुपर्नेमा जोड दिए । दलित समुदाय आविस्कारका उपज भएको बताउँदै मेयर खाँडले जात व्यवस्थाको खाडललाई पुर्नका लागि दलित ज्ञान उत्सवले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । 

उनले भने, ‘जात व्यवस्थालाई जरैदेखि उखेलेर फाल्न सबै जुट्न जरूरी छ । अहिले दलित समुदायले प्रेम गर्नु पनि अपराध सरह हेरिन्छ । गैरदलितले आफ्नै जातसँग प्रेम र विवाह गर्दा केही हुँदैन तर दलितले गैरदलितसँग विवाह गर्दा बालविवाह हुन्छ वा अपराध हुन्छ ।’ 

श्रम र सीपका धनी दलित समुदायलाइ निरूत्साहित गर्ने र उनीहरूको सीप तथा श्रमको अपमान गरेकै कारण अहिलेको दूरावस्था आएमो उनको बुझाइ छ । श्रमको सम्मान गर्ने र दलित समुदायको सीपलाइ व्यवसायीकरण गर्न सकेमा वैदेशिक रोजगारीमा जानेको संखा कम हुने मेयर खाँड दाबी गर्छन् । तिलोत्तमा नगरपालिका दलित समुदायको सशक्तीकरणसँगै जात व्यवस्थाको विरूद्धमा हातेमालो गर्न पछि नहट्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे । 

तीन दिवसीय कार्यक्रमको उद्घाटन सत्रमा तिलोत्तमा नगरपालिकाका सामाजिक विकास समिति प्रमुख रवी सेन्चुरीले स्वागत मन्तव्य राखेका थिए । स्वागत मन्तव्यका क्रममा उनले दलितको अथाह ज्ञानलाई अज्ञानका रुपमा परिभाषित गरेको तर्क गरे । दलितको ज्ञानलाई अज्ञान मानेर दलित समुदायमाथिको अत्याचारको क्रमलाई सुरुवात गरिएको जानकारी गराउँदै उनले दलितका सीप, कला र ज्ञानलाई उजागर गर्नुपर्ने आवश्यक्ता औँल्याए । 

दलित वर्गमा पनि ज्ञान हुन्छ र ? भन्ने भाष्यलाई तोड्नका लागि दलित ज्ञान उत्सवले महत्वपूर्ण भूमिका निर्वाह गरेको दलित रिडरका सल्लाहकार अर्थविद् सुवास नेपालीको भनाई छ । उनले भने, ‘ज्ञान, विज्ञानको अन्वेषण गर्नेहरूको उत्सव नै दलित उत्सव हो । विभेदको गहु्रङगो भारी बोकेर प्रतिकारका लागि खरो उत्रिनुपर्ने सन्देश पनि हामीले दिन सकेका छौँ ।’ 

उत्सवको उद्घाटन सत्रमै सामाजिक न्यायका लागि लेखिएका लेखहरुको संग्रह ‘सामाजिक न्यायका शब्द बिम्बहरु’ पुस्तकको बिमोचन गरिएको थियो । जसमा दलित रिडरले नै सञ्चालन गरेको सामाजिक न्यायका लागि लेखन कार्यशालाका सहभागीहरुको लेख समावेश गरिएको दलित रिडरकी कार्यकारी सदस्य गौरी नेपालीले जानकारी दिइन् । 

तीन दिवसिय दलित ज्ञान उत्सवमा विभिन्न विषयमा २३ वटा सत्र सञ्चालन गरिएको थियो । विकास तथा अर्थशास्त्री सुभाष नेपाली र मानवशास्त्री सुरेश ढकालबीचको संवादबाट बहसको सुरुवात भएको थियो । यि दुवै जनाले ‘दलित उद्यमका कुरा’ विषयमा रहेर दलितका सीप, कौशल र कलासँगै त्यसलाई हेरिने दृष्टिकोणका विविध आयाम बारे खुलेर चर्चा गरे । 

पहिलो दिनको दोस्रो सत्र ‘ज्ञानको जातशास्त्र’ मा भएको बहसले सबैको ध्यान केन्द्रित गरेको थियो । विकास विश्वकर्माले सहजीकरण गरेको उक्त सत्रमा अध्येता जेबी विश्वकर्माको विचार सुनीरहुँ लाग्ने थियो । श्रम नै ज्ञानको स्रोत भएको उनको धारणा छ । सबै भन्दा धेरै श्रम गर्ने दलित भएको हुँदा दलित नै ज्ञानको स्रोत भएको पनि उनले बताए । श्रम नगर्नेहरुले षड्यन्त्र गरेर श्रमीकलाई अपमानित गरेको उनको भनाई छ । उनले ज्ञानको श्रोतदेखि दलित, श्रम र ज्ञानबीचको अन्तरसम्बन्धलाई सरल रुपमा प्रकाश पारे । त्यस्तै लेखक तथा अनुसन्धाता संजय कुमार पासी र दृश्य अध्येता उषा तितिक्षुले पनि आफ्नो अनुभव र विचार राखेका थिए । 

‘नेपालको शिक्षा र दलित’ विषयको सत्रमा शिक्षा र दलितका विविध आयामको बारेमा वक्ताहरुले चर्चा गरेका थिए । सामाजिक अभियानता होमराज आचार्य, अध्येता पुष्पा सुनार र सामाजिक न्यायका लागि लेखनकर्मी अरुण कुमार पासवान वक्ता रहेको सत्रको सहजकर्ता शिक्षा पत्रकार कृष्ण मल्ल थिए । 

मिडियामा दलितका मुद्दा
कान्तिपुर दैनिकका बरिष्ठ उपसम्पादक जनकराज सापकोटा पत्रकारिता पेशालाई नै सामाजिक आन्दोलन मान्छन् । ‘नेपाली मिडियामा दलित’ विषय सत्रका वक्ता सापकोटाले विषयवस्तु र मुद्दाअनुसार दलितका विषयले मिडियामा प्राथमिकता पाएको दाबी गरे । पहिलेको तुलनामा अहिले दलित तथा सीमान्तकृत समुदायका मुद्दाले प्राथमिकता पाइरहेको बताउँदै उनले दलित समुदायको सहभागिता पनि मिडिया क्षेत्रमा बृद्धि हुनुपर्नेमा जोड दिए ।

सामाजिक न्यायका लागि लेखन कार्यशालाका प्रशिक्षकसमेत रहेका सापकोटाकाअनुसार रिपोर्टिङ् तहमा केही हदसम्म दलितको उपस्थित देखिएपनि सम्पादकीय तहमा भने उपस्थिती छैन । अपेक्षित हस्तक्षेपका लागि दलित समुदायकै व्यक्ति निर्णायक तहमा पुग्न जरूरी रहेको उनी बताउँछन् । सत्ता र बर्चस्वशाली समुदायले फरक समुदायलाइ कहिले पनि प्राथमिकता नदिने उनको धारणा छ ।   

मधेशी दलितका मुद्दा रिपोर्टिङमा अपेक्षित रूपमा आउन नसकेको सापकोटाले स्विकार गरे । गैरदलितले प्रयत्न गरेपनि बलियो ढंगले नआउने गरेको उनको अनुभव छ । दलित समुदायको मुद्दा छुवाछुतको मात्रै हो भन्ने एकाङ्की बुझाईलाई परिवर्तन गर्नुपर्ने आवश्यक्ता उनी औँल्याउँछन् । ‘बालगृहमा ४२ प्रतिशत भन्दा बढी दलित छन् । कतै दलित बालबालिकालाई अपराध बनाउने खालको नीति नियम छ कि ? यसतर्फ हामीले कलम चलाउन जरुरी छ । यसका साथै हामीले कुनै पनि अप्रिय घटना हुन नदिनका लागि लेख्नुपर्छ’, उनले भने । मुद्दालाइ पेचिलो ढंगले नउठाउँदासम्म बहसको सृजना हुन नसक्ने सापकोटा बताउँछन् । 

May be an image of 4 people, dais, temple and text that says 'दलित 青謝咖中 ज्ञान उरसव दलित श्रम, सीप र उद्यम: सामाजिक न्याय र संवृद्धिको माध्यम २०८० चैत्र १४-१६ त्मा नगरपालिका, लुम्बिनी प्रदेश आयोजक पालिका'पत्रकार बिनोद परियारले सहजीकरण गरेको उक्त सत्रलाई सम्बोधन गर्दै पत्रकार रुपा गहतराजले दलित तथा सीमान्तकृत समुदायका मुद्दामा कलम चलाउँदा पत्रकार संवेदनशिल हुनुपर्नेमा जोड दिइन् । पछिल्लो समय मिडियामा उठेका दलितका मुद्दा अधिकार स्थापितका लागि भन्दा पनि सहानुभूती र ल्याउनुपर्छ भन्ने हेतुले उठेको हुन सक्नेमा उनको आशंका छ । उनी भन्छिन्, ‘दलितले मात्रै दलितका मुद्दा लेख्नुपर्छ भन्ने पनि हैन तर सबैले संवेदनशीलतापूर्वक लेख्न जरूरी छ ।’

बिबिसी नेपाली सेवाका संवाददाता माधव नेपाल नभोगेको व्यक्तिले लेख्न र बोल्न नसक्ने र लेखे तथा बोलेपनि प्ररभावकारी नहुने धारणा राख्छन् । रचनात्मक सुधारको बाटोमा सँगै यात्रा गर्नुपर्ने र त्यसका लागि मिडिया पनि व्यवसायिक हुनुका साथै मिडिया हाउसलाइ समावेशी बनाउनुपर्ने उनको बुझाई छ । 

अतिक्रमणमा दलितका पेसा
सामाजिक अभियानता कृष्ण बिश्वकर्मा दलित समुदायका पेसा अतिक्रमणमा परेको बताउँछन् । ‘समाज सिँगार्नेहरु’ विषयक सत्रका वक्ता विश्वकर्माले दलित समुदायलाई आर्थिक रुपमा बलियो बन्न नदिने षड्यन्त्रलाई बिफल पार्ने बेला आएको बताए । उनी भन्छन्, ‘दलित समुदाय अछुत हुन्, उनीहरूलाई हेय दृष्टिकोणले हेर्नुपर्छ, सिप छैन, ज्ञान छैन भनेर हेर्नुपर्छ भन्ने सोच छ । हामीले गरेका कामलाई अभिलेखिकरण गरिएन । हाम्रो सीप र पेसालाई ज्ञान मानिएन । तर हामीले पुर्खाैदेखि गर्दै आएको काम गैरदलितले गर्ने बित्तिकै सीप र ज्ञान तथा आयआर्जनको बाटोसँग जोडियो ।’ 
उनकाअनुसार आज दलित समुदायको पेशा व्यवसाय धरापमा परेको छ । उनले थपे, ‘जात र पेशा फरक हुन् भन्ने कुरा समाजले बुझेन । हामीले यो पेशा छोड्दै आएका छौँ । नयाँ पुस्तामा यो पेशा गर्नु हुँदैन भन्ने  मानसिकताको विकास भएको छ । तर गैरदलितले भने त्यही सीपलाई व्यवसाय तथा उद्योगको रूपमा हस्तक्षेप गरेका छन् ।’ 

नेपाली समाजलाई परिचालित गर्ने परिचालकको रुपमा दलित समुदायले निर्वाह गरेको भूमिकालाई सबैले नजरअन्दा गरेको सामाजिक न्यायका लागि लेखनकर्मी रिबन मंग्रातीको टिप्पणी छ । उनी भन्छन्, ‘दलीत समुदाय नेपाली समाजको मोभिलाइजर हुन् । हाम्रो दैनिक जीवनमा आवश्यक पर्ने सामाग्री दलितले नै उत्पादन गरे । श्रम गरे । तर तिनै दलित समुदायलाई जस दिनुको साटो उल्टै उपेक्षा गरियो ।’ उनी थप्छन्, ‘कुनै बेला आफ्नो ज्ञानको मालिक रहेका दलित अहिले दास छन् । गोजीमा पैँसा भएकाहरूले दलितको सीपमाथि शासन गरे । यसमा राज्यको प्रत्यक्ष संलग्नता देखिन्छ । राज्यले निति नै बनाएर यो षड्यन्त्र गरेको हो ।’

युवामा देखिएको उदासिनतालाई कम गर्नका लागि पेशागत मर्यादाको विकास गर्नुपर्ने उनी सुझाव दिन्छन् । औपचारिक शिक्षामा पनि दलितको ज्ञान, सीप समावेश नगरिएकोमा आपत्ती जनाउँदै उनले मौलिकताको ब्राण्डींग गर्नुपर्ने आवश्यक्ता औँल्याए । श्रम गर्ने दलितलाई पछाडि धकेलेकै कारण नेपाली समाज पछाडि परेको उनको तर्क छ । पूँजीवादी सामन्तवादलाइ निरन्तरता दिने काम सरकारले गरीरहेको बताउँदै उनले दलितको सीप, पेशा र श्रमलाई सम्मानित रूपमा स्थापित गर्ने अभियानमा हातेमालो गर्न आग्रह गरे । 

जन्मदेखि मृत्युसंस्कारसम्म प्रयोग हुने नौमती बाजा बजाउनेलाई सीप र ज्ञान नमान्ने प्रवृतिको अन्त्य गर्नुपर्ने अनिल परियारको माग छ । लेखनकर्मी परियारकाअनुसार विगतमा मिडिया नहुँदा कुनै सूचना तथा जानकारी दिनका लागि गीत, संगीत तथा बाजालाई माध्यम बनाइन्थ्यो । त्यो इतिहास र विगत बिर्सिन नहुने उनको भनाई छ ।

श्रम, सीप र क्षमतालाई जिविकोपार्जनसँग नजोडेसम्म समाज सकारात्मक बाटोमा हिँड्छ भन्ने कुरामा उनी विश्वास गर्दैनन् । उनले भने, ‘श्रमलाई सम्मान र राज्यको लगानी भएपछि मात्रै हाम्रो समाज विकास हुन सक्छ । तर यहाँ न श्रम गर्नेले सम्मान पाउँछन्, न त लगानी नै । केही हदसम्म गरिएको लगानी पनि सम्बन्धित पक्षको हातमा पुग्दैन । बिचमै बिचौलियाले खाइदिन्छन् ।’ यो सत्रको सहजीकरण सामाजिक न्यायका लागि लेखनकर्मी मुना वि.क.ले गरेकी थिइन् । 

‘कला र साहित्यमा जातीय चेत’ सत्रमा लेखक तथा पत्रकार विश्वास खड्काथोकीले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए । यसमा सामाजिक न्यायका लागि लेखनकर्मी अन्जुली विश्वकर्मा र अभिनेत्री दिया मास्के वक्ताको रुपमा थिए । कला र साहित्यमा जातीय चेत नझल्किएको वक्ताहरुको भनाई थियो । चलचित्र तथा गीत संगीतमा सतही रुपमा प्रस्तुत हुँदा यसले झनै पिडा थप्ने गरेको उनीहरुले बताए । पहिलो दिनको अन्तिम सत्र प्रतिरोधका संगीतमा संगीतकार सुरेश सेन्चुरी, सामाजिक न्यायका लागि लेखनकर्मीद्वय अन्जुली विश्वकर्मा र परिविक्रमले प्रस्तुती दिएका थिए । 

दोस्रो दिनको पहिलो सत्र ‘दलनविरुद्धका पदचापहरु’ विषयमा थियो । जसमा अधिकारकर्मी उमा देवी बादी, पूर्व राजदूत तथा राजनीतिकर्मी पदम सुन्दास र सांसद तथा साहित्यकार रनेन्द्र बरालीले बहस गरेका थिए । लेखक तथा अनुसन्धाता शिवहरि ज्ञवालीले सत्रको सहजीकरण गरेका थिए । 

दलित ज्ञान उत्सवमा अन्तरजातीय पिरतीका सकस, दलित सिमान्त आवाज, नीजि क्षेत्र र दलित, धर्म निरपेक्षता र दलित, पाइला पाइलामा जात, उद्यममा जातको तगारो, दलित युवा नेतृत्वका चुनौती, जात पितृसत्ता र अन्तरसम्बद्धता, दलित र गैरदलित साथसाथ, शहरी विभेदका आयाम, मोफसलका मिडियामा दलित, लोकतन्त्र र जात व्यवस्था’ विषयमा छलफल तथा बहस भएको थियो ।

May be an image of 4 people, flute, dais and text that says 'UNITED ம दलित रीडर School Dalit Studies M दलित ज्ञान दलित श्रम, सीप र उद्यम: सामाजिक न्याय र संवृद्धिको माध्यम उत्सव २०८० चैत्र १४-१६ त्तमा नगरपालिका, लुम्बिनी प्रदेश आयोजक: शलिका' 
सन् २०१७ बाट शिवहरी ज्ञवाली र सुबास नेपालीले थालनी गरेका स्कुल अफ दलीत (दलित रिडर)सँग अहिले देशैभर २ सय जना भन्दा धेरै सामाजिक न्यायका लागि लेखनकर्मीहरू जोडिन सफल भएका छन्  ।

May be an image of 4 people, dais and text that says 'D दलित रीडर School of Dalit Studies 金수管 青謝座 दलित ज्ञान उत्सव दलित श्रम, सीप र उद्यम: सामाजिक न्याय र संवृद्धिको माध्य το चैत्र १४-१६ नगरपालिका, लुम्बिनी प्रदेश योज'

Back to top