वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाले सुशासन, पारदर्शिता र जनउत्तरदायित्व प्रवर्द्धन गर्ने उद्देश्यले पालिका स्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। गाउँपालिका कार्यालयको आयोजनामा सहज सेवा सीप विकास केन्द्र पर्सा र नारायणी खबरको प्राविधिक सहयोगमा कार्यक्रम आयोजना गरिएको हो।
वडा नम्बर २ का वडाध्यक्ष चिरञ्जीवी महतो थारुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जीव कुमार यादवले स्वागत मन्तव्य व्यक्त गर्दै सार्वजनिक सुनुवाइको उद्देश्य, महत्व तथा नागरिक सहभागिताको आवश्यकताबारे प्रकाश पारेका थिए। कार्यक्रमको सहजीकरण पत्रकार मनोज पटेलले गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष जसवन्त यादवले सखुवा प्रसौनी गाउँपालिकाले सुशासन र पारदर्शितालाई प्राथमिकतामा राखेर काम गरिरहेको दाबी गरे।
उनले पर्साका १४ स्थानीय तहमध्ये सखुवा प्रसौनी गाउँपालिकाले मात्र चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाइ बन्द कोठामा नभई खुला स्थानमा आम नागरिकको प्रत्यक्ष सहभागितामा आयोजना गरेको उल्लेख गर्दै नागरिकका आवाज प्रत्यक्ष सुन्न र स्थानीय सरकारलाई थप जवाफदेही बनाउन यस्तो अभ्यास गरिएको बताए।
सार्वजनिक सुनुवाइमा सहभागी स्थानीयवासी, नागरिक समाज तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूले विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि तथा सुशासनसँग सम्बन्धित विभिन्न समस्या र सुझाव प्रस्तुत गरेका थिए।
स्थानीय रामचन्द्र साह र बिन्दा देवीले औराहालगायत क्षेत्रमा खानेपानी धारा र सार्वजनिक शौचालयको आवश्यकता औँल्याए। ललिता देवीले प्रसौनी टोलमा सडक तथा नाला निर्माणको माग गरिन् भने मनोज चौधरीले पूर्वाधार शाखाले सडक ढलान तथा निर्माण कार्य समयमै सम्पन्न गर्न नसकेको गुनासो गरे।
शिक्षक अजय यादवले सामुदायिक विद्यालयमा कम्प्युटर र पंखा जडान गर्न तथा विद्यालयको नियमित अनुगमन गर्नुपर्ने आवश्यकता औँल्याए। पत्रकार रामकिशोर चौधरीले स्थानीय सञ्चारकर्मीको क्षमता अभिवृद्धिका लागि तालिमको व्यवस्था गर्न आग्रह गरे।
स्वास्थ्य सेवातर्फ राहुल शाहले स्वास्थ्य शाखाका कर्मचारी कार्यालयमा नियमित उपस्थित नभई तालिम र गोष्ठीमा बढी व्यस्त रहने गरेको आरोप लगाए। बबिता चौधरीले किसानले समयमा मलखाद तथा बीउबिजन नपाएको गुनासो गरिन्।
यसैगरी देवनारायण राउतले केही योजना कार्यान्वयन प्रक्रियामा अनियमितता भएको आरोप लगाउँदै पारदर्शिता कायम गर्न माग गरे।
कार्यक्रममा प्रशासन शाखा प्रमुख अर्विन्द ठाकुर, स्वास्थ्य शाखा प्रमुख राजेश रौनियार, सामाजिक विकास शाखा प्रमुख विनोद यादव, शिक्षा शाखा प्रमुख भरत गिरी, कृषि शाखा प्रमुख दयाराम वाग्ले, पूर्वाधार शाखा प्रमुख रामबाबु पटेल, लेखा शाखा प्रमुख सुमन शाह तथा सूचना प्रविधि प्रमुख शिवकुमार महतोले आ–आफ्ना शाखाको वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै उठाइएका जिज्ञासाको जवाफ दिएका थिए।
त्यसैगरी वडाध्यक्षहरू बासुदेव महतो, मोजामिल अन्सारी, महम्म आरफी अन्सारी, अशेश्वर प्रसाद यादव र मुना प्रसाद कम्करले पनि वडास्तरमा सञ्चालन भएका योजना तथा आगामी प्राथमिकताबारे जानकारी गराएका थिए।
कार्यक्रमको अन्त्यमा गाउँपालिका अध्यक्ष जसवन्त यादव र प्रमुख प्रशासकीय अधिकृत सञ्जीव कुमार यादवले सार्वजनिक सुनुवाइमा उठेका गुनासा, सुझाव र प्रश्नलाई गाउँपालिकाले गम्भीरतापूर्वक लिएको बताएका छन्।
उनीहरूले नागरिकबाट प्राप्त सुझावलाई सकारात्मक सुधारको आधार बनाउँदै सेवा प्रवाह, विकास निर्माण तथा सुशासनलाई थप प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे।
सार्वजनिक सुनुवाइ कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक, प्रधानाध्यापक, नेपाल प्रहरीका प्रतिनिधि, पत्रकार, स्वास्थ्यकर्मी, महिला समूह, किसान, स्थानीय व्यवसायी, राजनीतिक दलका प्रतिनिधि तथा नागरिक समाजका अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।