×

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिका–९ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, बडेर्वाको आयोजनामा विद्यालय प्राङ्गणमा बृहत् अभिभावक भेला सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समिति चयन तथा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले अभिभावक भेला आयोजना गरिएको विद्यालय प्रशासनले जनाएको छ।

विद्यालयका प्रधानाध्यापक चेतमन प्रसाद दास थारुले नेपाल सरकारको शिक्षा ऐनमा गरिएको नयाँ संशोधनअनुसार विद्यालय व्यवस्थापन समितिमा गैरराजनीतिक तथा वास्तविक अभिभावकहरूको मात्र प्रतिनिधित्व सुनिश्चित गरिने जानकारी दिए। उनले नयाँ कानुनी व्यवस्थाअनुसार विद्यालय व्यवस्थापनलाई थप पारदर्शी, उत्तरदायी र प्रभावकारी बनाउने लक्ष्य राखिएको बताए।

कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर ९ का वडाध्यक्ष रामबडही यादवले शिक्षा क्षेत्रलाई राजनीतिक प्रभावबाट मुक्त राख्नुपर्नेमा जोड दिए। उनले विद्यालयको शैक्षिक वातावरण सुधारका लागि अभिभावक, शिक्षक तथा समुदायबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै शिक्षा क्षेत्रमा हुने राजनीतिकरण अन्त्य हुनुपर्ने धारणा व्यक्त गरे।

उनले पर्सागढी नगरपालिकाभित्र उत्कृष्ट कार्य गर्दै आएको बडेर्वा माध्यमिक विद्यालयको प्रगतिको प्रशंसा गर्दै आगामी दिनमा विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि आवश्यक बजेट विनियोजन गर्न आफू प्रतिबद्ध रहेको बताए। “शैक्षिक सुधार नै देश परिवर्तनको प्रमुख आधार हो,” उनले भने।

पर्सागढी नगरपालिकाका शिक्षा शाखा प्रमुख कपिल लामिछानेले शिक्षा ऐनको नयाँ संशोधन तथा विद्यालय व्यवस्थापन समिति गठनसम्बन्धी कानुनी व्यवस्थाबारे जानकारी गराएका थिए। उनका अनुसार अब विद्यालय व्यवस्थापन समितिमा चार जना अनिवार्य रूपमा ‘शुद्ध अभिभावक’ रहनेछन्। तीमध्येबाट एक जनालाई सर्वसम्मत वा लोकतान्त्रिक प्रक्रियामार्फत अध्यक्ष चयन गरिनेछ। साथै समितिमा एक जना वडा प्रतिनिधि, एक जना शिक्षक प्रतिनिधि रहने तथा प्रधानाध्यापक सदस्य सचिव रहने कानुनी व्यवस्था रहेको उनले बताए।

सोही अभिभावक भेलाबाट नयाँ विद्यालय व्यवस्थापन समितिका लागि चार जना ‘शुद्ध अभिभावक’ सदस्यको छनोटसमेत गरिएको छ। छनोट हुने सदस्यहरूमा सीता सुनर कुमारी, मोहनी देवी थरुनी, शेष नारायण राय थारु र दयानन्द प्रसाद दहित रहेका छन्।

प्रधानाध्यापक थारुले उक्त छनोटसँगै विद्यालयले नयाँ नेतृत्व पाउने बाटो खुलेको र विद्यालयको समग्र शैक्षिक सुधारमा यसले सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

भेलामा वडा नम्बर १ का वडाध्यक्ष राजकपुर खवास, शिक्षा शाखा प्रमुख कपिल लामिछाने,नेपाल पत्रकार संघपर्साका सदस्य प्रमोद यादव, स्थानीय प्रहरी प्रशासनका प्रतिनिधि, शिक्षक, कर्मचारी, बुद्धिजीवी तथा ठूलो संख्यामा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा विद्यालयकी सहायक प्रधानाध्यापक लक्ष्मी ढकालले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्। शिक्षा शाखा प्रमुख कपिल लामिछानेको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक रामविलास साहले गरेका थिए।

Back to top