×

वीरगञ्ज । पर्साको जिराभवानी गाउँपालिका–४ सुपौलीस्थित श्रीराम जानकी ए.पी.एम. कृषक पाठसालाले कृषक दिवस तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको उद्घाटन जिराभवानी गाउँपालिका–४ का वडाध्यक्ष राजेश्वर दास थारुले गरेका थिए।

कृषि ज्ञान केन्द्र पर्सा, वीरगञ्जको सहयोगमा सञ्चालित कार्यक्रममा किसानहरूलाई विषादीरहित चैते धान (हर्दिनाथ–१०) खेतीसम्बन्धी १२ दिने तालिम प्रदान गरिएको थियो। आयोजकका अनुसार उक्त तालिम प्रत्येक शनिबार सञ्चालन गरिएको थियो।

कार्यक्रममा अन्नबालीमा प्रयोग हुने विषादी तथा रासायनिक मलको अत्यधिक प्रयोगले मानव स्वास्थ्य र वातावरणमा पार्ने नकारात्मक प्रभावबारे जानकारी गराइएको थियो। साथै, सुरक्षित तथा दिगो कृषि प्रणालीको विकासका लागि विषादीरहित र जैविक खेती पद्धति अपनाउन किसानहरूलाई प्रेरित गरिएको थियो।

तालिम सफलतापूर्वक सम्पन्न गरेका किसानहरूलाई कार्यक्रममा प्रमाणपत्र वितरण गरिएको थियो। यस अवसरमा एक क्विन्टल गाई वा भैँसीको गोबरमा ६०० ग्राम ट्राइकोडर्मा मिसाएर घरमै जैविक मल उत्पादन गर्न सकिने विषयमा व्यावहारिक जानकारी समेत प्रदान गरिएको थियो।

कार्यक्रममा कृषि ज्ञान केन्द्र पर्साका प्रमुख रामजीवन ठाकुर तथा बाली संरक्षण अधिकृत उमेश थापाले विषादीरहित कृषि उत्पादनको महत्व, सुरक्षित खाद्य उत्पादन तथा कृषिमा जैविक प्रविधिको प्रयोगबारे धारणा व्यक्त गरेका थिए।

कार्यक्रमको सहजीकरण रामजनम महतो थारुले गरेका थिए। सहभागी किसानहरूले यस्ता तालिमले कृषि उत्पादन वृद्धि गर्न, उत्पादनको गुणस्तर सुधार गर्न तथा उपभोक्ताको स्वास्थ्य संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

Back to top