×

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा लामो समयदेखि सञ्चालनमा आउन नसकेको क्याथ ल्याब मेसिनको जडान कार्य अन्तिम चरणमा पुगेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार उपकरण जडानको काम लगभग सम्पन्न भइसकेको छ र छिट्टै सेवा सञ्चालनको तयारी भइरहेको छ।

२०७६ साल चैत महिनामा खरिद गरिएको क्याथ ल्याब मेसिन विभिन्न प्राविधिक तथा प्रशासनिक कारणले हालसम्म जडान हुन नसक्दा सञ्चालनमा आउन सकेको थिएन। अब जडान प्रक्रिया अन्तिम चरणमा पुगेपछि नारायणी अस्पतालबाट मुटुरोगसम्बन्धी विशिष्टीकृत स्वास्थ्य सेवा प्रदान गर्ने तयारी गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार क्याथ ल्याब सेवा सञ्चालनमा आएपछि मधेश प्रदेशका साथै आसपासका जिल्लाका मुटुरोगी बिरामीले जाँच तथा उपचारका लागि काठमाडौं वा अन्य सहर धाउनुपर्ने बाध्यता उल्लेखनीय रूपमा कम हुनेछ।

क्याथ ल्याबमार्फत मुटुको धमनी परीक्षण (एन्जियोग्राफी), एन्जियोप्लास्टीलगायतका विशिष्टीकृत सेवाहरू स्थानीय स्तरमै उपलब्ध हुने अपेक्षा गरिएको छ। यसले आकस्मिक तथा जटिल मुटुरोगका बिरामीलाई समयमै उपचार उपलब्ध गराउन महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्याथ ल्याब सेवा सञ्चालन भएपछि मधेश प्रदेशका नागरिकले आफ्नै प्रदेशमा गुणस्तरीय, सहज र प्रभावकारी मुटुरोग उपचार सेवा प्राप्त गर्ने वातावरण सिर्जना हुने जनाएको छ। साथै, यस सेवाले बिरामीको उपचार खर्च, समय र काठमाडौंसम्मको यात्रा गर्ने बाध्यता समेत कम गर्ने अपेक्षा गरिएको छ।

Back to top