×

एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।

वीरगञ्ज । पर्साको ठोरी गाउँपालिकापछि छिपहरमाई गाउँपालिकास्थित भिस्वा नाकाबाट पनि भारतीय नम्बर प्लेटका चारपाङ्ग्रे सवारीसाधनको नेपाल प्रवेश बुधबारदेखि पुनः सुचारु भएको छ। असार १९ गतेदेखि लागू गरिएको प्रवेश प्रतिबन्ध हटाइएसँगै सीमावर्ती क्षेत्रको आवागमन सहज हुने, पर्यटन गतिविधिमा वृद्धि हुने तथा स्थानीय व्यापार–व्यवसायले गति लिने अपेक्षा गरिएको छ।

भारतीय सवारीसाधनको प्रवेशमा लगाइएको प्रतिबन्धका कारण ठोरी बजार, होटल, रेस्टुरेन्ट, पर्यटन व्यवसाय तथा सीमापार आवतजावतमा निर्भर स्थानीयवासी प्रभावित भएका थिए। प्रतिबन्ध हटाउन प्रतिनिधिसभा सदस्य टेकबहादुर शाक्यले समेत सरकारको ध्यानाकर्षण गराउँदै समस्या तत्काल समाधान गर्न माग गरेका थिए।

विभिन्न तहबाट भएको पहल तथा सम्बन्धित निकायबीचको समन्वयपछि भारतीय नम्बर प्लेटका चारपाङ्ग्रे सवारीलाई पुनः प्रवेश दिने सहमति भएको हो। भन्सार कार्यालयका अनुसार भारतीय सवारीसाधनले ठोरी छोटी भन्सारबाट निःशुल्क सुविधा पास लिएपछि ठोरी बजार तथा आसपासका पर्यटकीय क्षेत्रको भ्रमण गर्न सक्नेछन्।

यसैबीच, बुधबारदेखि पर्साको भिस्वा नाकामा पनि छोटी भन्सार कार्यालय औपचारिक रूपमा सञ्चालनमा आएको छ। सरकारको निर्णयअनुसार ठोरी र भिस्वा दुवै स्थानमा छोटी भन्सार सेवा सुरु गरिएको हो।

प्रारम्भिक चरणमा बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म भारतीय चारपाङ्ग्रे सवारीसाधनलाई निःशुल्क प्रवेश अनुमतिपत्र (सुविधा पास) उपलब्ध गराइने व्यवस्था गरिएको भन्सार कार्यालयले जनाएको छ। भिस्वा छोटी भन्सारमा कर्मचारी दिल लिम्बुसहित दुई जना कर्मचारी खटाइएको छ।

भारतीय सवारीसाधनको पुनः प्रवेशसँगै सीमावर्ती क्षेत्रका बासिन्दालाई वैवाहिक, धार्मिक, पारिवारिक तथा पर्यटकीय प्रयोजनका लागि आवतजावत सहज हुने विश्वास गरिएको छ। साथै भारतीय पर्यटकको आगमन बढेमा होटल, रेस्टुरेन्ट, खुद्रा व्यापार तथा पर्यटनसँग सम्बन्धित व्यवसायमा प्रत्यक्ष लाभ पुग्ने स्थानीय व्यवसायीहरूको अपेक्षा छ।

यद्यपि, प्रवेश व्यवस्थालाई प्रभावकारी बनाउन सुरक्षा, भन्सार व्यवस्थापन तथा सेवा प्रवाहलाई थप व्यवस्थित गर्नुपर्ने आवश्यकता रहेको सरोकारवालाहरूले बताएका छन्। सीमावर्ती नाकामा सहज, पारदर्शी र व्यवस्थित आवागमन सुनिश्चित गर्न सके यस निर्णयले ठोरी र भिस्वा क्षेत्रको आर्थिक गतिविधि चलायमान बनाउनुका साथै पर्यटन प्रवर्द्धनमा दीर्घकालीन सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ।

Back to top