×

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले वितरण गर्दै आएको लोककल्याणकारी सूचना अबदेखि स्थानीय साप्ताहिक पत्रपत्रिकालाई पनि उपलब्ध गराउने निर्णय गरेको छ। आमसञ्चार माध्यम प्रवर्द्धन तथा नियमन समितिले यसअघिको व्यवस्था परिमार्जन गर्दै साप्ताहिक पत्रपत्रिकालाई समेत सूचीकरणका लागि आह्वान गर्ने निर्णय गरेपछि स्थानीय सञ्चारमाध्यमका लागि नयाँ अवसर खुलेको हो।

यसअघि महानगरपालिकाले साप्ताहिक पत्रपत्रिकालाई सूचीकरण नगर्ने निर्णय गरेको थियो। उक्त निर्णयका कारण स्थानीय साप्ताहिक सञ्चारमाध्यमहरू लोककल्याणकारी सूचना प्रकाशन गर्ने अधिकारबाट वञ्चित भएका थिए। नेपाल पत्रकार महासंघलगायत सञ्चार क्षेत्रका सरोकारवालाले यो व्यवस्था महानगरकै आमसञ्चारसम्बन्धी ऐन तथा कानुनी व्यवस्थाविपरीत रहेको भन्दै सच्याउन निरन्तर आग्रह गर्दै आएका थिए।

आमसञ्चार माध्यम प्रवर्द्धन तथा नियमन समितिका संयोजक शत्रुधन नेपालको अध्यक्षतामा बसेको बैठकले विगतको व्यवस्था संशोधन गर्दै स्थानीय साप्ताहिक पत्रपत्रिकालाई पनि सूचीकरणका लागि औपचारिक रूपमा आह्वान गर्ने निर्णय गरेको हो।

वीरगञ्ज महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलमले स्थानीय सञ्चारमाध्यमको प्रवर्द्धन र सुदृढीकरणमा महानगर सधैँ सकारात्मक रहेको बताएका छन्।

उनले सञ्चारमाध्यम लोकतन्त्र र सुशासनको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै कानुनले व्यवस्था गरेअनुसार सबै सञ्चारमाध्यमलाई समान अवसर उपलब्ध गराउने नीति महानगरले अवलम्बन गरेको बताए।“सञ्चारमाध्यम बलियो भए लोकतन्त्र र सुशासन पनि बलियो हुन्छ। त्यसैले महानगर स्थानीय सञ्चारमाध्यमको प्रवर्द्धनका लागि सदैव प्रतिबद्ध छ। वीरगञ्ज महानगर सञ्चारमाध्यम प्रवर्द्धनसम्बन्धी कानुन बनाउने देशकै पहिलो पालिका हो। कानुनमा भएको व्यवस्थाअनुसार हामी सधैँ सकारात्मक र रचनात्मक रूपमा अघि बढ्नेछौँ,” कार्यवाहक प्रमुख आलमले बताए।

महानगरपालिकाको यस निर्णयसँगै वीरगञ्जबाट नियमित रूपमा प्रकाशन हुँदै आएका दर्जनौँ स्थानीय साप्ताहिक पत्रपत्रिका सूचीकरण प्रक्रियामा सहभागी हुन पाउने भएका छन्। यसबाट ती सञ्चारमाध्यम तथा तिनमा आबद्ध श्रमजीवी पत्रकार प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ।

सञ्चारकर्मीहरूले महानगरको यस निर्णयलाई स्थानीय सञ्चारमाध्यमको संरक्षण, प्रवर्द्धन र संस्थागत विकासका लागि सकारात्मक कदमका रूपमा स्वागत गरेका छन्।

Back to top