×

तस्बिर : कालिका टाइम्स ।

वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–१ पिडारीगुठी निवासी करिब २५ वर्षीय वृजेश राम आठ दिनदेखि बेपत्ता भएपछि उनका परिवारजन चिन्तित बनेका छन् । लामो समय बितिसक्दा पनि उनको अवस्था अज्ञात रहेपछि परिवारले प्रभावकारी अनुसन्धान गरी सकुशल खोजी गरिदिन प्रहरी प्रशासनसँग माग गरेका छन् ।

परिवारका अनुसार गत सोमबार बिहान करिब ८ बजे वृजेश आफ्नी आमा मञ्जु रामसँग मोटरसाइकलमा धोबिनी गाउँपालिकाको जगरनाथपुरस्थित दिदीको घरतर्फ गएका थिए । बाटोमै वर्षा सुरु भएपछि आमा–छोरा केही बेर रोकिएका थिए । सोही क्रममा वृजेशको मोबाइलमा फोन आएपछि उनले आमालाई त्यहीँ छाडेर फोन गर्ने व्यक्तिलाई भेट्न जाने भन्दै हिँडेका थिए । त्यसयता उनी सम्पर्कविहीन छन् ।

वृजेशका नाना रामअशिष रामका अनुसार फोनमार्फत बगैँचामा बोलाइएको स्थानमा पुगेपछि आठ–नौ जनाको समूहले उनलाई एकान्तमा लगेर कुटपिट गरेको सूचना परिवारले पाएको छ । कुटपिट भइरहेका बेला वृजेशले आफ्ना भिनाजु प्रमोद रामलाई फोन गरेर आफूलाई बचाउन आग्रह गरेका थिए ।

भिनाजु प्रमोद राम घटनास्थल पुग्दा भने वृजेश त्यहाँ नरहेको र त्यसपछि उनी पूर्ण रूपमा बेपत्ता भएको परिवारको भनाइ छ । आफन्त र स्थानीयवासीले खोजी कार्य गरे पनि कुनै जानकारी नपाएपछि प्रहरीमा निवेदन दिइएको थियो ।

वृजेशका मामा बिरबल रामले आठ दिन बितिसक्दा पनि कुनै ठोस सूचना नआउँदा परिवारमा रुवाबासी चलेको बताए । सामान्य आर्थिक अवस्था भएको दलित परिवारका सदस्य रहेका वृजेश बेपत्ता भएपछि गाउँभरि नै चिन्ताको वातावरण बनेको स्थानीयले जनाएका छन् ।

परिवारका अनुसार वृजेशले जिराभवानी गाउँपालिकाका केही व्यक्तिबाट व्यक्तिगत कामका लागि करिब सातदेखि आठ लाख रुपैयाँसम्म कर्जा लिएका थिए । उक्त रकम चुक्ता गर्ने विषयमा पटक–पटक छलफल हुँदै आएको नाना रामअशिष रामले जानकारी दिए ।

यता जिल्ला प्रहरी कार्यालय पर्साले घटनाको विभिन्न कोणबाट अनुसन्धान भइरहेको जनाएको छ । पर्साका प्रहरी नायब उपरीक्षक राजु कार्कीले सूचना प्राप्त भएलगत्तैदेखि नै प्रहरी परिवारसँग नियमित सम्पर्कमा रही अनुसन्धानलाई तीव्रता दिएको बताए ।

आठ दिन बितिसक्दा पनि वृजेशको अत्तोपत्तो नलागेपछि परिवारले उनको सकुशल खोजीका लागि सम्बन्धित निकायसँग प्रभावकारी पहल गर्न आग्रह गरेको छ ।

Back to top