वीरगञ्ज । बारा जिल्लाको पचरौता नगरपालिका–१ अन्तर्गत नेपाल–भारत सीमास्थित ३६३/३० नम्बरको सीमा स्तम्भ नजिक जमुनिया खोलाको किनारमा अन्दाजी ३३–३५ वर्षका पुरुषको बेवारिसे शव फेला परेको छ ।
उक्त शव सीमा स्तम्भबाट करिब १५४ फिट पश्चिम–उत्तर दिशामा आइतबार साँझ फेला परेको हो । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले घटनाबारे जानकारी गराएपछि बारास्थित प्रहरी चौकी पिपरपातीबाट प्रहरी सहायक निरीक्षक समसुदिन मियाँ तेलीको कमान्डमा प्रहरी टोली खटिएको थियो । टोलीले घटनास्थल सुरक्षित राखेको जनाएको छ ।
त्यसपछि जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरको कमान्डमा अनुसन्धान टोली तथा इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी सहायक निरीक्षक आशिक चौधरीको नेतृत्वमा अर्को टोली घटनास्थल पुगेको थियो । प्रहरीका अनुसार घटनास्थल प्रहरी चौकी पिपरपातीबाट करिब २.५ किलोमिटर दक्षिणमा पर्दछ ।
प्रहरीले घटनास्थलमा मुचुल्का तयार पार्ने कार्य सम्पन्न गरी राति २२:३५ बजे शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामा पठाएको जनाएको छ ।
हालसम्म मृतकको पहिचान खुल्न नसकेको र शव बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।