वीरगञ्ज। भारतको बिहार राज्यअन्तर्गत पूर्वी चम्पारण मोतिहारीमा प्रहरीले साइबर अपराध नियन्त्रण अभियानअन्तर्गत ठूलो कारबाही गर्दै तीन जना ‘म्युल बैंक खाता’ धारकविरुद्ध मुद्दा दर्ता गरेको छ।
पटनास्थित आर्थिक अपराध इकाईको निर्देशनमा प्रहरी उपरीक्षक (साइबर) को नेतृत्वमा सञ्चालन गरिएको छापामारीका क्रममा तीनै जनासँग सोधपुछ गरिएको थियो। अनुसन्धानका क्रममा उनीहरूले साइबर ठगहरूलाई कमिसनको लोभमा आफ्ना बैंक खाता प्रयोग गर्न दिएको खुलेको प्रहरीले जनाएको छ।
प्राविधिक अनुसन्धानबाट ती बैंक खातामार्फत भएका साइबर ठगीसम्बन्धी उजुरीहरू महाराष्ट्र, पश्चिम बंगाल, हरियाणा, उत्तर प्रदेश, कर्नाटक र तमिलनाडु लगायतका विभिन्न भारतीय राज्यबाट प्राप्त भएको प्रहरीले जनाएको छ।
यस घटनासम्बन्धी साइबर थाना काण्ड नम्बर ११३/२६ दर्ता गरी कानुनी प्रक्रिया अघि बढाइएको छ। प्रहरीले सर्वसाधारणलाई आफ्नो बैंक खाता, पासबुक, एटीएम कार्ड तथा चेकबुक कुनै पनि व्यक्तिलाई प्रयोग गर्न नदिन तथा आर्थिक कारोबारमा सतर्क रहन आग्रह गरेको छ।