×

वीरगञ्ज । सशस्त्र प्रहरीले गत शुक्रवारदेखि पर्साको ठोरी नाकामै भारतीय नम्बर प्लेटका सवारीसाधनलाई भन्सार प्रज्ञापन पत्र बिना नेपाल प्रवेशमा रोक लगाएपछि मधेस प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य ठोरीको होटेल तथा पर्यटन व्यवसाय गम्भीर सङ्कटमा परेको छ ।

ठुटे खोलाको पुल नजिक स्थापना गरिएको सशस्त्र प्रहरी बेस क्याम्पमा तैनाथ सुरक्षाकर्मीले ‘माथिको आदेश’ भन्दै भारतीय पर्यटकका गाडीहरू रोक्न थालेपछि ठोरी घुम्न आउने पर्यटक सीमाबाटै फर्किन थालेका हुन् । यसअघि भारतीय पर्यटकले सीमा प्रहरीमा सामान्य दर्ता गरी निर्बाध रूपमा ठोरी क्षेत्रमा प्रवेश गर्दै आएका थिए ।

ठोरी–३ अमृत धारामा रहेको छोटी भन्सार कार्यालय डेढ वर्षदेखि बन्द छ । २०८३ जेठ १० गते राजपत्रमा प्रकाशित संशोधित भन्सार ऐनअनुसार मधेस प्रदेशका ४९ मध्ये ९ वटा छोटी भन्सार कार्यालय मात्र यथावत् राख्ने निर्णय भएकोमा ठोरी पनि समावेश छ । तर निर्णय भएको झन्डै डेढ महिना बितिसक्दा समेत उक्त कार्यालय सञ्चालनमा आएको छैन ।

हाल भारतीय नम्बर प्लेटका सवारीसाधनले प्रवेश भन्सार प्रज्ञापन पत्र लिन करिब ६०–७० किलोमिटर टाढा वीरगञ्ज पुग्नुपर्ने बाध्यता छ । यस प्रक्रियाका कारण अधिकांश पर्यटक सीमाबाटै फर्किन थालेको पर्यटन व्यवसायीको भनाइ छ ।

ठोरी पर्यटन विकास समितिका अध्यक्ष सुदीप थापाका अनुसार ठुटे पुलमै सशस्त्र प्रहरीले भारतीय गाडी रोक्न थालेपछि पर्यटक ३–४ किलोमिटर पैदल हिँडेर आउन मान्दैनन् । “नाकाबाटै फर्किने क्रम बढेको छ । यसले हाम्रो व्यापार आधाभन्दा बढी घटाएको छ,” उनले गुनासो गरे ।

उनका अनुसार ठोरी क्षेत्रमा हाल ८ वटा सुविधा सम्पन्न रिसोर्टसहित ४३ वटा होटेल, रिसोर्ट र रेस्टुरेन्ट सञ्चालनमा छन् । यस क्षेत्रमा मात्रै ८० करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको छ । गत वर्ष सशस्त्र प्रहरी बीओपी र पर्यटन विकास समितिको तथ्यांकअनुसार १ लाख १० हजारभन्दा बढी भारतीय पर्यटक ठोरी आएका थिए ।

ठोरी जङ्गल रिसोर्टका सञ्चालक धीर सिंहले पनि नाकामै कडाइ गरिँदा व्यवसाय चौपट भएको बताए । “पर्यटकलाई सीमामै रोकिँदा सामाजिक सञ्जालमार्फत प्रचार गरेर बोलाइएका पाहुनासमेत फर्किन थालेका छन्,” उनले भने ।

यता पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले भने यो कुनै नयाँ नियम नभएको स्पष्ट पारे । “भारतीय नम्बर प्लेटका गाडीले नेपाल प्रवेश गर्दा भन्सार प्रज्ञापन पत्र अनिवार्य रूपमा कटाउनै पर्छ । त्यो सुविधा वीरगञ्ज भन्सार कार्यालयमा उपलब्ध छ,” उनले भने, “राज्यको कानुन सबैले पालना गर्नुपर्छ ।”

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार ठोरीको छोटी भन्सार कार्यालय यथावत् राख्ने निर्णय भए पनि त्यहाँबाट कुन–कुन सेवा प्रवाह गर्ने भन्ने विषयमा मन्त्रालयबाट परिपत्र नआएकाले सञ्चालन गर्न नसकिएको हो । “मन्त्रालयबाट निर्देशन आउने बित्तिकै कार्यालय सञ्चालनमा ल्याउँछौँ,” उनले भने ।

यसअघि स्थानीय दबाबपछि २०८१ वैशाख १९ देखि सञ्चालनमा आएको ठोरी छोटी भन्सार कार्यालय ८ महिनामै, २०८१ पुस १६ गतेदेखि पुनः बन्द गरिएको थियो । सञ्चालनको अवधिमा भारतीय सवारीसाधनको प्रज्ञापन पत्रबाट १० लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भएको र करिब डेढ लाख भारतीय पर्यटक यही नाकाबाट नेपाल प्रवेश गरेका थिए ।

पर्यटन व्यवसायीले भारतीय पर्यटकमाथि अघोषित नाकाबन्दी गरिएको हो वा नयाँ नीति लागू गरिएको हो भन्नेबारे सरकारको स्पष्ट धारणा माग गरेका छन् । उनीहरूले चितवन र पर्सा राष्ट्रिय निकुञ्ज आसपासको पर्यटकीय क्षेत्र ठोरीमा भारतीय पर्यटकको सहज आवागमन सुनिश्चित गर्न तत्काल पहल गर्न सरकारसँग आग्रह गरेका छन् ।

व्यवसायीका अनुसार सामाजिक सञ्जालमार्फत पर्यटन प्रवर्द्धन गर्ने तर व्यवहारमा सीमामै रोक लगाउने नीति विरोधाभासपूर्ण देखिएको छ । समयमै स्पष्ट नीति र सहज व्यवस्था नभए ठोरी क्षेत्रमा भएको अर्बौँ रुपैयाँको लगानी जोखिममा पर्ने र स्थानीय अर्थतन्त्रमा गम्भीर असर पर्ने उनीहरूको चेतावनी छ ।

Back to top