वीरगञ्ज । चितवन राष्ट्रिय निकुञ्ज आसपासका बस्तीमा वर्षौँदेखि आतङ्क मच्चाउँदै आएको कुख्यात जङ्गली हात्ती ‘ध्रुवे’ ले फेरि दुई जनाको ज्यान लिएको छ । शनिवार राति भरतपुर महानगरपालिका–२३ बेलहट्टास्थित एक घरमा प्रवेश गरेर हात्तीले २४ वर्षीय आशिका बोटे र उनका चार वर्षीय छोरा भरतको हत्या गरेको हो । यससँगै ध्रुवेको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या २५ पुगेको छ ।
राति करिब ११ बजेर ३० मिनेटतिर जङ्गलबाट आएको ध्रुवे हात्तीले बाँस र माटोले बनेको कच्ची घरको बार भत्काएर घरभित्र प्रवेश गरेको थियो । घरभित्र सात सदस्यीय परिवार सुतिरहेको अवस्थामा हात्तीले आशिका र उनका छोरालाई बाहिर तानेर आक्रमण गरेको प्रहरीले जनाएको छ ।
परिवारका सदस्यहरूले आगो बालेर हात्ती भगाउने प्रयास गरे पनि आमा–छोरालाई बचाउन सकेनन् । आगो सल्काउँदा कच्ची घरसमेत जलेर नष्ट भएको छ । घटनास्थलमै दुवैको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।
१४ वर्षअघि पनि यही हात्तीले लिएको थियो परिवारका दुई सदस्यको ज्यान
बोटे परिवारका लागि ध्रुवे हात्ती नयाँ त्रासदी होइन। करिब १४ वर्षअघि, २०६९ सालमा माडी नगरपालिका–१ पाण्डवनगरमा बसोबास गर्दा यही ध्रुवे हात्तीको आक्रमणबाट पूर्ण बोटेका हजुरबुबा सोमला बोटे र हजुरआमा झरली बोटेको मृत्यु भएको थियो ।
त्यसपछि परिवारले सुरक्षित जीवनको आशामा माडी छाडेर भरतपुर–२३, जगतपुरमा बसाइँ सरेको थियो । तर नियतिले फेरि उही हात्तीको आक्रमणबाट परिवारका अर्को पुस्ताका सदस्य आशिका र उनका छोरा भरतलाई खोसेको छ ।
स्थानीयका अनुसार आशिका परिवारको मुख्य जिम्मेवारी सम्हाल्ने सदस्य थिइन् । उनका श्रीमान् पूर्ण बोटे, वृद्ध सासूससुरा र साना देवरहरूको घरपरिवारको अधिकांश जिम्मेवारी उनकै काँधमा थियो । गाउँकै विद्यालयमा अध्ययन सुरु गरेका चार वर्षीय भरतको भविष्य पनि यही घटनासँगै अन्त्य भएको छ ।
आगो बालेर जोगियो बाँकी परिवार
घटनाका बेला पूर्ण बोटेले छ वर्षीय छोरीलाई काखमा लिएर ज्यान जोगाएका थिए । आफ्नै घरमा आगो बालेर हात्तीलाई भगाउन सफल भए पनि श्रीमती र छोरालाई बचाउन सकेनन् । समयमै आगो नबालिएको भए एउटै कोठामा रहेका परिवारका अन्य सदस्यहरूको समेत ज्यान जाने अवस्था रहेको स्थानीयले बताएका छन् ।
घटनापछि आक्रोशित स्थानीयले मृतक आमा–छोराको शव चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरा जाने राप्ती पुलमा राखेर प्रदर्शन गरेका थिए । स्थानीयले वर्षौँदेखि ध्रुवेले बेलहट्टा, जगतपुर, मेघौली र माडी क्षेत्रमा घर भत्काउने, अन्नबाली नष्ट गर्ने तथा मानिसमाथि आक्रमण गर्दै आए पनि निकुञ्ज प्रशासनले प्रभावकारी नियन्त्रण गर्न नसकेको आरोप लगाएका छन् ।
भरतपुर–२३ का वडाध्यक्ष दीपक दवाडीले स्थानीयले पटक–पटक जानकारी गराउँदा पनि समयमै प्रभावकारी कदम नचालिएको भन्दै निकुञ्ज प्रशासनको लापरबाहीका कारण दुई निर्दोष नागरिकले ज्यान गुमाउनुपरेको बताए ।
स्थानीयको आन्दोलनपछि चितवन राष्ट्रिय निकुञ्ज, नयाँ गोरखा गण, भरतपुर महानगरपालिका–२३, इलाका प्रहरी कार्यालय गीतानगर तथा सम्बन्धित मध्यवर्ती उपभोक्ता समितिहरूबिच छलफल भएको थियो ।
छलफलपछि ध्रुवेलाई नियन्त्रणका लागि आवश्यक प्रक्रिया अघि बढाउने, मृतक परिवारलाई तत्काल राहत उपलब्ध गराउने, आगलागीबाट नष्ट भएको घर पुनर्निर्माण गरिदिने तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि आवश्यक सुरक्षा तथा व्यवस्थापनका कार्यक्रम सञ्चालन गर्ने चार बुँदे सहमति भएको छ ।
१७ वर्षमा २५ जनाको ज्यान
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार ध्रुवेले २०६६ सालदेखि मानवमाथि आक्रमण गर्न थालेको हो । हालसम्म नेपालमा मात्रै २५ जनाको ज्यान लिइसकेको छ भने भारतमा समेत मानिसमाथि आक्रमण गरेको अभिलेख रहेको छ ।
ध्रुवेलाई नियन्त्रण गर्न यसअघि रेडियो कलर जडान गर्ने, दाह्रा काट्ने, डार्ट प्रयोग गरेर बेहोस बनाउने तथा विभिन्न व्यवस्थापनका उपाय अपनाइए पनि दीर्घकालीन समाधान हुन सकेको छैन ।
हाल ध्रुवे निकुञ्जको सुखीभार क्षेत्रमा रहेको अनुमान गरिएको छ । निकुञ्ज प्रशासनले उसको निगरानी बढाउने, थप प्रभावकारी स्याटलाइट रेडियो कलर जडान गर्ने र मानव बस्तीमा पुनः प्रवेश गर्न नदिन सुरक्षा गस्ती कडा बनाइने जनाएको छ ।
उही जङ्गली हात्तीको आक्रमणबाट एउटै परिवारका दुई पुस्ताका चार सदस्यको मृत्यु भएको घटनाले चितवनमा मानव–वन्यजन्तु द्वन्द्व संरक्षणको विषय मात्र नभई मानव सुरक्षासँग प्रत्यक्ष जोडिएको गम्भीर चुनौती बनेको स्थानीयको भनाइ छ । प्रभावित बस्तीमा विद्युतीय बार, प्रारम्भिक चेतावनी प्रणाली, नियमित गस्ती तथा समस्या सिर्जना गर्ने जङ्गली हात्तीको वैज्ञानिक व्यवस्थापन तत्काल लागू गर्नुपर्ने माग स्थानीयले दोहोर्याएका छन् ।