तस्बिर : घण्टाघर टिभी ।
वीरगञ्ज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७ स्थित जीतपुरको टेढा रोड क्षेत्रमा यात्रु तानातान गर्ने क्रममा दुई अटो चालकबिच भएको झडपमा एक चालक गम्भीर घाइते भएका छन् ।
आइतबार भएको घटनामा अटो चालक गोविन्द बस्नेतको एउटा कान चुँडिएको इलाका प्रहरी कार्यालय जीतपुरले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार सडक किनारमा यात्रु कुरिरहेका अटो चालकहरूबिच यात्रु चढाउने विषयमा सुरु भएको सामान्य विवाद चर्किँदै कुटाकुटमा परिणत भएको थियो ।
सोही क्रममा अर्का अटो चालक रामबहादुर श्रेष्ठले धकेल्दा बस्नेत मोटरसाइकलमा ठोक्किएका थिए । मोटरसाइकलको तीखो भागमा कान लाग्दा उनको एउटा कान चुँडिएको र शरीरभरि रगत बगेको बताइएको छ । घाइते बस्नेतलाई तत्काल उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको टोलीले दुवै अटो चालकलाई नियन्त्रणमा लिएको छ । घटनामा संलग्न दुवै अटोसमेत प्रहरी नियन्त्रणमा राखिएको र घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
उक्त अटोहरू जीतपुरको टेढा रोडदेखि पर्सा जिल्लाका विभिन्न ग्रामीण क्षेत्रमा यात्रु सेवा सञ्चालन गर्दै आएका छन् ।
स्थानीयवासीको अनुसार जीतपुर क्षेत्रमा लामो समयदेखि बस, म्याजिक र अटोचालकहरूबीच यात्रु तानातान गर्ने, तोकिएको पार्किङ क्षेत्रबाहिर सवारी रोक्ने तथा ट्राफिक नियम पालना नगर्ने प्रवृत्ति बढ्दै गएको छ । यसका कारण बेला–बेलामा विवाद, झडप र दुर्घटनासमेत हुने गरेको उनीहरूको भनाइ छ ।
स्थानीयले सम्बन्धित निकायलाई अटो सञ्चालनमा कडाइ गर्न, तोकिएको स्थानबाट मात्रै यात्रु चढाउने व्यवस्था प्रभावकारी रूपमा लागू गर्न तथा चालकहरूलाई अनुशासित बनाउन नियमित अनुगमन गर्न माग गरेका छन् ।