×

वीरगञ्ज । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले नेपालको विकास, समृद्धि र सुशासनका लागि चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को ऐतिहासिक अनुभव, वैचारिक स्पष्टता तथा राजनीतिक अनुशासनबाट सिक्नुपर्ने बताएका छन्।

‘चिनियाँ कम्युनिष्ट पार्टीको १०५ वर्ष : ऐतिहासिक अनुभव र नेपालको विकास’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै नेता खनालले कुनै पनि राजनीतिक दल तथा राज्य सञ्चालनका लागि स्पष्ट वैचारिक कार्यदिशा, सुदृढ संगठनात्मक अनुशासन र भ्रष्टाचारविरुद्धको कडा नीति अपरिहार्य हुने बताए।

चिनियाँ कम्युनिष्ट पार्टीको विकासक्रमबारे चर्चा गर्दै उनले माओत्सेतुङ, देङ सियाओपिङ र सी चिनफिङको नेतृत्वमा चीनले प्रत्येक युगका चुनौतीलाई सफलतापूर्वक सामना गर्दै विकासको नयाँ उचाइ हासिल गरेको उल्लेख गरे। चीनले विदेशी मोडलको अन्धानुकरण नगरी आफ्नै मौलिकता र राष्ट्रिय आवश्यकताअनुसार ‘चिनियाँ विशेषतासहितको समाजवाद’ अवलम्बन गरेका कारण उल्लेखनीय सफलता प्राप्त गरेको उनको भनाइ थियो।

खनालले चीनले तीव्र आर्थिक वृद्धि, गरिबी न्यूनीकरण, आधुनिक पूर्वाधार विकास तथा सन् २०४९ सम्म समृद्ध र आधुनिक समाजवादी राष्ट्र निर्माण गर्ने लक्ष्यलाई विश्वका लागि विकासको वैकल्पिक नमुनाका रूपमा स्थापित गरेको बताए।

नेपालले पनि बाह्य मोडलको सिधै नक्कल गर्नुभन्दा आफ्नै भूराजनीतिक अवस्था, ऐतिहासिक पृष्ठभूमि, सांस्कृतिक विरासत र राष्ट्रिय आवश्यकताअनुसार सामाजिक–आर्थिक विकासको मौलिक मार्गचित्र तयार गर्नुपर्नेमा उनले जोड दिए। सीपीसीको सफलताबाट नेपालले बलियो राजनीतिक संस्था, दीर्घकालीन स्थायित्व र संस्थागत उत्तरदायित्वका महत्वपूर्ण पाठ सिक्न सक्ने उनको धारणा थियो।

नेपाल–चीनबीचको सात दशक लामो सम्बन्धलाई शान्तिपूर्ण सहअस्तित्वको उत्कृष्ट उदाहरणका रूपमा व्याख्या गर्दै नेता खनालले चीन नेपालका लागि भरपर्दो र विश्वासिलो विकास साझेदार रहेको बताए। उनले नेपाल ‘एक चीन नीति’प्रति सदैव प्रतिबद्ध रहेको दोहोर्‍याउँदै नेपाली भूमि कुनै पनि छिमेकी राष्ट्रविरुद्ध प्रयोग हुन नदिने नेपालको अडान पुनः स्पष्ट पारे।

सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा अघि सारिएको ‘नेपाललाई भूपरिवेष्ठितबाट भू–जडित मुलुक बनाउने’ अवधारणालाई व्यवहारमा उतार्न बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतका आयोजनाहरूलाई तीव्रता दिनुपर्ने आवश्यकता उनले औंल्याए।

परम्परागत कूटनीतिक सम्बन्धलाई आर्थिक साझेदारी, पूर्वाधार विकास र राजनीतिक संवादमार्फत थप सुदृढ बनाउनुपर्ने उल्लेख गर्दै उनले ट्रान्स–हिमालयन कनेक्टिभिटीका योजनाहरूको प्रभावकारी कार्यान्वयनमा विशेष जोड दिए।

कार्यक्रममा सहभागी वक्ताहरूले नेपाल–चीन सम्बन्धलाई विकास, आर्थिक सहकार्य तथा पारस्परिक हितका आधारमा अझ सुदृढ बनाउँदै लैजानुपर्ने धारणा व्यक्त गरेका थिए।

Back to top