वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका प्रमुख (मेयर) राजेशमान सिंह अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको अनुसन्धान तथा सम्भावित कारबाही प्रक्रियाविरुद्ध सर्वोच्च अदालतको शरणमा पुग्नुभएको छ।
मेयर सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गाल, काठमाडौंलाई विपक्षी बनाउँदै अनुसन्धान तथा सम्भावित कारबाही रोक्न मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराउनुभएको हो।
गत असार ८ गते दर्ता भएको उक्त रिट निवेदनमाथि सुनुवाइका लागि सर्वोच्च अदालतले असार १५ गते पेसी तोकेको थियो। तर, अदालतमा समय अभावका कारण उक्त मुद्दा ‘हेर्न समय नमिलेको’ सूचीमा परेपछि सोमबार सुनुवाइ हुन सकेन।
अब उक्त रिटमाथिको सुनुवाइका लागि सर्वोच्च अदालतले असार १७ गते नयाँ पेसी तोकेको छ।
मेयर सिंहले अख्तियारले अघि बढाएको अनुसन्धान तथा सम्भावित कारबाही प्रक्रिया रोक्न अन्तरिम आदेशको समेत माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको हो। अब सर्वोच्च अदालतको आगामी सुनुवाइपछि यस विषयमा थप कानुनी प्रक्रिया अघि बढ्नेछ।