वीरगञ्ज । सभामुख डोलप्रसाद अर्यालले सांसदहरूको हरेक गतिविधिमाथि आम नागरिकको निरन्तर निगरानी र मूल्याङ्कन भइरहेको भन्दै जिम्मेवार, अनुशासित र उदाहरणीय व्यवहार प्रदर्शन गर्न सांसदहरूलाई आग्रह गरेका छन्।
संघीय संसद् सचिवालयद्वारा सोमबारदेखि सिंहदरबारमा आयोजित दुईदिने सांसद अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै सभामुख अर्यालले सांसदहरूको मूल्याङ्कन राजनीतिक दलका नेता वा सरकार प्रमुखले नभई आम जनताले गर्ने भएकाले जनविश्वास कायम राख्ने गरी काम गर्नुपर्नेमा जोड दिए।
उनले लाखौँ नागरिकको मतबाट निर्वाचित प्रतिनिधिको हैसियतले समयपालन, अनुशासन, प्रभावकारी प्रस्तुति र असल व्यवहारलाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गरे। राम्रो कानुन निर्माण, मर्यादित आचरण र प्रभावकारी भूमिकामार्फत जनताको मूल्याङ्कनमा उत्कृष्ट बन्न सांसदहरूबीच सकारात्मक प्रतिस्पर्धा हुनुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा सांसदहरूको न्यून तथा ढिलो उपस्थितिप्रति असन्तुष्टि व्यक्त गर्दै सभामुख अर्यालले बिहानदेखि नै उल्लेखनीय सहभागिताको अपेक्षा गरिएको भए पनि त्यसअनुसार उपस्थिति हुन नसकेको बताए।
उनले नयाँ सांसदहरू कानुन र राज्य व्यवस्थाबारे जानकार भए पनि संघीय संसद्को कार्यप्रणाली र संसदीय प्रक्रियामा अझै अभ्यस्त हुन बाँकी रहेकाले यस्ता अभिमुखीकरण कार्यक्रम आवश्यक रहेको स्पष्ट पारे।
सभामुख अर्यालले तालिमका क्रममा मोबाइलको अत्यधिक प्रयोग नगर्न, अनावश्यक कुराकानीबाट टाढा रहन तथा सिकाइलाई गम्भीरतापूर्वक लिन सांसदहरूलाई आग्रह गरे।
दुईदिने अभिमुखीकरणबाट प्राप्त ज्ञान र अनुभव आगामी प्रतिनिधिसभा बैठकमा व्यवहारमा देखिनुपर्ने उल्लेख गर्दै उनले त्यसको अनुभूति सभामुख, संसद् सचिवालय र सबैभन्दा बढी मतदाताले गर्न पाउने विश्वास व्यक्त गरे।