वीरगञ्ज । बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो १०० दिन पूरा भएको छ। सरकार गठनसँगै सार्वजनिक गरिएको १०० बुँदे कार्यसूचीमध्ये करिब २० बुँदा पूर्ण रूपमा कार्यान्वयन भएका छन् भने ३३ बुँदामा उल्लेख्य प्रगति, ३१ बुँदामा आंशिक प्रगति र १६ बुँदामा हालसम्म कुनै उल्लेखनीय काम हुन नसकेको देखिएको छ।
सरकारले प्रशासनिक सुधार, कानुनी व्यवस्था, लगानी प्रवर्द्धन, ऊर्जा तथा डिजिटल शासनका क्षेत्रमा केही नीतिगत उपलब्धि हासिल गरेको दाबी गरे पनि नागरिकले प्रत्यक्ष अनुभूति गर्ने सार्वजनिक सेवा प्रवाह, कृषि, सुकुम्बासी व्यवस्थापन, सहकारी बचत फिर्ता, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा अपेक्षित उपलब्धि हासिल गर्न नसकेको विश्लेषण गरिएको छ।
यद्यपि सार्वजनिक खरिद ऐन संशोधन, ऊर्जा क्षेत्रमा केही नीतिगत सुधार, लगानीसम्बन्धी निर्णय तथा डिजिटल सेवाको विस्तारलाई सकारात्मक उपलब्धिका रूपमा हेरिएको छ। तर राहदानी, नागरिकता सेवा, कृषि समस्या समाधान, सहकारी पीडितलाई राहत, भ्रष्टाचार नियन्त्रण तथा सार्वजनिक सेवा सुधारका क्षेत्रमा सरकारको कार्यसम्पादन अपेक्षाभन्दा कमजोर रहेको टिप्पणी गरिएको छ।
विश्लेषकहरूका अनुसार सरकारले पहिलो १०० दिनमा सुधारका केही संकेत दिएको भए पनि कार्यान्वयन र नागरिकले प्रत्यक्ष अनुभूति गर्ने परिणाम देखाउन अझै प्रभावकारी काम गर्नुपर्ने आवश्यकता रहेको छ।