वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघ नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्राष्ट्रिय श्रम संगठन वीरगञ्ज महानगरपालिका, लिडरशिप डेभलपमेन्ट इन्स्टिच्युट तथा ह्युमन रिसोर्स सोसाइटी, मधेश च्याप्टर (एचआर सोसाइटी मधेस शाखा) को संयुक्त आयोजनामा सञ्चालन भइरहेको रोजगार मेला–२०८३ अन्तर्गत शनिबार ‘सीभी निर्माण तथा अन्तर्वार्ता तयारी’ सम्बन्धी क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ।
वीरगञ्ज उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा युवायुवतीहरूलाई रोजगारीका लागि आवश्यक व्यावसायिक सीप विकास गराउने उद्देश्यले प्रभावकारी सीभी तयार गर्ने, अन्तर्वार्ताको तयारी गर्ने तथा रोजगार बजारमा प्रतिस्पर्धी बन्न आवश्यक व्यवहारिक ज्ञान प्रदान गरिएको थियो।
कार्यक्रमको अध्यक्षता वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद गौतमले गरेका थिए। कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष माधव राजपाल, सहसचिव अनुप कुमार अग्रवाल, नेपाल उद्योग वाणिज्य महासंघका सहायक निर्देशक हरि पौडेल तथा छिरिङ तामाङको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रमको सहजीकरण एचआर सोसाइटी मधेश च्याप्टरका अध्यक्ष तथा मुख्य प्रशिक्षक अनिल जैसवालले गरेका थिए भने प्राविधिक व्यवस्थापन लिडरशिप डेभलपमेन्ट इन्स्टिच्युट र ह्युमन रिसोर्स सोसाइटी, मधेश च्याप्टरले गरेको थियो।
प्रशिक्षणका क्रममा सहभागीहरूलाई प्रभावकारी सीभी लेखन, अन्तर्वार्ताको तयारी, व्यक्तिगत प्रस्तुतीकरण, सञ्चार सीप, आत्मविश्वास अभिवृद्धि तथा व्यावसायिक आचरणका विषयमा व्यवहारिक प्रशिक्षण प्रदान गरिएको थियो। साथै, रोजगारदाताको अपेक्षाअनुसार आफूलाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने सीप विकासमा विशेष जोड दिइएको थियो।
कार्यक्रममा ५९ जना युवायुवतीहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ। सहभागीहरूले तालिम आफ्नो करियर विकास, आत्मविश्वास अभिवृद्धि तथा रोजगारी प्राप्तिको तयारीका लागि अत्यन्त उपयोगी भएको प्रतिक्रिया दिएका छन्।
आयोजक संस्थाहरूका अनुसार रोजगार मेला–२०८३ अन्तर्गत मुख्य रोजगार मेला आइतबार होटल भिस्वा, वीरगञ्जमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ। मेलामार्फत रोजगारदाता संस्था र रोजगारीको खोजीमा रहेका युवायुवतीबीच प्रत्यक्ष समन्वय गराई स्थानीय स्तरमा रोजगारी प्रवर्द्धन गर्ने लक्ष्य लिइएको छ।
आयोजकहरूको विश्वास छ कि यस्ता क्षमता विकासमूलक कार्यक्रमले दक्ष, प्रतिस्पर्धी र रोजगारयोग्य जनशक्ति उत्पादन गर्न सहयोग पुर्याउनुका साथै स्थानीय स्तरमा रोजगारीका अवसर विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।