×

वीरगञ्ज । कुटपिट मुद्दामा अदालतले तोकेको जरिमाना नतिरेको आशंकामा पर्साको पकाहामैनपुर गाउँपालिकाका पूर्व गाउँपालिका अध्यक्ष विजयकुमार चौरसियालाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको थियो। पछि जरिमाना तिरेको प्रमाण (रसिद) प्रस्तुत गरेपछि उनलाई रिहा गरिएको छ।

प्रहरीका अनुसार विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले चौरसियालाई वीरगञ्ज महानगरपालिका–१३ राधेमाईस्थित अदालत नजिकबाट सोधपुछका लागि प्रहरी कार्यालयमा लगेको थियो।

चौरसियाविरुद्ध कुटपिट मुद्दामा उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जले १५ हजार रुपैयाँ जरिमाना गर्ने फैसला गरेको थियो। अदालतको फैसला कार्यान्वयनका क्रममा जरिमाना रकम नतिरेको भन्ने सूचनाका आधारमा उनलाई सोधपुछका लागि ल्याइएको प्रहरीले जनाएको छ।

तर चौरसियाले भने उक्त जरिमाना यसअघि नै तिरिसकेको दाबी गर्दै त्यसको आधिकारिक रसिद प्रहरीसमक्ष प्रस्तुत गरेका छन्। रसिदमार्फत जरिमाना भुक्तानी भइसकेको पुष्टि भएपछि प्रहरीले उनलाई रिहा गरेको चौरसियाले जानकारी दिए।

यस घटनापछि अदालतको फैसला कार्यान्वयनसम्बन्धी अभिलेख अद्यावधिक र समन्वयमा थप प्रभावकारिता आवश्यक रहेको चर्चा स्थानीयस्तरमा हुन थालेको छ। यद्यपि, यस विषयमा जिल्ला प्रहरी कार्यालय पर्साले औपचारिक धारणा सार्वजनिक गर्न बाँकी रहेको छ।

Back to top