×

वीरगञ्ज । युथलिङ्क वीरगञ्जको आयोजना तथा पर्सा जिल्ला बुद्धीचाल संघको सहकार्यमा दुईदिने पर्सा चेस च्याम्पियनसिप शनिबारदेखि वीरगञ्जस्थित बीपीसी कलेजको सभाहलमा सुरु भएको छ। प्रतियोगितामा जिल्लाका विभिन्न स्थानबाट करिब १०० जना खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ।

पर्सा जिल्ला बुद्धीचाल संघका अध्यक्ष शुल्भ केसीको प्रमुख आतिथ्य तथा युथलिङ्क वीरगञ्जका अध्यक्ष अभिषेक सरार्फको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। प्रतियोगिता स्विस लिग प्रणालीअनुसार सात चरणमा सञ्चालन हुने र उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रदेश तथा राष्ट्रियस्तरका प्रतियोगिताका लागि प्रोत्साहन गरिने आयोजकले जनाएको छ।

कार्यक्रममा वक्ताहरूले बुद्धीचाल खेलले तार्किक सोच, निर्णय क्षमता, धैर्यता र एकाग्रता विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै यस्ता प्रतियोगिताले जिल्लामा खेल संस्कृतिको विकास र नयाँ प्रतिभाको पहिचानमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।

Back to top